Comments Add Comment

भारतको गाडी नेपाल ल्याएर तेस्रो मुलुकमा निर्यात गर्न प्रस्ताव

८ माघ, काठमाडौं ।अटो व्यवसायीले नेपालबाट तेस्रो मुलुकमा सवारी निर्यात गर्न प्रस्ताव गर्न थालेका छन् । भारतमै बनेका गाडीहरु नेपाल ल्याएर तेस्रो मुलुक पठाउने उनीहरुको योजना छ ।

नेपाल पूर्णरुपमा सवारीसाधनको आयातकर्ता मुलुक हो । बजाज मोटरसाइकल र केही विद्युतीय साइकलबाहेकका सवारी एसेम्बल पनि हुँदैनन् ।

तर, व्यवसायीले भारतबाट गाडी आयात गरेर तेस्रो मुलुक पठाउन औपचारिक रुपमा नै प्रयास थालेका हुन् । सरकारमा पेश भइसकेको प्रस्ताव सरकारले स्वीकृत गरेमा नेपालमा बन्ने सवारी अन्य मुलुकमा जाने भने हैन, भारतबाट आएका सवारीलाई नै तेस्रो मुलुकमा पठाइने छ ।

फोर्ड गाडीको नेपालको लागि अधिकृत बिक्रेता जीओ अटोमोबाइलले गाडी नेपाल ल्याएर बंगलादेश निकासी गर्न प्रस्ताव गरेको छ । कम्पनीले अर्थमन्त्रालयमा पेश गरेको प्रस्तावमा फोर्ड ब्रान्डको गाडी नेपाल ल्याएर बंगलादेशमा निर्यात गर्ने उल्लेख छ ।

अर्थमन्त्रालयका एक अधिकारीका अनुसार कम्पनीले ५ प्रतिशत मूल्य अभिवृद्धि गरेर सो गाडी बंगलादेश पठाउने प्रस्ताव गरेको हो । भारतमा एसेम्बल हुने गाडी नेपाली भन्सारसम्म ल्याएर त्यसलाई फेरि बंगलादेश पठाउन जीओको प्रस्ताव छ ।

प्रस्ताव अनुसार सो गाडी नेपालको भन्सारसम्म आएपनि नेपाल भित्रिने छैन र निर्यात गर्दा पनि कर लगाउन पाइने छैन ।

अर्थ मन्त्रालयले यो प्रस्तावमाथि अध्ययन र छलफल गरिरहेको छ । यो प्रस्ताव पास भएका सवारी आयात गरेर अरु देशमा निर्यात गर्ने बाटो खुल्नेछ ।

आर्थिक ऐनमा कुनै व्यक्तिले नेपालमा आयात हुने वस्तु बैकिङ प्रक्रियामार्फत भुक्तानी हुने गरि निर्यात गर्न चाहेमा पैठारी मूल्यमा १० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्ने व्यवस्था छ ।

तर, अनुमतिका लागि निकासीवापतको विदेशी मुद्रा अगि्रम रुपमा प्राप्त भइसकेको वा सो वापत खोलिएको एलसीका आधारमा विदेशी मुद्रा प्राप्त हुने प्रमाण पेश गर्नुपर्छ ।

कम्पनीले आफ्नो प्रस्तावमा यसो गर्दा देशलाई धेरै किसिमका फाइदा हुने उल्लेख गरेको छ । भारतमा उत्पादित गाडीमा मूल्य अभिवृद्धि गरेर बेच्दा भारुमा किनिने गाडीबाट बंगलादेश पुगेपछि डलरमा भुक्तानी पाइनेछ ।

यसले गर्दा देशभित्र वैदेशिक मुद्राको सञ्चिति बढ्ने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने दावी व्यवसायीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment