Comments Add Comment

‘कलाकारमा उत्कृष्ट काम गर्न सक्छु भन्ने भ्रम हुन्छ’: दयाहाङ राई

‘म कलाकार रहेछु, निर्देशक बन्छु भन्ने भ्रम मात्र हो’

नायक दयाहाङ राइले चलचित्र निर्देशन गर्ने चर्चा बेला–बेलामा सुनिन्छ । तर, दयाले अहिलेसम्म चलचित्र निर्देशन गर्न आँट भने गरेका छैनन् । यो बिषयमा दया भन्छन्–‘कसैले मलाई यो क्षेत्रमा किन आइस् भनेर सोध्यो भने मैले दिने जवाफ निर्देशक बन्न भन्ने नै हुन्छ । मलाई कलाकार बन्नु नै थिएन । तर, जब मैले निर्देशक बन्न अभिनयको पनि ज्ञान हुनुपर्छ भनेर अभिनयको तालिम लिन थालेँ, यसपछि वुझे कि म अभिनय गर्न जन्मिएको रहेछु । निर्देशन गर्न सक्छु भन्ने त मेरो भ्रम मात्र रहेछ ।’

उनी अगाडि थप्छन्–‘मैले बच्चादेखि गरिरहेको गतिविधी त अभिनय गर्नकै लागि रहेछ । तर, मैले आफूलाई चिनाउनका लागि कहिले गीत लेखे, कहिले के गरेँ । मैले आफूलाई चिनाउन गलत माध्यम रोजेको रहेछु भन्ने लाग्छ ।’

दयाले निर्देशक बन्ने कुरालाई भने अस्विकार गरेनन् । अगाडि भने–‘म चलचित्र निर्देशन पक्कै पनि गर्छु । म भित्र रहेको निर्देशक बन्न सक्छु भन्ने भ्रम चिर्नका लागि पनि म निर्देशक बन्छु । परिपक्क तरिकाले निर्देशन गर्न सक्छु भन्ने भ्रम म भित्र छ ।’

उनले, कलाकारमा सबै कुरा खतरा नै गर्न सक्छु भन्ने भ्रम रहने समेत बताए । दयाले अनलाइनखबरसँग कुरा गर्दै भने–‘कलाकार लोभी हुन्छन् । मैले गरेको काम खतरै हुनुपर्छ भन्ने लोभ कलाकारमा हुन्छ । आफू भित्रको क्षमता भने थाहा हुँदैन । कलाकारले क्षमता अनुसारको काम गर्नुपर्छ । कल्पना त हामी ठूलो गर्छौ । तर, क्षमता चिन्न सक्दैनौ । यो भूमिका वा त्यो भूमिका त म बबाल नै गर्छु भन्ने ठूलो भ्रम हामीमा हुनसक्छ । यही भ्रममा बाँचिरहँदा हामी आफूलाई ‘अनलक्की’ पनि महशुश गर्छौ ।’

दयाले कलाकारलाई आफ्नो क्षमता अनुसार काम गर्न सुझाव दिए । नसक्ने काम खतरै गर्छु भनेर जिम्मा लिनु भन्दापनि त्यसलाई सक्दिन भनेर हात झिक्नुपर्ने सुझाव उनको छ ।

दयाले आफूलाई सफलता भन्दा बढी असफलताले सिकाएको बताए । उनी भन्छन्–‘मेरा सबै चलचित्र बक्स अफिसमा हिट भैदिएको भए मैले आफूलाई असामान्य सोच्न सक्थेँ । तर, बजारले असफल भनेका चलचित्रलाई विश्लेषण गर्दा मैले सबैभन्दा राम्रो काम त्यसमा पो गरेको छु कि ? मानिसको लागि सफलता क्षणिक न हो, आज छ भोली नहुन पनि सक्छ ।’

दयाले लगानी गरेको चलचित्र ‘माछा माछा’ मंसिरको २० गतेबाट रिलिज हुँदैछ । यो चलचित्रबाट ठूलो रकम कमाउँछु भन्ने आफूलाई नलागेको दया बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment