‘आमा भन्नुगइन्, गयो हृदयको शोभा अँध्यारा भए…’
त्यहाँको माहोल नै त्यस्तो भयो— गीत–सङ्गीतमा झुमिरहेको म आमालाई सम्झन पुगें; धेरै बेर आमालाई मात्रै सम्झें। आमाको सम्झनासँग आउने प्रायः सबै कुरा, सबै सन्दर्भ सम्झिएँ। उहाँका चालका, उहाँका गतिका सबै दृश्य सम्झिएँ। आमा थला परेपछिका दिन पनि सम्झिएँ। उहाँको भौतिक शरीरलाई बिदा गरेको क्षण पनि सम्झिएँ।
निकै साल भइसक्यो उहाँलाई बिदा गरेको। बेलाबखत उहाँको याद नआउने होइन; तर त्यस दिन भने उहाँलाई झल्झली देखें। आँखा भरिए, मन भरियो, तर पनि आमालाई प्रस्टसँग देखिरहें।
बारीमा काम गर्दै गरेको, वस्तुको धन्दा गर्दै गरेको, दिनभरि काम गरेर क्लान्त भएको शरीरले स्कुल पढ्न सदरमुकाम बसेको मेरा लागि अलिकति दाउरा, अलिकति चामल, केही तरकारी थुन्सेमा हालेर घाम डाँडापारि भएपछि थकित चालमा तिलकेनीको उकालो चढ्दै गरेको…।
चन्द्रगढी कारागारको बाहिरपट्टि मूलद्वारको फलामको डन्डी समातेर भित्रपट्टि उभिएको आफ्नो एक्लो छोरो (मसँग) कुरा गर्दै गरेको…।
आमाले अर्ती दिएको, भनेजस्तो नहुँदा आमालाई घुर्क्याएको, घरमा दूध तताएर झर्के बटुकामा मलाई दिएर खान कर गरेको…। सबै–सबै सम्झिएँ।
आमा दुई अक्षरको शब्द छ; सम्भवतः सबैले बोली नफुट्दै उच्चारण गरेको। तर यो केवल एउटा शब्द होइन; यो अनादिकालदेखि ब्रह्माण्डमा तरङ्गित भइरहेको सबैभन्दा वात्सल्यमय ऊर्जा हो। यसले फगत नाता जनाउँदैन, त्यसभन्दा पर सृष्टि बुझाउँछ। आमा सृष्टिको शङ्खनाद हो, जीवनको पहिलो आश्रयस्थल। आफ्नो शरीरभित्र पालन र संरक्षण गरेर हामीलाई यस धर्तीमा अवतरण गराउने महाशक्ति, महामाया।
पहिले–पहिले पढेको कुरा पनि सम्झनामा आयो, एकएक गर्दै आयो। मनुस्मृति मा भनिएको छ :
उपाध्यायान् दशाचार्य आचार्याणां शतं पिता।
सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते।।
(अर्थात्, दश जना उपाध्याय (शिक्षक) भन्दा एक जना आचार्य (गुरु) श्रेष्ठ हुन्छन्। सय जना आचार्यभन्दा एक जना पिता श्रेष्ठ हुन्छन्। तर एक जना माता (आमा) हजार जना पिताभन्दा पनि गौरव र पूजनीयतामा श्रेष्ठ हुन्छिन्।)
आमा संसारभरि आमा नै हुन्; भलै कतै मा भन्लान्, कतै अम्मा भन्लान्, कतै ममी, मदर, माटेर भन्लान् वा मादर। अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कनले भनेका छन्— ‘म आज जे छु वा भविष्यमा जे बन्ने आशा राख्छु, त्यसको जस मेरी स्वर्गकी अप्सराजस्ती आमामै जान्छ।’
त्यस्तै, नोबेल पुरस्कार विजेता बेलायती लेखक, कवि तथा उपन्यासकार रुडयार्ड किप्लिङले लेखेका छन्- ‘भगवान् आफैं सबै ठाउँमा पुग्न सक्दैनथे, त्यसैले उनले आमाहरू बनाए।’
वास्तवमा आमाहरू देवीसमान छन्। तिनलाई सम्बोधन गर्दै पनि भन्न सकिन्छ :
या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
मानिस सबै असल हुँदैनन्, खराब पनि हुन्छन्। सौन्दर्यलहरी मा भनिएको छ— ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती।’ (अर्थात्, छोरो खराब हुनसक्छ, तर आमा कहिल्यै खराब हुन सक्दिनन्।)
धेरै सम्बन्धहरू बनाउन सकिन्छ, तर आमा बनाउन सकिँदैन। धेरै सम्बन्धहरूमा कुनै न कुनै स्वार्थ निहित हुनसक्छ, तर आमामा हुँदैन। आमा निःस्वार्थको पर्याय हुन्; उनी प्रेम र ममताकी अजस्र स्रोत हुन्। अलिकति मीठो मुखमा राख्न पाइन् भने पनि चपाएर मुखबाट झिकेर काखे सन्तानलाई खुवाउँछिन्। उनको स्वार्थ भनेको सन्तानको स्वास्थ्य, सुरक्षा, प्रगति र सुदीर्घ जीवन हो। आमा सन्तानको मुहारमा खुसी पोखिएको हेर्न चाहन्छिन्।
आमा हाम्रो पहिलो गुरु हुन्, उनको काख हाम्रो पहिलो कक्षा हो। हाम्रो हात समातेर तातेताते गराउँदै हामीलाई आफ्नो जीवनयात्रा तय गर्न सिकाउने पहिलो मार्गदर्शक हुन् आमा। गर्न हुने र नहुने, असल र खराब, नैतिक र अनैतिक सबै कुराको ज्ञान आमाले आफ्नो अनुभव र व्यवहारबाट हामीलाई सिकाएकी हुन्छिन्। आमाको स्नेह नपाएका बालबालिकामा मानसिक द्वन्द्व, तनाव र असुरक्षाको भावना रहने गर्छ भनिन्छ।
गत वर्षजस्तै यसपालि पनि लोकप्रिय सरु सङ्गीत घर को वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। ललितपुरको महालक्ष्मी–५ टीकाथलीमा रहेको यो सङ्गीत शिक्षालय सङ्गीतकार तथा गायक डेनी निरौलाले चलाएका छन्। उनी इलामे हुन्; गायक तथा सङ्गीतकार प्राज्ञ कोमल निरौलाका ज्येष्ठ सुपुत्र। उसो त कोमलका अर्का छोरा भीषण र छोरी झुमाको पनि सङ्गीतसँग गतिलो नाता छ। डेनी र झुमाका लागि त सङ्गीत साधना मात्रै होइन, जीविकोपार्जनको विधासमेत भएको छ।
सङ्गीत शिक्षालयको वार्षिकोत्सव सङ्गीतमय हुने नै भयो। शिक्षार्थीहरूले बाजा बजाए, गाए र नाचे पनि। सानासाना सङ्गीत शिक्षार्थी नानीबाबुहरूको उत्साह र उमङ्गले सुनौलो भविष्यको सङ्केत गरिरहेको अनुभूति हुन्थ्यो। ‘उनीहरूलाई कति रमाइलो भइरहेको होला !’ भनेर मनमनमा गम्दै तिनका प्रस्तुतिलाई सुन्दै, हेर्दै र आनन्द लिँदै रहँदा पाँच घण्टा बढी समय बितेको पत्तै भएन। बालकलाकारहरूले आफ्ना प्रस्तुतिमा देखाएको आत्मविश्वासको जति प्रशंसा गरे पनि हुन्छ; त्यो प्रगतिको द्योतक हो।
कार्यक्रमका सञ्चालक सञ्जय बराल भन्दै थिए— ‘आज यो कार्यक्रममा सहभागी भएपछि मलाई लाग्दै छ, हामीमाझ सङ्गीत अब सोखको विधा मात्रै होइन; साधनाको विषय भएको छ।’
हो त, श्रोताका लागि सङ्गीत एउटा सुन्ने सोख मात्रै होला; तर विनासाधना सङ्गीतकर्मी हुन सकिँदैन। सङ्गीत जगत्का लागि यी नानीबाबुहरू सुन्दर भविष्यको सङ्केत हुन्।
साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नेमा सानासाना भाइबहिनी मात्रै थिएनन्; त्यस विद्यालयका प्रशिक्षार्थी वयस्क पुरुष र गृहिणीहरू समेत थिए। कार्यक्रम चलिरहेको बेला मेरै छेउमा बसेर भाइबहिनीको प्रस्तुतिलाई अवलोकन गरिरहेकी गायिका लोचन भट्टराईका नजिक आएर कोमल भन्दै थिए— ‘पोहर र अहिलेमा के अन्तर छ ? भनेर पनि हेर्नुपर्छ है लोचन बहिनी !’
उनको जवाफ थियो— ‘पक्कै स्तरोन्नति छ।’
सङ्गीत व्याकरण नजान्ने मैले तिनको संवादबाट अनुमान लगाएँ— प्रशिक्षार्थीहरूको साधनामा वृद्धि भएको र तिनको प्रस्तुतिमा गुणात्मकताको झल्को मिलिरहेको होला। अर्थात् डेनीले सञ्चालन गरिरहेको सङ्गीत शिक्षालय प्रगतिपथमा छ।
यो वार्षिकोत्सवसँग नारिएको अर्को कार्यक्रम थियो— सरु सङ्गीत पुरस्कार वितरण। यो निरौला परिवारले (अर्थात् डेनीहरूले) आफ्नी स्वर्गीय आमा सरस्वतीको स्मृतिमा स्थापना गरेको पुरस्कार हो; जो उमेरमा चालीस कटेका महिला सङ्गीत साधकलाई बर्सेनि प्रदान गरिन्छ।
गत वर्ष यो पुरस्कार इलामे चेली लोकगायिका कविता आलेलाई प्रदान गरिएको थियो। यसपालिको (अर्थात् दोस्रो वर्षको) पुरस्कार र सम्मानका लागि सुप्रसिद्ध सङ्गीतकार तथा गायिका मिरा राणालाई छनोट गरिएको रहेछ। उनी गायनका सबै विधा (अर्थात् भजनदेखि आधुनिक, लोक, पप र विभिन्न लोकभाषाका गीतहरू समेत) गाउने बहुमुखी प्रतिभाकी धनी मानिन्छिन्।
लोचन भट्टराई भन्दै थिइन्— ‘मिरा दिजूजस्तो भर्सटाइल सिङ्गर अर्को नेपाली छैन। उहाँ छ दशक अघिदेखि गाउँदै आउनुभएको छ। उहाँले सङ्गीत भरेका पाँचवटा गीत त मैले नै गाएकी छु।’
राणा आफैं भन्छिन्— ‘रेडियो नेपालमा रेकर्डिङ सुरु हुनुपूर्वदेखि नै गाउन थालेको हो। रेडियोमा दुईदुई घण्टा उभिएर गाउँथ्यौं।’
पुरस्कार वितरण समारोह औपचारिक रूपमा सुरु भएपछि आमन्त्रितहरूलाई स्वागत गर्न उभिए— यस सङ्गीत शिक्षालयका प्रमुख डेनी। पुरस्कारका बारेमा बोल्दै गर्दा उनको गला अवरुद्ध भयो, सम्हालिन खोजे, सकेनन् र भक्कानिन पुगे। उनले अगाडि बोल्न सक्दैसकेनन्, मन्तव्यलाई त्यहीँ बिसाए।
यो दृश्य देखेपछि मैले पनि आमालाई स्मरण गरें। मलाई लाग्छ— मातृविहीन सबैले आआफ्नी आमालाई सम्झे। केही बेर वातावरणमा उकुसमुकुस छायो। आमाको तस्बिरमा श्रद्धाञ्जलीस्वरूप पुष्पगुच्छा चढाउँदा झुमा अघि नै भक्कानिँदै सभाकक्षबाट बाहिरिएकी थिइन्।
आफ्नी आमालाई कसले बिर्सन सक्छ र ! तर डेनीहरूले जसरी आमालाई सम्झे, त्यो समाजका लागि समेत उदाहरणीय रहेको छ। आफ्ना बाबु आमाले ‘मन्दिर बनाउन’ भनेर छुट्याएको सानो जमिनको टुक्रासमेत बेचि खाने आर्थिक रूपले सम्पन्न मानिससमेत देखेको यो पङ्क्तिकारका लागि डेनीहरूको भावना वन्दनीय लाग्नु स्वाभाविक हो।
उसो त डेनीहरू आर्थिक दृष्टिबाट सामान्य गरिखाने वर्गका हुन्; तर आफ्नी आमाको नाममा यो पुरस्कारको स्थापना गर्नु आमाप्रतिको ठूलो समर्पण र भक्तिभाव हो। यो कार्यक्रममा सहभागी कतिलाई आफ्ना स्वर्गीय आमाका नाममा केही नगरेकोमा पश्चात्ताप भयो होला; र कतिलाई आगामी दिनमा ‘म पनि केही गर्छु’ भन्ने प्रेरणा पनि मिल्यो होला।
सम्मानको औपचारिकता सकिएपछि मसिना दुई बहिनीहरूले मिरा राणाले गाएको शास्त्रीय लयमा मालकोश रागमा आधारित ‘मेरो पाउमा आज’ बोलको गीत गाएर दर्शक–श्रोतालाई मुग्ध बनाए। त्यसपछि उनीहरूले मिरा राणालाई अनुरोध गरे— ‘दिजू, हामी हजुरसँग एकसाथ हजुरको गीत गाउने नि !’
राणा उठेर स्टेजमा गइन् र नानीहरूसँग गाउन थालिन्— ‘मेरो पाउमा आज कोही पाउजु बाँध, मेरो मायाले बोलायो…।’
मिरा राणाजस्ता अग्रज गायिकाका साथ निर्धक्क भएर स्वर मिलाउने यस्ता सङ्गीत साधक नानीहरूलाई सुनेपछि लोकप्रिय सरु सङ्गीत घर र त्यसका सञ्चालक डेनी निरौलालाई साधुवाद भन्नैपर्छ। आउँदा दिनमा थप प्रगति होस् भनेर उत्साह थप्नैपर्छ।
सङ्गीत पनि जीवनको एउटा पाटो हो। विज्ञानले प्रमाणित गरेको छ— सङ्गीतले मानिसलाई मात्रै होइन; अन्य प्राणी र वनस्पतिसमेतलाई सकारात्मक प्रभाव पार्दछ। दुसाध्य रोगको उपचारमा समेत यसको उपयोग गरिन्छ।
त्यसपछि अर्का युवा सम्भव थापाले स्टेजमा आएर गुलाम अलीले गाएको ‘लोलाएका ती ठूला तिम्रा दुई नजरले, हेरिदिए मलाई चाहिन्न अर्थोक केही’ बोलको गीत गाएर के सिध्याएका थिए, गायिका लोचन भट्टराईले थापासँग दोहोर्याएर त्यो गीत गाउने इच्छा जाहेर गरिन्। तालीको गडगडाहटबीच लोचन स्टेजमा उक्लिएर सम्भवसँग हाउभाउका साथ गाउन थालिन्— ‘लोलाएका ती ठूला…।’

कार्यक्रममा वाद्यवादक, सङ्गीतकार तथा गायक टीका भण्डारीले नेपाली गीत–सङ्गीतका बारेमा बोल्दै सरु सङ्गीत घरजस्तो सङ्गीत शिक्षालय आफू बसेकै टोलतिर हुर्कँदै गरेको देखेर खुसी लागेको बताए।
कार्यक्रमका प्रमुख अतिथि थिए— वाद्यवादक, सङ्गीतकार तथा सङ्गीत व्यवस्थापनमा नाम कमाएका वयोवृद्ध कलाकार सीके रसाइली। उनले आयोजकका तर्फबाट मिरा राणालाई २५ हजार ५०० रुपैयाँ नगदसहित सम्मानपत्र हस्तान्तरण गर्दा सभाकक्ष निकै बेर तालीको गडगडाहटले गुञ्जायमान भएको थियो।
साथमा लोकगायिका कोपिला गौतमलाई १५ हजार ५१५ नगद पुरस्कारसहित विशेष सम्मानपत्र प्रदान गरियो। इलाममै जन्मी–हुर्केकी कोपिला प्राणघातक मानिएको अर्बुद रोगसँग लड्दै भए पनि सङ्गीत साधनारत छिन्।
कार्यक्रममा सङ्गीतकार शिलाबहादुर मोक्तान तथा गीतकारद्वय सूर्य ढुङ्गेल र बुद्धवीर लामा, गायक गणेश पराजुली तथा सङ्गीत शिक्षालयका शिक्षार्थीका अभिभावकलगायतको उत्साहपूर्ण सहभागिता थियो।
लोचन भन्दै थिइन्— ‘गायन वा सङ्गीत कुनै न कुनै रूपमा वंशानुगत भएर आउँछ।’ उनको यो कथन कोमल निरौलाको परिवारमा ठ्याक्कै मेल खान्छ। कोमलका छोराछोरी मात्रै होइन, नातिनातिनी पाँच जना मिलेर पनि एउटा गीत सुनाए— सामूहिक स्वरमा। आठ वर्षीया नातिनी मिजासी उपाध्यायको स्वर र अभिनय भएको म्युजिक भिडियोसमेत सार्वजनिक गरियो।
बेलुकीको पाँच नाघिसकेको थियो। बाहिर झरी भएकाले साँझ परेजस्तै भएको थियो। सार्वजनिक सवारीसाधन तीन ठाउँ परिवर्तन गर्दै घर पुग्नुपर्ने भएकाले आयोजकले कार्यक्रमको समापनसम्म बस्न गरेको अनुरोधका प्रति क्षमा याचना गर्दै बाटो लाग्दा कानमा भने सामूहिक स्वर गुञ्जिरहेको थियो— ‘मेरो पाउमा आज कोही पाउजु बाँध, मेरो मायाले बोलायो…।’
प्रतिक्रिया 4