Comments Add Comment

नेपाल एयरलाइन्स आफैंले भनेको थियो नारिता उडान चाहिन्न (पत्रसहित)

१२ मंसिर, काठमाडौं । ठूलो तामझामका साथ नेपाल एयरसलाइन्सले १२ भदौमा जापानको ओसाकामा सीधा हवाई उडान थालेको थियो । एयरबस ए ३३३० वाइडबडीमा ओसाका जाने यात्रुहरुको सूचीमा तत्कालीन पर्यटन राज्यमन्त्री धनबहादुर बूढा, पर्यटन व्यवसायी र एयरलाइन्सका कर्मचारीसमेत थिए ।

तर, तीन महिना नपुग्दै नेपाल एयरलाइन्स ओसाका उडान बन्द गर्ने निष्कर्षमा पुगेको छ ।

यो तीन महिनाको अवधिमा २७४ सिट क्षमताको बाइडबडीको अकुपेन्सी कहिल्यै भरिएन । सबैभन्दा धेरै यात्रु भनेको पहिलो उडानमा थिए १४९ जना । तर, उनीहरु मध्ये ८८ मात्र टिकट काटेका, बाँकी सबै प्रवर्द्धनात्मक यात्राका सहयात्री मात्र ।

त्यससता वाइडबडीको सीट अकुपेन्सी कहिल्यै सन्तोषनक रहेन । सातामा तीन उडानबाट घटाएर दुईमा झर्दा पनि त्यसमा प्रगति भएन र अब बन्द गर्ने तयारी छ ।

उड्नुपर्ने थियो नारिता

नेपाल एयरलाइन्सले १२ वर्षदेखि अवरुद्ध रहेको जापानमा पुनः उडान सुरु गर्नु आफैंमा सुखद थियो । वाइडबढी विमान किनेपछि लामो रुटमा उडान गर्नुपर्ने दबावमा रहेको एयसलाइन्सलाई यसले निकै ठूलो राहत दिनुपर्ने हो ।

तर, गन्तव्य छनोटमा गडबडी गर्दा निगमले आहत व्यहोर्‍यो । पर्यटन मन्त्रालयका अधिकारीहरुका अनुसार सुरुमा जापान उडानमा पहिलो प्राथमिकतामा नारिता नै थियो ।
नारिता राजधानी टोकियो नजिकैको विमानस्थल हो । टोक्यो र आसपासमा करिव ६० हजार नेपाली रहेको अनुमान छ । त्यसैले नारिताबाट उडान गर्दा नेपाल एयसलाइन्सले यात्रु पाउने सम्भावना बढी हुन्थ्यो । तर, एयरलाइन्सले ओसाका रोज्यो, जहाँबाट नेपाल आउने र यताबाट जाने यात्रु निकै कम हुन्छन् ।

नेपाल एयरलाइन्सका अधिकारीहरु समेत यसलाई अध्यक्ष मदन खरेल र गैरआवासीय नेपाली संघ एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचनको उठबसको परिणाम मान्छन् । तर, जब उडान गर्नेबेला भयो, दुईजनाको सम्बन्धमा फाटो आयो । त्यसले पनि ओसाका उडानलाई थप प्रभावहीन बनाउन भूमिका खेल्यो ।

एयरलाइन्स आफैंले भनेको थियो, नारिता चाहिन्न

जब ओसाका उडानमा यात्रुहरु कम हुन थाले, नारिता छाडेर यता किन गएको भन्ने प्रश्न उठ्न थाल्यो । एयरलाइन्सका पदाधिकारीहरुले जापानले नारिताका लागि अनुमति नदिएकाले ओसाका सुरु गरेको तर्क गर्ने गरेका थिए ।

तर, नेपाल एयरलाइन्स आफैंले जापानको नागरिक उड्डयन ब्यूरोलाई औपचारिक पत्र लेखेर नारिता उडान चाहिन्न भनेको पत्र अनलाइनखबरले प्राप्त गरेको छ ।

यो पत्र ८ फेब्रअरी २०१९ मा लेखिएको हो ।

नेपाल एयरलाइन्सका जापानस्थित कन्ट्री म्यानेजर सन्तोष पाण्डेले नागरिक उड्डयन ब्यूरो, इन्टरनेशनल एयर ट्रान्सपोर्ट डिभिजनका विशेष सहायक निर्देशक के मातुरालाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, तपाईलाई यो जानकारी गराउँछौं कि हनिडा र नारितामा चार्टर वा नियमित उडान गर्ने कुनै योजना छैन । नेपाल एयसलाइन्सले नारिताको स्लट रद्द गरिसकेको छ ।’

मातुराको चासोबारे आफूले व्यवसायिक निर्देशक टंकनिधि दहालसँग कुरा गरेको भन्दै पत्रमा चार्टर फ्लाइटका लागि एजेन्सी र व्यक्ति नतोकिएको पनि उल्लेख गरिएको छ ।

यति मात्र होइन, ओसाका उडानबारे धेरै झूठा खबरहरु आएको भन्दै पाण्डेले त्यसमा विश्वास नगर्न मातुरालाई आग्रह गरेका छन् ।

यसरी नारिता चाहिन्न भनेको नेपाल एयसलाइन्स अहिले ओसाका बन्द गर्ने र नारितामा उडान गर्ने तयारीमा जुटेको छ । यसका लागि जापानको नागरिक उड्डयन ब्यूरोसँग ग्राउण्ड हृयाण्डलिङको सम्झौता समेत भएको छ ।

नेपाल एयरलाइन्सका अधिकारीहरुका अनुसार आगामी मार्चबाट नारिता उडान सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment