Comments Add Comment

ममाथि पनि मुद्दा छन्, दोषी ठहरिए कारबाही भोग्न तयार छु : प्रचण्ड

१५ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि पनि द्वन्द्वकालीन मुद्दा रहेको भन्दै दोषी ठहर भए कारबाही भोग्न तयार रहेको बताएका छन् । उनले हत्या बलात्कार र जघन्य अपराधमा संलग्नहरुलाई केही न केही कारबाही हुने बताए ।

१७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले आफू आममाफीको पक्षमा नरहेको बताए ।

आन्तरिम संविधानका बेलामा ‘द्वन्द्वका बेला जे भयो, भयो अब बिर्सौं’ भन्ने प्रस्तावमा छलफल भएको स्मरण गर्दै उनले भने, ‘मैले नै त्यतिबेला त्यसो गर्न हुँदैन भने । फेरि गलत ढंगले मानिसहरुको हत्या नहोस्, बलात्कार नहोस् । हत्या बलात्कार र जघन्य अपराधमा संलग्नहरुले उन्मुक्ति पाउने वातावरण नबनोस् भनेर मैले नै त्यसो गर्न हुँदैन भने ।’

अन्तर्राष्ट्रिय अनुभव र न्यायको मान्यतालाई मध्यनजर गर्दै प्रत्येक घटनाको छानविन गर्दै सत्य पत्ता लगाउनुपर्ने र मेलमिलापको उद्देश्य राखेर पारिपूरणको वातावरण उनले बताए ।

जघन्य अपराधमा संलग्न राज्य वा विद्रोही पक्ष जो भए पनि केही न केही कारबाही गरेर मात्र भविष्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन सकिने बताए । प्रचण्डले भने, ‘ममाथि पनि धेरै मुद्दा छन् । झुटा छन्, सही छन्, पछि थाहा हुने कुरा हो । तर यदि म दोषी नै ठहरिन्छु भने कारबाही भोग्न तयार छु ।’

विद्रोहका क्रममा नहुनुपर्ने घटना भएको भन्दै उनले जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको नेताका हैसियतमा राम्रा र नराम्रा सबै घटनाको जिम्मेवारी आफूले लिने बताए । ‘गलत ढंले मानिसहरुको हत्या भएको छ भने त्यसको पनि जिम्मेवारी लिन्छु भनेको छु मैले,’ नेकपा अध्यक्ष प्रचण्डले भनेका छन् ।

सशस्त्र द्वन्द्वकालका घटनाहरुको छानविन गरी सत्यतथ्य पत्ता लगाउने, दोषीलाई कारबाही र मेलमिलापको वातावरण बनाउन छिट्टै आयोगहरु बन्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment