काठमाडौं । हिमालयन क्रिकेट लिग यू-१९ दुई दिवसीय प्रतियोगितामा नेक्सस क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीविरुद्ध पहिलो दिन ३८ रनको अग्रता बनाएको छ ।
खराब प्रकाशले शुक्रबारको खेल रोकिनुअघि नेक्सले दोस्रो इनिङ्स सुरु गर्दै ५.३ ओभरमा २१ रन बनाएको थियो । त्यसअघि दुवै टोलीले पहिलो इनिङ्स ब्याटिङ गर्दा नेक्ससले १७ रन बढी बनाएको थियो ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले पहिलो इनिङ्समा ४४.४ ओभर खेल्द सबै विकेट गुमाएर १३४ रन बनाएको थियो । नेक्ससका आकाश चन्दले सर्वाधिक २१ रन बनाए । हिमालयन क्रिकेट एकेडेमीका सन्दीप खड्काले ५ र प्रकाश कार्कीले ३ विकेट लिए ।
हिमालयन क्रिकेट एकेडेमीले पहिलो इनिङ्समा २८.३ ओभर खेल्दै सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो । उसका रजत तिमल्सिनाले सर्वाधिक ४५ रन बनाउँदा यू-१६ खेलाडी दीपक बोहराले २५ र सन्दीप शाहीले २१ रन बनाए। बाकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हिमालयनललाई अलआउट गर्न नेक्ससका नरेन साउँद एक्लैले ७ विकेट लिए । उनले ११ ओभरमा ३ मेडन राख्दै ४७ रन खर्चेर ७ विकेट लिएका हुन् । यस्तै कृष कार्कीले २ विकेट लिए ।
पहिलो दिनमै दोस्रो इनिङ्स थालेको नेक्ससका लागि रित गौतम १३ र विपिन विक्रम शाही ८ रनमा अविजित छन् ।
प्रतिक्रिया 4