Comments Add Comment

तस्वीरमा हेर्नुहोस् श्रीस्वस्थानी व्रतको समापन

२६ माघ, काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने श्रीस्वस्थानी व्रतकथाको आज समापन गरिँदैछ ।

पुस शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना चल्ने व्रतकथा विशेष धार्मिक कार्यक्रमका साथ आज समापन गर्न लागिएको हो ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन छ ।

व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।

स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूणिर्मादेखि व्रत शुभारम्भ गरेका थिए ।

स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment