
२० पुस, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विराट नर्सिङहोमबाट डिस्चार्ज भएका छन् । महिला अनुयायीलाई करणी गरेको आरोप लागेपछि विराट नर्सिङहोम भर्ना भएका गिरी एक महिना ६ दिन अस्पतालको बसाइपछि आइतबार डिस्चार्ज भएका हुन् ।
महिला अनुयायीले करणीको उजुरी गरेपछि सिद्धबाबा गत १४ मंसिरमा विराट नर्सिङहोममा भर्ना भएका थिए । हर्ट अट्याक भन्दै चिकित्सकले मंसिर १५ गते आईसीयूमा भर्ना गरेका थिए । मंसिर १६ गते उनी आईसीयूबाटै पक्राउ परेका थिए । प्रहरी अनुसन्धान अवधी अस्पतालको शय्यामै गुजारेका थिए ।
कात्तिक ४ गते राति महिला अनुयायीलाई करणी गरेको आरोप लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले गत सोमबार तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
आदेशलगत्तै जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन गरेको छ । शुक्रबार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।
जिल्लाको आदेशपछि एकसाता अस्पतालै बिताएका गिरीको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । विराट नर्सिङहोमका प्रशासन प्रमुख पदम बिडारीका अनुसार स्वास्थ्यमा सुधार आएपछि गिरी आइतबार डिस्चार्ज भएका हुन् ।
४ कात्तिक साढे १२ बजे गिरीले दिक्षा दिने भन्दै आफ्नो आश्रममा बोलाएर जवरजस्ती करणी गरेको दाबिसहित महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएपछि गिरी अस्पतालमा भर्ना भएका थिए ।
प्रहरीको २५ दिनको अनुसन्धान अवधी गिरीले अस्पतालमै बिताएका थिए । अस्पतालबाट डिस्चार्ज भएका गिरी चतरा भने पुगेका छैनन् । उनी पश्चिमतर्फ लागेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया 4