Comments Add Comment

पर्शुराम बस्नेतलाई खेलकुदको जिम्मा दिने तयारी

प्रदेश खेलकुद ऐन पारित हुनासाथ बिराटनगरमा चलखेल सुरु

२९ मंसिर, बिराटनगर । प्रदेश नम्बर १ सरकारले प्रदेश खेलकुद बोर्डको सदस्य सचिव नियुक्तिको तयारी गरेको छ । विगतमा पत्रकारमाथि हातपात गरेर विवादमा आएका बस्नेत नेकपा निकट युवा संगठको केन्द्रीय सदस्य हुन् ।

प्रदेश सरकारले ‘प्रदेश खेलकुद ऐन २०७६’ निर्माण गरेपछि अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता समेत रहेका केन्द्रीय सदस्य किरण राई, नेकपा नेता सागर थापा र किरण गिरीले पनि सदस्य सचिवमा दाबेदारी प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्री प्रदेश लिग आयोजना गर्दा अनियमितताको आशंकामा प्रदेशको सार्वजनिक लेखा समितिले किरण राईमाथि छानविन गरेका कारण उनको सम्भावना सकिएको स्रोत बताउँछ ।

त्यसैगरी प्रदेश खेलकुद सदस्य सचिवको दाबि प्रस्तुत गरिरहेका थापा नेकपा महानगर कमिटी अध्यक्ष छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको प्रदेश अध्यक्ष रहेका थापाले महानगर कमिटी अध्यक्ष भएपछि सदस्य सचिवको दाबी छाडेका छन् ।

मुख्य तीन दाबेदार मध्ये दुई दाबेदार पछि हटेपछि किरण गिरी सदस्यसचिव बन्नेमा ढुक्क थिए । आफू नबन्ने भएपछि राई र थापाले पनि गिरीको नाम सिफारिस गरेका थिए ।

सदस्य सचिवको एक्लो दाबेदार बनेपछि गिरीले आफ्नो बायोडाटा र कार्ययोजना मुख्यमन्त्री शेरधन राईलाई बुझाइसकेका थिए । तर, माथिको आदेश भन्दै प्रदेश सरकारले पर्शुराम बस्नेतलाई सदस्यसचिव बनाउने तयारी गरेको स्रोतले बतायो ।

पूर्वमाओवादी निकट गिरी फिफाका पूर्व रेफ्री हुन् । तर, रक्षामन्त्री ईश्वर पोखरेलको प्रेसर भन्दै प्रदेश सरकारले बस्नेतलाई सदस्य सचिव बनाउने तयारी गरेको नेकपाका एक नेताले बताए । सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद बैठकले सदस्यसचिव नियुक्त गर्ने प्रावधान छ ।

खेल क्षेत्रमा सक्रिय रहेका व्यक्तिलाई बाइपास गरेर विवादास्पद बस्नेतलाई ल्याउन खोजेको भन्दै नेकपा नेताहरुले असन्तुष्टि जनाएका छन् ।

नेकपा मोरङ जिल्ला सदस्यसमेत रहेका बस्नेतले आफूलाई सरकारले जिम्मेवारी दिए काम गर्न तयार रहेको बताए । ‘२६–२७ वर्षदेखि युवा र खेलकुद क्षेत्रमा काम गरिरहेको मान्छे,’ बस्नेतले भने ‘सरकारले जिम्मेवारी दियो भने गर्ने कुरा हो, तर मेरो जानकारीमा छैन ।’

बस्नेतले आफूले सदस्यसचिवमा दाबी नगरेको बताए तर, सरकार र पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

त्यसैगरी प्रदेश खेलकुद सदस्य सचिवको दाबेदारी प्रस्तुत गरिरहेका किरण गिरीले पनि आफ्नो दाबेदारी रहेको बताए । जीवनको उर्वर  समय खेलकुद क्षेत्रमा बिताएको भन्दै गिरीले खेल क्षेत्रको विकासका लागि आफू आउन नपाए आफूभन्दा योग्य मान्छे आउनुपर्ने बताए ।

मन्त्री भन्छन् – अब टुंगो लगाउँछौं

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले अब केही समयभित्र ऐन अनुसार सदस्यसचिव नियुक्त गरेर प्रदेशमा काम अघि बढाउने बताए । प्रदेश खेलकुद ऐन ०७६ पास भएको सात महिना बितेको छ । ऐनले दिएको अधिकारका आधारमा १५/२० दिनभित्र सदस्यहरु नियुक्त गरेर काम अघि बढाउने बताए । उनका अनुसार सदस्य सचिव छनोटका लागि भने तयारी भएको छैन ।

यसैवीच, प्रदेश १ का अर्का एक मन्त्रीले ललितपुरको महालक्ष्मी नगरपालिकामा करौडौं मूल्यको घर खरिद गरेका छन् । करिब अढाइ करोडमा दुईतल्ले घर खरिद गरेका ती मन्त्रीले सुरुमा गिरीलाई नै सदस्य सचिव बनाउने बताउँदै आएका थिए । तर, पछिल्लो समय उनी पर्शुरामको बस्नेतको पक्षमा उभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment