Comments Add Comment

माघ २ देखि घोडाघोडीमा पर्यटन महोत्सव

२१ पुस, धनगढी । कैलालीको घोडाघोडीमा माघ २ देखि १२ गतेसम्म सांगीतिक तथा पर्यटन महोत्सव आयोजना गरिएको छ ।

घोडाघोडी नगरपालिका १ सुखडमा हुने महोत्सवको माध्यमबाट घोडाघोडी तालको प्रचार प्रसार गरी पर्यटक बढाउने उद्देश्य राखिएको छ ।

‘विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पर्यटन महोत्सवको आयोजना गरिएको हो’ महोत्सव मूल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीले भने ।

घोडाघोडी तालकै नामबाट घोडाघोडी नगरपालिकाको नामाङ्कन गरिएको हो । घोडाघोडी नगरपालिकाभित्रका पर्यटकीय क्षेत्र घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, माघी होमस्टेको महोत्सवको माध्यमबाट प्रचार प्रसार गर्ने आयोजकको भनाइ छ ।

‘घोडाघोडी ताल नजिकै महोत्सवको आयोजना गरेका छौ’ चौधरीले भने, ‘महोत्सवमा आउने दर्शकहरूलाई यस क्षेत्रका पर्यटकीय क्षेत्रमा जान आग्रह गर्छाै ।’

महोत्सवले घोडाघोडी क्षेत्रको मात्र नभई समग्र कैलाली जिल्लाको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने प्रचार प्रसार समितिका संयोजक प्रकाश मिश्रले बताए । ‘घोडाघोडीसँगै कैलालीमा रहेका अन्य गन्तव्यहरूको पनि प्रचार प्रसार गर्नु हाम्रो उद्देश्य हो’उनले भने ।

पर्यटन महोत्सवले कैलालीको घोडाघोडीसँगै रहेको बर्दगोरिया धार्मिक क्षेत्रको पनि प्रचार प्रसार हुने मिश्रले बताए । उनले भने, ‘बर्दगोरिया पुगेका पर्यटकलाई घोडाघोडीसम्म ल्याउने र घोडाघोडी आएका पर्यटकलाई त्यहाँसम्म लैजाने हाम्रो योजना छ ।’

कैलालीमा टीकापुर पार्क, चिसापानी पुल, लोकहा भौकहा ताल, कोइलही ताल, जोखर ताल, गोदावरी धाम, शिवपुरी धाम लगायत दर्जनौँ पर्यटकि क्षेत्र रहेका छन् । घोडाघोडी पर्यटन महोत्सवले ती क्षेत्रहरूमा पनि पर्यटक पुर्‍याउन सहज हुने आयोजकको दाबी छ ।

महोत्सवमा थारु परिकार र पहिरनको समेत प्रचार प्रसार गर्ने स्थानीय कलाकार संयोजक स्वरूप चौधरी बताए । उनले भने ‘यहाँको कला र संकृतिको प्रवद्र्धन गर्नु पनि हाम्रो दायित्व हो ।’

महोत्सवमा राजेश हमाल, रामजी खाँड, कमला घिमिरे, अमृत सापकोटा सुरवीर पण्डित, कमल खत्री, निसान्त भट्टराई लगायत कलाकार आउने प्रचार प्रसार समिति संयोजक मिश्रले बताए ।

महोत्सवमा आएका कलाकारहरूको माध्यमबाट राष्ट्रिय स्तरमा घोडाघोडीको चर्चा बढ्ने अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उप समितिका संयोजक होम प्रसाद आचार्यले बताए । उनले भने, ‘विभिन्न क्षेत्रबाट आएका कलाकारहरूको माध्यमबाट पनि हामी घोडाघोडीलाई प्रचार गर्नै छौं ।’

माघ २ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले महोत्सव उद्घाटन गर्ने तयारी भइरहेको मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment