५ फागुन, काठमाडौं । सरकारविरुद्ध कडा टिकाटिप्पणी गर्ने पूर्वप्रशासकहरुप्रति अर्थमन्त्री डा. युवराज खतिवडा आक्रोसित अभिव्यक्ति दिएका छन् । खासगरी सरकारका दुई वर्षका कामको विश्लेषण गर्दा सरकारको आलोचना गर्ने पूर्वप्रशासकहरुप्रति लक्षित गर्दै अर्थमन्त्री डा. खतिवडाले आक्रोस व्यक्त गरेका हुन् ।
सोमबार सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको उद्घाटन कार्यक्रममा डा. खतिवडाले हिजो दशकौंसम्म राज्यको नीति-निर्माणको तहमा बसेर काम गर्न नसकेकाहरुले आज सरकारको आलोचना गरिरहेको भन्दै आक्रोस व्यक्त गरेका हुन् ।
‘जुन अनुहारले दशकौं राज्यको नीति निर्माण र प्रशासन चलाउन नेतृत्वमा रहेर भूमिका निर्वाह गरे, उनीहरुबाटै सरकारका दुई वर्षे कामकाजको आलोचना भइरहेको छ,’ उनले भने ‘उनीहरुले दशकौं देशको नेतृत्वमा बसेर काम गर्दा पनि औसतः भन्दा काम नै गर्न सकेका थिएनन् ।’
आफ्नो पालामा सिन्को नभाँच्ने र सेवा बाहिर गएपछि मैले के-के न गरेँ भन्ने प्रवृत्ति पूर्वप्रशासकहरुमा रहेको अर्थमन्त्रीको आरोप छ ।
‘नीति निर्माणको तहमा बसेर औसतभन्दा कम कार्य सम्पादन गर्ने, औसत भन्दा कम कार्यकुशलता देखाउने र अहिलेको सरकारले औसतभन्दा धेरै माथिको काम गर्दा सरकारको काम भएन भन्दै टिभीमा इन्टरभ्यू दिने, उहाँहरुलाई तपाईंहरुले चिनिरहनु पर्ने जरुरी छ,’ प्रशिक्षण केन्द्रका कर्मचारी तथा अन्य सरोकारवाला समक्ष अर्थमन्त्री खतिवडाले भने ।
दुई वर्षमा सरकारले अधिकांश क्षेत्रमा औसतभन्दा माथि काम गरेको भन्दै त्यसलाई तथ्यले नै पुष्टी गर्ने उनले बताए । ‘उपलब्धि भएका छन्, आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण, या समाजको रुपान्तरणमा समेत काम भएका छन्,’ उनले भने ।
अहिले बहस दशमलवमा चलेको भन्दै कटाक्षसमेत उनले गरे । ‘मूल्यवृद्धि ६ प्रतिशत हुन्छ भनेको ६.४ प्रतिशत भयो, सरकारले बर्वाद गर्यो भनेर आलोचना हुन्छ,’ उनले भने, ‘हिजो ६ प्रतिशत लक्ष्य राखेर १६ प्रतिशत मूल्य वृद्धि हुँदा पनि समाज चुप लागेर बसेको थियो । अहिले दशमलवमा बहस भएको छ । त्यसकारण बुझ्नुस्, हामी लक्ष्यको कति नजिक छौं भनेर ।’
कसैकसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठूलो बहस छेडिरहेको तर्फ समेत अर्थमन्त्री आक्रोशित देखिए ।
‘उहाँहरु ७ प्रतिशतको हाराहारी हुनुहुन्छ, बहस ६ प्रतिशतभन्दा माथि पुगिसक्यो, अब ३/४ प्रतिशतको त कुरै हुँदैन’, अर्थमन्त्री डा. खतिवडाले भने ‘जबकी उहाँहरु राज्य संचालनमा रहँदा ४ प्रतिशतसमेत नपुगेर, त्यही अनुभव बोकेर राज्य सञ्चालनबाट बिदा हुनु भएको थियो ।’
सरकारले मनगढन्ते ढंगले नभई तथ्यमा यो सबै बोलिरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4