
१३ माघ, काठमाडौं । साझा पार्टीले अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अनुमोदन गर्न नहुने बताएको छ । सोमबार विज्ञप्ति जारी गरी साझा पार्टीले कतिपय बुँदाहरु नेपालहो हित र आत्मसम्मानको विपरीत देखिएकाले ती विषय निरुपण नगरी सम्झौता अनुमोदन गर्नु उपयुक्त नहुने बताएको छ ।
‘बर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गरिनु हुँदैन भन्ने साझा पार्टीको अडान हो’ प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपालको कानूनसँग बाझिने वा नेपालको कानून अप्रभावी हुन सक्ने, द्विपक्षीय सहयोगको विषयमा तेश्रो मुलुकको सहमति लिनुपर्ने, आयोजनाको कार्यान्वयनमा नेपाल सरकारभन्दा अधिकांश अवस्थामा एमसीसीकै निर्णय हावी हुने लगायतका प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मानको विपरीत हुने साझा पार्टीको भनाइ छ ।
राजनीतिक तह र जनस्तरमा समेत ध्रुवीकरण निम्त्याएको यो मुद्दाको ठोस निरूपण संसदको संकल्प प्रस्तावबाट हुन नसक्ने साझा पार्टीले बताएको छ ।
एमसीसीको जटिलता सुल्झाउन सम्वन्धित पक्षसँग तुरून्त कुटनीतिक संवाद अगाडि बढाउन साझा पार्टीले सरकारलाई आग्रह गरेको छ ।
‘नेपालको बृहतर हितलाई केन्द्रमा राखी प्रस्तावित सम्झौताको समीक्षा र आवश्यक संशोधनको सुझावका लागि विषय विज्ञ र सरोकारवाला संलग्न एक कार्यदल गठन गर्नु उपयुक्त हुने साझा पार्टीको निष्कर्ष रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4