Comments Add Comment

शंकरनगरले जित्यो अन्तरदेशीय क्रिकेटको उपाधि 

बुटवल । अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि शंकरनगर क्रिकेट क्लब रुपन्देहीले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा राइनोज क्रिकेट क्लब काठमाडौंलाई २६ रनले पराजित गर्दै शंकरनगरले प्रतियोगिताको उपाधि जितेको हो ।

टस जितेर राइनोजले फिल्डिङ रोजेपछि पहिला व्याटिङको निम्तो पाएको शंकरनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो । उसका लागि शंकर रानाले ७६, तुल बहादुर थापाले २५, सन्दीप सुनारले २२ र सुरज दराईले १९ (नटआउट) रनको योगदान गरे । बलिङमा राइनोजका सूर्य तामाङले २ तथा कमल सिंह ऐरी, रोहित कुमार पौडेल र रमेश कुर्मीले समान १/१ विकेट लिए ।

जवाफमा राइनोजले १९.५ ओभरमा १० विकेट गुमाउँदै १५१ रन बनायो । उसका लागि रोहित कुमार पौडेलले ७५, धिरज शाहीले २१, गजेन्द्र बोहराले १७ र प्रकाश केसीले १५ रनको योगदान गरे । बलिङमा शंकरनगरका अनिल खरेलले ३ तथा दुर्गेश गुप्ता, सन्दिप सुनार, साहब आलम र विक्रम भुसालले समान १/१ विकेट लिए ।

शंकरनगरका शंकर राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा असरक ग्लोबल स्पोर्टस् बंगलादेशका अलि समद म्यान अफ द सिरिज तथा वेस्ट ब्याट्सम्यान, शंकरनगर क्रिकेट क्लब रुपन्देहीका विक्रम भुसाल वेस्ट बलर र शंकरनगरकै सौरभ खनाल मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

भैरहवा क्वीन्स प्रा.लि.को आयोजना, राइनो स्पोर्ट्सको संयोजन तथा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश पाकिस्तानका गरी ८ वटा व्यवसायिक क्लबले प्रतिष्पर्धा गरेका थिए ।

विजेतालाई प्रदेश सांसद सन्तोष पाण्डे,रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले नगद तीन लाख रुपैयाँ,ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment