Comments Add Comment

भ्रमण वर्षमा गण्डकी प्रदेशको लक्ष्य १० लाख पर्यटक

१६ पुस, पोखरा । २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० बुधबार सुरु भएको छ । गण्डकी प्रदेश सरकारले पनि पोखराको लेकसाइडबाट भ्रमण वर्षको उद्घाटन गरेको छ ।

भ्रमण वर्षको उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत प्रदेशका ११ वटै जिल्लाका जनप्रतिनिधिको सहभागितामा उद्घाटन गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले भ्रमण वर्ष सफल हुने या नहुने भन्ने विषय गण्डकी प्रदेशको हातमा रहेको दाबी गरे । उनले नेपाल आउने बाह्य पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशमै आउने भएकाले त्यसले निर्णायक भूमिका खेल्ने दाबी गरेका हुन् ।

‘नेपाल सरकारले भनेको २० लाख पर्यटकमध्ये कम्तीमा ८ लाख गण्डकी प्रदेशमा आउँछन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘यदि पूर्वाधार बनाइएन भने, प्रदेश तथा स्थानीय तह, पर्यटन व्यवसायी लागेनन् भने काठमाडौंमा त भ्रमण वर्ष सुरु भयो तर, त्यो अपुरो हुन्छ । अधुरो हुन्छ ।’ उनले नेपाल आएका १० लाख पर्यटक भित्र्याउने गरी लाग्न सरोकारवालालाई आग्रह गरे ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश धार्मिक, साँस्कृतिक तथा प्राकृतिक रुपले सबैभन्दा धनी भएकाले पर्यटक गण्डकी प्रदेशमा आउने विश्वास राखे । ‘हाम्रो प्रदेशमा सर्वश्रेष्ठमा पनि सर्वश्रेष्ठ धेरै कुरा छन्, त्यसले पर्यटकलाई आकर्षित गर्छ,’ उनले भने, ‘हाम्रो प्रदेशमा सबैभन्दा अग्लो ठाउँमा ताल, भञ्ज्याङ, गहिरो गल्छी सबै छ ।’

‘हिमागृह र रत्न मन्दिर १५ दिनपछि खुल्छ !’

केही दिनअघिसम्म गण्डकी प्रदेश सरकारले भ्रमण वर्षको उद्घाटन हिमागृह र रत्नमन्दिरबाट गर्ने बताउँदै आएको थियो । तर, बुधबार बाराही घाटमा उद्घाटन कार्यक्रम भयो । मुख्यमन्त्री गुरुङले भने, ‘आजकै दिन ती दरबार खोल्ने भनेका थियौं । केही कारणवश खुल्न सकेन । केही दिनमा खुल्छ ।’

उनले नेपाल ट्रस्टका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल पनि चलिरहेको जानकारी दिए ।

‘माननीयले हिमागृह÷रत्नमन्दिर सबैको सम्पत्ति हो । त्यसको लेखाजोखा गर्नुपर्‍यो । समय केही लाग्ने भयो भन्नु भएको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘१५ दिनभन्दा नमिल्न सक्छ । तर, ती दुवै दरबार नेपाल सरकार र नेपाल ट्रस्टसँग समन्वय गरेर यही वर्ष खोल्छौं ।’

५० लाख पर्यटक ल्याउँछौं : मन्त्री लम्साल

गण्डकी प्रदेश सरकारले गत वर्ष १५ लाख पर्यटक भित्र्याउने गरी आन्तरिक भ्रमण वर्ष मनाएको थियो ।

बुधबार भएको नेपाल भ्रमण वर्ष कार्यक्रममा गण्डकी प्रदेश पर्यटनमन्त्री तथा भ्रमण वर्ष गण्डकी प्रदेश संयोजक विकास लम्सालले आफूहरु लक्ष्यमा पुगिसकेको र केही समीक्षा बाँकी रहेको बताए ।

नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरिरहँदा गण्डकी प्रदेशको छिमेकी राष्ट्र भ्रमण वर्षसमेत सुरु भएको छ । प्रदेशको अबको योजना २० लाख पर्यटक एक्लै ल्याउने घोषणा गरिसकेको छ । भ्रमण वर्ष कार्यक्रममा मन्त्री लम्सालले २० नभई ५० लाख पर्यटक ल्याउन प्रदेश सक्षम भएको जिकिर गरेका छन् ।

‘२० लाख पर्यटक हाम्रा लागि त्यति ठूलो समस्या होइन । छिमेकी राष्ट्रका पर्यटकलाई मनाउन सक्यौं भने बाहिर जानुपर्दैन,’ मन्त्री लम्सालले भने, ‘२० लाखमात्र होइन । हामी सबै लागौं ५० लाख पर्यटक यो भ्रमण वर्षमा ल्याउन सक्छौं ।’

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटकको स्वागत र सबैको टाउको गनेर भ्रमण वर्षलाई सहयोग गर्न तयार रहेको बताए ।

भ्रमण वर्ष उद्घाटनअघि लेकसाइड फिस्टेल गेटदेखि बाराही घाटसम्म विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिएको थियो । झाँकीमा च्याब्रुङ, थारु, लाखे, घाटु लगायत प्रस्तुति देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment