Comments Add Comment

कोरोना भाइरसबाट चीनबाहिर पहिलो पटक एक जनाको मृत्यु

१९ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको छ ।

समाचार संस्था एएफपीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई उद्धृत गर्दै कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ ।

ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेका छन् । उनकाे परिचय भने खुलाइएकाे छैन ।

फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार, अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो हस्पितलमा भर्ना भएका थिए । त्यहीँ उनको शनिबार निधन भएको सीएनएनले जनाएको छ ।

सीएनएनका अनुसार अस्पताल प्रवेश गर्दा सुरुमा ती बिरामीमा निमोनिया देखिएको थियो । उपचारको दौरानमा अवस्था सुधारिएजस्तो देखिए पनि अन्तिममा ज्यान गएको बताइएको छ ।

चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म ३०४ जनाको ज्यान गइसकेको छ । विश्वका अन्य २२ देशमा यो भाइरसको संक्रमण देखिएका बेला चीन बाहिर फिलिपिन्समा पहिलो पटक संक्रमितको ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment