Comments Add Comment

हुम्डेको हिउँमा चिप्लेटी खेल्दा

३ फागुन, काठमाडौं । तराईको माटोमा जन्मे/हुर्के पनि हिमाली कठोरता र सौन्दर्य दुबै साक्षात्कार गर्ने मोह थियो । बेलामौकामा नाङ्गो आँखाले हिमाल अवलोकन नगरेको पनि होइन । यद्यपि धीत मर्नेगरी हिउँमा हिँड्न पाइएको थिएन ।

यसपाली माघको अन्तिम साता भने मनाङको हुम्डे पुग्दा लगभग २३ किलोमिटर हिउँ नै हिउँमाथि हिँडिएछ ।

लाग्थ्यो, हामी जस्ता तराईका मान्छेलाई मनाङ धेरै टाढाको गन्तव्य हो । कठिन पनि । तर मेरो भोगाई फरक रह्यो । मलाई लाग्यो, मनाङ त्यति टाढाको गन्तव्य होइन । गर्मी याम भन्दा जाडोमा केही कठिन होला । यद्यपि, हिउँको सौन्दर्यले त्यो कष्ट पनि मेटिदिन्छ ।

मनाङ पुग्नका लागि हामी काठमाडौंदेखि हिँड्यौं । पहिलो दिन हामी मनाङको सदारमुकाम चामे पुग्यौं । दोस्रो दिन हुम्डे । हिमपातको कारण यात्रामा केही अवरोध सामना गर्नुपर्यो ।

हाम्रो अन्तिम गन्तव्य हो, हुम्डे । मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डेमा आइस क्लाइम्बिङ महोत्सव हुँदै थियो । महोत्सवको यो दोस्रो संस्करण थियो । आइसक्लाइम्बिङ नै त्यहाँको मुख्य आकर्षण । यसका लागि दुई वटा स्थान छनौट गरिएको रहेछ । हुम्डेदेखि कार्यक्रमस्थल पुग्न तीन घण्टा लाग्ने । उक्त कार्यक्रमका लागि स्वदेशी र विदेशी गरी ४० जना सहभागी थिए ।

जीवनमै पहिलो पटक आइस क्लाइम्बिङको अनुभव पनि लिइयो । करिब तीन सय ५० मिटर ठाडो उकालो । हिउँ नै हिउँको टाकुरा । सुरुमा हेर्दा त डर लाग्यो । तर, क्रमस क्लाइम्बिङ गर्दै गएपछि आत्मविश्वास बढ्दै गयो । आइस क्लाइम्बिङ गर्नुअघि एक सय ५७ मिटर ठाडो उकालो हिउँमा यात्रा गरेकाले पनि हौसला मिलेको थियो ।

जे होस्, मनाङ यात्रा जीवनकै लागि स्मरणीय रह्यो । मनाङ पुग्दा मनमा के कुराचाहिँ खल्लो लाग्यो भने यत्तिको राम्रो ठाउँबाट राज्य किन लाभान्वित हुन सकेन ? राज्यले किन मनाङलाई सही सदुपयोग गर्न सकेन ?

मनाङको भू-वनौट, हिमाली सौन्दर्य, बस्तीहरु । विदेशी साथीहरुले भन्दै थिए, दुरुस्तै स्विटजरल्यान्ड । यत्तिको सुन्दर ठाउँ पाएर पनि हामी यसको मूल्य बुझ्न सकिरहेका छैनौं । लाग्यो, मनाङ एक नकुँदिएको हिरा हो ।

सुदर्शन न्यौपाने, कोषाध्यक्ष, नेपाल पर्वतारोहण संघ

नेपाल आउने पर्यटक हिमाल चढ्छ, पदयात्रा गर्छ तर, आइसक्लाइम्बिङ गर्दैनन् भन्थे । तर हामीले आइसक्लाइम्बिङ महोत्सव गरेपछि यो भ्रम तोडियो ।

यतिबेला हामी भ्रमण वर्ष मनाइरहेका छौं । यही मेसोमा आइस क्लाइम्बिङको पनि जतिसक्दो प्रवर्द्धन गर्नुपर्ने हो । प्रचार प्रसार गर्नुपर्ने हो । यद्यपि हामीले अपेक्षाकृत यसको प्रवर्द्धन गर्न सकिरहेका छैनौं । यसो हुनुमा मूलत आर्थिक कारण हो ।

अहिले जे सुकै भएपनि भविष्यमा भने आइसक्लाइम्बिङ एउटा प्रमुख आकर्षण रहनेछ । स्वदेशी विदेशी पर्यटकले यसको आनन्द उठाउनेछन् भन्ने कुरामा मलाई विश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment