Comments Add Comment

सबै पिलपिल गर्दा पो थाहा भो, आउट भएछु !

‘हरिवंश दाइको फोन आउँदा खङ्ग्रङ्गै भएँ’

७ फागुन, काठमाडौं । प्रजातन्त्रमा देश चलाउने नेताहरुको चयन गरिन्छ जनताको भोटबाट । तर आजकाल विभिन्न विधामा उत्कृष्ट प्रतिभाहरुको चयन पनि जनताको भोटबाट हुने गरेको छ । यो परिपाटी ठीक हो वा बेठीक भन्नेतिर नजाऊ ।

‘रियलिटी शो’ का नाममा झांगिएको यो अन्तर्राष्ट्रिय ट्रेन्ड नेपालमा पनि खुबै मौलाइरहेको छ । गीत–संगीत, नृत्यदेखि साहसिक खेलहरुका रियालिटी शो नेपाली टेलिभिजनमा भित्रिएका छन् ।

पछिल्लो समय चाहिँ कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ चलिरहेको छ, यो रियालिटी शोले राम्रो चर्चा पनि पाएको छ ।

नायिका केकी अधिकारीले नेतृत्व गरेको टिमले निर्माण गरेको कमेडी च्याम्पियन टप ४ मा पुग्दा धेरै आशालाग्दा प्रतिभाहरु जन्मिएका छन् । आशालाग्दा प्रतिभाहरु मध्ये एक हुन् सुमन कार्की । उपाधिकै प्रबल दावेदारका रुपमा हेरिएका उनको टप ५ बाट नमिठो बहिर्गमन भयो । उनलाई भोट पुगेन । जबकी सुमन स्वयम् कम्तिमा फाइनलमा पुग्नेमा विश्वस्त थिए ।

शोका निर्णायकहरुका लागि पनि उनको बहिर्गमन अपेक्षित थिएन ।

०००

कमेडी च्याम्पियन हरेक सोमबार र मंगलबार राति प्रशारण हुन्छ । प्रत्येक हप्ता एकजना प्रतियोगीलाई घर पठाउँदैछ । को आउट भयो भन्ने चाहिँ प्रतियोगीहरुले शुक्रबार मात्रै थाहा पाउँछन् । प्रतिस्पर्धा यति कडा छ कि को फालिएला र को रहला भन्ने अनुमानै गर्न कठिन । अन्य रियालिटी शोमा जस्तो कार्यक्रममै आउट हुनेको नाम घोषणा गरेर रोनाधोना गर्ने चलन यो शोमा छैन ।

अरु दिनजस्तै शुक्रबार दिउँसो १२ बजे सुमन बानेश्वरबाट कलंकी हानिए, जहाँको एक होटलमा कमेडी च्याम्पियनको टोलीलाई राखिएको छ । सुमन भने होटलमा नबसी घरबाटै धाइरहेका थिए ।

त्यस दिन बाटोभरि उनको दिमागमा खेलिरहेको प्रश्न थियो, ‘आज को आउट भयो होला ?’

होटलमा पुगे । रिहर्सल गर्ने कोठामा उनका साथीहरु उदास मुद्रामा थिए । उनलाई देखेपछि उनीहरु मुखामुख गर्न थाले । सुमनले आँखा डुलाए । तीनजना थिए, मेक्सम थिएनन् । सायद मेक्सम आउट भएछन् । सुमनको मनले यही सोच्यो । यत्तिकैमा अर्का सुमन (कोइराला) आएर उनलाई अंगालो हाले । आँखा पिलपिल पारे । सुमनले सोचे, यसलाई के भयो, कन्टेन्टको लास्टै तनाव भयो कि के हो ?

एकछिनमा मेक्सम पनि आएर सुमनलाई अंगालो हाले । उनी पनि पिलपिल । अब चाहिँ सुमनको मनमा चिसो पस्यो । सोचे ‘मै आउट भएँ कि क्या हो ?’ नभन्दै हो रहेछ ।

उनी भन्छन्, ‘वास्तवमा भन्नुपर्दा मलाई आउट हुन्छु जस्तो लागेको थिएन । तर, सबैकुरा जनताको भोटमा निर्भर छ, त्यसैले यसलाई सामान्य रुपमा लिएको छु ।’

अघिल्लो साता सुमनले नेपाली भाषामा अंग्रेजीको घुसपैठका विषयमा प्रस्तुति दिएका थिए । आफ्ना विगतका प्रस्तुतिका तुलनामा यसमा हास्यरस कम रहेको उनी स्वयमलाई नलागेको होइन । तर आउट नै हुने गरी कमजोर लागेको थिएन ।

०००

गत वर्षको गाइजात्रामा एउटा प्रहसन खुबै चर्चित बन्यो । त्यो थियो, क्यारिकेचर किङ भनेर चिनिने सुवोध गौतमले विभिन्न नेताको अवतारमा ‘ऋषि धमला’ लाई दिएको अन्तर्वार्ता । सुबोधको प्रतिभा त धेरैले चिनिसकेका छन् ।

तर ऋषि धमला बनेर दुरुस्त अभिनय गरेका सुमन कार्की चाहिँ धेरैका लागि अपरिचित थिए । उनले आवाज मात्र होइन, हाउभाउ र प्रश्न गर्ने शैली पनि धमलाको दुरुस्त उतारेका थिए । यो प्रस्तुतिबाट सुमनले खुबै प्रशंसा पाए ।

त्यसो त सुमनले दुई वर्ष अगाडि नै प्रख्यात हास्यकलाकार हरिवंश आचार्यसँगै देश दौडाहा समेत गरिसकेका थिए । हरिवंशको पुस्तक ‘हरिबहादुर’को प्रवर्द्धन गर्ने सन्दर्भमा देशभरका १३ शहरमा आयोजना गरिएको कार्यक्रममा सुमन, धमलाकै रुपमा प्रस्तुत भएका थिए । हरिवंशजस्तो कलाकारसँग सहकार्य गर्ने अवसर चाहिँ उनलाई कसरी जुरेको थियो त ?

सुमनले सम्झिए, ‘म रेडियो अडियोमा काम गर्न थालिसकेको थिएँ । मैले ऋषि धमलाको क्यारिकेचर गर्छु भन्ने रेडियो अडियोका प्रोड्यूसर दिपेन्द्र खनियालाई थाहा थियो । एक दिन उहाँलाई हरिवंश दाइले फोन गरेर सोध्नुभएछ, तपाईंसँग ऋषि धमलाको क्यारिकेचर गर्ने कोही कलाकार छन् ? खनियाले मेरो नाम र नम्बर दिनुभएछ ।’

‘एक दिन मलाई फोन आयो । फोन उठाएपछि उताबाट भनियो, भाइ नमस्ते, म हरिवंश आचार्य । म त खङ्ग्रङ्ग भइहालेँ । हरिवंश दाइले सिधै फोन गर्नु भएको कुरा पत्याउनै गाह्रो पर्यो । नपत्याउनु पनि कसरी ? उहाँले भन्नुभयो– भाइ हामी यस्तो यस्तो कार्यक्रम लिएर नेपाल टुर गर्दैछौं, त्यसमा भाइले ऋषि धमला बनेर सहयोग गर्नुपर्‍यो । मैले नाई भन्ने कुरै थिएन ।’

यसरी सुमनले हरिवंशसँग १३ दिनसम्म नेपाल टुर गर्ने अवसर पाए । ती कार्यक्रममा उनी ऋषि धमला बनेर प्रश्न सोध्थे भने हरिवंशले हरिबहादुर बनेर जवाफ दिन्थे ।

०००

कमेडी च्याम्पियनमा पनि सुमनले दिएका प्रस्तुतीहरु एक से एक अब्बल थिए । उनी स्वयमलाई चाहिँ आफ्नो कुन चाहिँ प्रस्तुति सबैभन्दा बेजोड लाग्छ त ?

सुमनले एउटा होइन, पाँचवटा प्रस्तुती सम्झे । सत्यवादी भ्रष्टाचारी नेता, युट्यूबर, गाडीको सहचालक, नेपाली फिल्म र फिल्मकर्मीमाथिको कमेडी र ट्राफिक प्रहरीका रुपमा दिएको प्रस्तुतीलाई उनी आफैं उत्कृष्टताको सूचीमा राखेका रहेछन् ।

सबैभन्दा चर्चित प्रहसन चाहिँ सत्यवादी भ्रष्टाचारी नेताको थियो । यसमा उनले मिहिनेत पनि निकै गरेका थिए । सत्यवादी र भ्रष्टाचारी एकसाथ कसरी बन्ने ? सजिलो थिएन । सुमनले भ्रष्टचारमा जेल परेर बाहिरिएका नेताहरुबारे अध्ययन गरेर सामग्री तयार गरे ।

शुक्रबारको रिहर्सलमा त्यसलाई प्रस्तुत गर्दा मेन्टरहरुले उनलाई आवाज बदल्न सुझाव दिए । सुमन भन्छन्, ‘उहाँहरुको सुझावअनुसार मैले आफ्नो नेचुरल आवाजलाई हल्का दवाएर नयाँ स्वर निकालेँ । त्यो निकै रमाइलो सुनियो ।’

नेता बन्दै गर्दा उनले बोलेका हरेक पञ्च लाइनलाई दर्शकले रुचाएका थिए । उनले अनौठो शैलीमा ‘हुँ‘’ गर्दा मनोज गजुरेल झण्डै हाँसेर बेहोस ! भएका थिए । त्यही ‘हुँ…’ आवाज उनको ट्रेडमार्क झैं बनेको छ । त्यस एपिसोडमा सुमन पर्फमर अफ द राउण्ड बनेका थिए ।

सुमनले सह–चालक, ट्राफिक, नेता लगायत धेरै दमदार प्रस्तुती दिएका थिए । कमेडी च्याम्पियनमा उनी दुई पटकसम्म ‘पर्फमर अर्फ दि राउण्ड’ समेत बनेका थिए ।

सुमनसँग च्याम्पियनको उपाधि जित्ने उर्जा थियो । अझ साथीहरुको हौसला र सहयोगले झनै उर्जावान थिए । तर बिडम्बना, भोटमा उनी पछि परे ।

तर सुमन भोटिङ सिस्टमलाई कुनै दोष दिन चाहँदैनन् । जजलाई मात्र निर्णय गर्न दिने हो भने पनि त्यहाँ विवादको गुञ्जायस धेरै हुने उनले बुझेका छन् । भन्छन्, ‘भोट भनेको दर्शकले गर्ने हो । दर्शकले जसलाई मन पराउनु हुन्छ, त्यसैलाई भोट गर्नुहुन्छ ।’

भोट र नोट आपसमा अन्तरसम्वन्धित छन् । पैसा खर्च नगरीकन पर्याप्त भोट आउँदैन । सुमनले चाहिँ कति पैसा खर्च गरे ?

आफूले भोटकै लागि पैसा खर्च नभएको उनको दाबी छ । भन्छन्, ‘मसँग पैसा नै थिएन, के खर्च गर्नु ! पर्फमर अफ द डेमा पाएको पुरस्कार चाहिँ भोटका लागि खर्च गरेँ ।’

०००

ओखलढुंगामा जन्मिएका सुमनको परिवार बसाई सरेर मोरङ झरे । बाल्यकाल मोरङमै बिताएका सुमनले कमेडियन हुन्छु भन्ने सोचेका पनि थिएनन् ।

उनलाई त चलचित्रको हिरो बन्ने रहर थियो । बाल्यकालमा खुबै चलचित्र हेर्थे सुमन । हरेक साता चलचित्र हेर्थे । हप्ताभरी ८ रुपैयाँको जोहो गरेर शनिबार चलचित्र हेर्न उनी उर्लाबारी पुग्थे ।

सुमन निखिल उप्रेतीको फ्यान थिए । उल्टी–सुल्टी, कराँते किक खुब अभ्यास गर्थे । उनले सपना बुनेका थिए, ‘ठूलो भएपछि निखिल उप्रेती जस्तै बन्ने हो ।’

उमेर बढ्दै जाँदा चलचित्र भन्दा पनि सिरियलतिर बढि ध्यान दिन थाले । उनलाई ‘मेरी बास्सै’ खुबै कन पर्थ्यो । मेरी बास्सैमा पनि सीताराम कट्टेलले वडाध्यक्ष बनेर गरेको भूमिका सुमनको रोजाईमा थियो । उनी पनि त्यस्तै आवाज निकालेर बोल्ने अभ्यास गर्न थाले ।

एक दिन विद्यालयमा कार्यक्रम थियो । त्यहाँ मञ्चन हुने एक नाटकमा उनले पनि ‘जड्याहा’ को भूमिका पाए । त्यसैको अभ्यासमा उनले शिक्षकलाई मेरी बास्सैका वडाध्यक्ष (केपी ओलीको आवाज) क्यारिकेचर गरेर सुनाए । सरले सुमनको क्यारिकेचरलाई रुचाए र भने, ‘कार्यक्रममा पनि यही आवाजमा गर ।’

सुमनले त्यस्तै गरे । सुमन भन्छन्, ‘कहाँ दर्शक हास्छन् भन्ने कुरा नै मलाई पत्तो थिएन । मेरी बास्सैमा जे थियो, त्यहीँ बोलेको थिए । त्यसलाई राम्रै भन्नुभयो ।’

त्यही प्रशंसाले सुमनको झुकाव अब कमेडीतर्फ बढ्यो । क्यारिकेचर सिके, रेडियोमा बोल्न सिके । अनि मोरङकै रेडियोमा काम सुरु गरे । त्यहाँ उनले कमेडी कार्यक्रम नै चलाउने गर्थे ।

दुई वर्ष त्यहाँ काम गरेपछि सुमन पढ्न काठमाडौं छिरे । ब्याचलर सकेर मास्टर पढ्न काठमाडौं आएका सुमनलाई रेडियोमा काम गर्ने जाँगर मरिसकेको थियो । अब पढाईमा नै केन्द्रित हुने सोचले काठमाडौं छिरेका थिए ।

काठमाडौं आएपछि सुमनले थाहा पाए, ‘एउटा हास्य व्यंग्यमात्र प्रशारण गर्ने रेडियो छ, रेडियो–अडियो । त्यहाँ काम गर्यो भने त ठूला कलाकारहरु सबैलाई भेट्न पाइन्छ ।’

रेडियोमा काम गर्ने रहर मारिसकेका सुमन कलाकारलाई भेट्न पाउने लोभमा रेडियो–अडियो छिरे । उनी भन्छन्, ‘कलाकार भेट्ने कुराले नै मलाई रेडियो–अडियोले तानेको थियो । अहिलेसम्म पनि त्यहीँ काम गरिरहेकै छु ।’ सुमनले रेडियो–अडियोमा अहिले झण्डै एक दर्जन कार्यक्रम गरिरहेका छन् ।

सुमनलाई अभिनय गर्ने रहर भने अझै छ । हास्य टेलिसिरियल होस् वा चलचित्र, राम्रो भूमिका पाए काम गर्न तयार छन्, सुमन । उनले भने, ‘अभिनयमा सिक्नुेपर्ने कुरा धेरै नै छन् । तर, अवसर मिल्यो भने काम गर्न पनि तयार छु म ।’

०००

हास्य क्षेत्रमा सुमनको संघर्ष एक दशक पुरानो भइसक्यो । मेला–महोत्सवदेखि गाइजात्रासम्म उनले प्रस्तुती दिएका छन् । कमेडीका हरेक विधामा पोख्त भए पनि उनको पहिचान चाहिँ ‘धमलाको क्यारिकेचर गर्ने केटो’ को रुपमा मात्रै थियो । उनी यसमा सन्तुष्ट थिएनन् ।

क्यारिकेचर मात्र होइन, स्ट्याण्डअप गरेर पनि हसाउन सक्छु भन्ने कुरामा विश्वास्त थिए सुमन । आफ्नो कला देखाउने प्लाटफर्मको खोजीमा दौडिरहेका थिए । त्यही समय सुने, ‘नेपालमा कमेडी रियालिटी शो’ आउने भयो ।

उनले यस रियालिटी शोमा भाग लिन को–को जादैँछ भनेर बुझे । स्ट्याडअप कमेडी गरिरहेका अन्य कलाकारहरु पनि त्यहाँ जाने पत्तो पाएपछि सुमन पनि तम्सिए । उनी भन्छन्, ‘पहिलो भनेको त पहिलो नै हुन्छ । त्यो माथि आफूलाई प्रमाणित गर्ने ठाउँ पाएको थिएँ । त्यसैले उत्साहित भएर नै त्यहाँ पुगे ।’

कमेडी च्याम्पियनबाट सोचेभन्दा राम्रो उपलब्धी हासिल गरेको उनले अनुभव गरेका छन् । अहिले उनलाई चिन्नेहरुको दायरा निकै ठूलो भएको छ । कमेडी च्याम्पियनले गर्दा आफूले धेरै कुराहरुमा परिवर्तन महसुस गर्न पाएको सुमन बताउँछन् । उनले भने, ‘पहिला र अहिलेमा धेरै फरक पाएको छु । मसँग सिमित साथीहरु थिए, अहिले धेरै साथी पाएको छु । मेरो कुरा सुन्ने दर्शक पाएको छु ।’

टप ४ का प्रतिस्पर्धी को कस्ता ?

कमेडी च्याम्पियनमा बाँकी छन् चार प्रतिस्पर्धी । सुमनको नजरमा उनीहरुमध्ये कस्ले जित्ला त टाइटल ?

उनी भन्छन्, ‘चारै जना उत्कृष्ट छन् । सबैको आ–आफ्नो विशेषता छ । सुमन कोइरालाले गरेको दले दाइबाट त शोले नै अर्को उचाई पायो । क्यारेक्टर गर्न उनलाई कसैले भेट्दैन । खड्ग बहादुर पुनको पनि प्रस्तुती निकै मौलिक र दमदार हुन्छ । उसको अनुहार नै निर्दोष र हासोलाग्दो भएकाले पनि दर्शक हाँस्नुहुन्छ । हिमेश पन्त पहिल्यैदेखि कमेडी गरिरहेको हुनाले अब्बल नै छन् । उनको राजनीतिक ज्ञान राम्रो छ । विष्णुप्रसाद गौडेल ‘मेक्सम’को आत्मविश्वास गज्जबको छ । सामान्य बिषय वस्तु भए पनि मेक्समले आत्मविश्वासले नै जितिदिन्छ । कन्फिडेन्ट नै उसको शक्ति हो ।’

बाहिरिएपछि पनि सुमनलाई म्यासेजको ओइरो नै लागेको छ । उनलाई म्यासेज रिप्लाई गर्न भ्याई–नभ्याई छ । सुमन भन्छन्, ‘बाहिरिएपछि धेरै म्यासेजहरु आउने रहेछन् । कतिले तपाई हामीलाई चाहिने मान्छे हो भन्दै म्यासेज गर्नुभएको छ । कतिले टप ५ मा पुग्नु राम्रो हो भन्दै सहानुभुति दिनुभएको छ ।’

कमेडी च्याम्पियनले आफ्नो करिअरमा बलियो इँट्टा थपिदिएको सुमान बताउँछन् । उनले भने, ‘कमेडी च्याम्पियनले राम्रो इँट्टा थपिदिएको छ । केही मात्रमा उचाई दिएको छ । अझै सिक्न र पढ्न बाँकी नै छ ।’

यही नै अन्तिम युद्ध होइन । कमेडी च्याम्पियनबाट आउट भएपनि नेपालको हास्यव्यंग्य क्षेत्रको फराकिलो मैदान उनका लागि खुल्ला छ । कमेडीका सबै विधामा पारंगत उनले आगामी दिनमा यस क्षेत्रमा राज गर्न सक्छन्, यदि आफ्नो कर्ममा मिहिनेत र अनुशासनको लेपन गर्न सके भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment