Comments Add Comment

बालुवाटारमा दोस्रो पटक शिवमायाले भनिन्-राजीनामा दिन्न, जे गर्ने हो गर्नुस्

२७ पुस,काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले गरेको राजिनामाको आग्रहलाई दोस्रो पटक पनि अस्वीकार गरेकी छन् । सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।

तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्‍याउँदै राजीनामा नगर्ने प्रष्ट पारेको स्रोतले जनाएको छ । उनलाई सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाएका थिए । तर उपसभामुखले राजीनामा दिन्न भनेर हिँडेको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतले भन्यो-दुवै अध्यक्षले तपाईं राजीनामा दिएर निकास दिनुस भन्नुभयो । अहिलेसम्म सभामुख कसलाई बनाउने भनेर व्यक्तिमा छलफल भएको छैन । बाहिर आएका हल्लाको कुनै अर्थ छैन । तर उपसभामुखले म राजीनामा दिन्न भनेर हिँडेपछि अब फेरि सम्झाउनुपर्ने भएको छ । परिस्थिति अलि पेचिलो बन्यो ।

यो पनि पढ्नुहोस ‘शुक्रबारसम्म मलाई सभामुख बनाउने निर्णय नगरे चुनावी प्रक्रिया थाल्छु’

सचिवालयको बैठकको निर्णयसमेत उनले नमानेपछि विहानै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव बिष्णु पौडेल पनि छलफलमा थिए । उपसभामुखलाई बोलाएरै छलफल गर्दा पनि निकास दिन नमानेपछि नेकपा नेतृत्व संकटमा परेको छ ।

नेकपासामु तीन विकल्प

राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएको भनिएकी उपसभामुखले पार्टीको आग्रह र निर्णयसमेत नमानेपछि अब के गर्ने भन्नेमा नेतृत्व छलफलमा छ । उनलाई अन्तिम पटक सम्झाउने तयारी छ । सम्भवतः प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि आग्रह गर्नेछन् । अहिले उनलाई सभामुख नबनाउने निर्णय नभएकाले राजिनामा दिएर निकास दिनुपर्ने नेतृत्वको भनाइ छ ।

तुम्बाहाम्फेले राजीनामा दिएपछि मात्र नेकपाबाट कसलाई उम्मेदवार बनाउने भनेर छलफल हुने नेताहरुले बताए ।

राजीनामा नदिएमा नेकपा सामु तीनवटा विकल्पमात्र छन् । तीमध्ये पहिलो विकल्प उनैलाई सभामुख बनाउने निर्णय गर्ने र राजीनामा गराउने हो ।

यो पनि पढ्नुहोस शिवमायाले ओली र प्रचण्डसमक्ष पेश गरिन् १२ बुँदे योग्यता सूची

नत्र समानुपातिक सांसदको सूचीबाट उनको नाम हटाउन पार्टीले निर्वाचन आयोगलाई पत्र लेख्ने । अन्तिम विकल्प चाहिँ महाअभियोग हो । तुम्बाहाम्फेले आफूलाई महाअभियोग लगाएर हटाउनसमेत चुनौती दिइसकेकी छन् ।

नेकपाका एक नेताले त्यति परसम्म सोच्न आवश्यक नरहेको बताए । उनले शिवमाया लामो राजनीतिक इतिहास भएकी नेता हुनाले उनले पार्टीको निर्णय मानेर राजीनामा दिने आशा व्यक्त गरेका छन् । अब एक साताभित्रमा यसबारेमा टुंगो लाग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment