Comments Add Comment

गोरखा नगरपालिकाका शिक्षकले तलव पाएनन्

२१ माघ, गोरखा । विदेश भ्रमणका रहेकी प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठका कारण गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले तलव पाएका छैनन् । गत वर्षबाट मासिक रुपमा शिक्षकलाई तलव निकासा गर्ने प्रावधान बनाएको नगरपालिकाले माघ महिनाको तेस्रो हप्ता पुग्दा समेत पुष महिनाको तलव निकासा गरेको छैन । तलव नपाएपछि शिक्षकहरु समस्यामा परेका छन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं शिक्षा शाखा प्रमुख बाबुराम बरालका अनुसार तलव निकासाका लागि श्रेष्ठले चेकमा सही समेत गरेकी थिइन् । तर चेकमा लेखिएको जति रकम खातामा नभएपछि बैकले चेक फिर्ता गरिदियो । ‘प्रमुख प्रशासकीय अधिकृत र मेयर विदेश भ्रमणमा हुनुहुन्छ, जानुअघि शिक्षकलाई पुष महिनाको तलव खुवाउन भनेर चेकमा सही पनि गर्नुभयो,’ उनले भने, ‘तर बैंकमा जाँदा चेकमा उल्लेख गरिएको जति रकम खातामा रहेनछ ।’ नगरपालिकाभित्र रहेका ५० वटा सामुदायिक विद्यालयका शिक्षकहरुको तलवका लागि एक करोड ६५ लाख ५८ हजार ७६५ रकमको चेक काटिएको थियो । ‘चल्ती खातामा पैसा पुगेन, अब संचित कोषबाट चल्ती खातामा पैसा सार्नुपर्छ त्यसको लागी प्रमुख प्रशासकीय अधिकृतको सही चाहिन्छ, अब उहाँ नआएसम्म काम हुँदैन,’ उनले भने । उनी अर्को आइतबार मात्र कार्यालय हाजिर हुने जानकारी पाएको बरालले बताए ।

समयमै तलव निकासा नगर्दा समस्या भएको सरस्वती मावि आहालेका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई बताउँछन् । ‘गत वर्ष सबै विद्यालयका प्रअहरुको बैठक राखेर नगर शिक्षा शाखाले मासिक रुपमा संचयकोष दाखिला गरेको भौचर र आवश्यक डकुमेन्ट समयमै पठाउनु, हामी मासिक तलव खुवाउँछौ भन्यो, हामीले सरसापट गरेर भौचर र आवश्यक डकुमेन्ट बुझाउँदै आएका छौं तर मासिक रुपमा तलव भने आउँदैन,’ उनले भने । समयमै तलव निकासा नगरेका कारण व्यवहार मिलाउन समेत समस्या भएको उनले गुनासो गरे ।

तलव निकासा ढिलाइ हुदाँ शिक्षकहरु मर्कामा परेको महेन्द्रज्योती माविका प्रधानाध्यापक भाइकाजी श्रेष्ठले बताए ।

बालमन्दिर माविका प्रअ लुमनाथ लामिछानेले शिक्षा क्षेत्र हेर्नका लागी नगरपालिकाले छुट्टै लेखापाल राख्नुपर्ने सुझाव दिएका छन् । ‘महिना महिनामा तलव खुवाउने भन्यो तर छैन, नगरपालिकाको शिक्षामा के नमिलेको के नमिलेको जस्तो भइरहेको छ, हामी जस्तो खातामा पैसा नभएको विद्यालयलाइ त दुई दिन तलव ढिला हुदाँ पनि साह्रै समस्या हुन्छ,’ उनले भने ।

गत वर्षबाट मासिक रुपमा तलव खुवाउने निर्णय नगरपालिकाले गरेपनि कार्यान्वयन नभएको महालक्ष्मी माविका प्रअ चुडामणी काप्रीले बताए । ‘माग फारम हामीले समयमै बुझाउँछौ तर तलव समयमा आउँदैन,’ उनले भने । नगर क्षेत्रका केही सामुदायिक विद्यालयले निजी स्रोतबाट तलव खुवाएपनि अधिकांश विद्यालयका शिक्षकले तलव पाएका छैनन् । शिक्षकको तलव रोकेर विदेश भ्रमणमा रहेकी प्रमुख प्रशासकीय अधिकृतलाइ कुरेर शिक्षकहरु बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment