Comments Add Comment

लावण्य देशको कोरोना : कालोझण्डा र कालो बोको !

यो काल्पनिक व्यंग्य हो । कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ !

कोरोना भाइरसको संक्रमण विश्वभरि बढिरहेको सन्दर्भमा हाम्रो छिमेकी देश लावण्यमा त्यहाँका राजनीतिक दलहरूले धुन्धान तयारी गरेका रहेछन् । लावण्यका राजनीतिक दलका तर्फबाट के कस्तो तयारी भैरहेको छ सो बारेमा हाम्रो राष्ट्रिय दैनिकका पत्रकार जो हेल्थ डेस्क इन्चार्ज पनि हुनुहुन्छ, ले दुई मुख्य पार्टी (लावण्य भक्त पार्टी (लाभ पार्टी ) र प्यारो लावण्य पार्टी (प्याला पार्टी) का मुख्य नेताहरूसँग सगोलमा कुराकानी गरी केही जानकारी लिनुभएको छ, सो कुराकानी जस्ताको तस्तै–

पत्रकार– कोरोनाविरुद्ध यहाँ मुख्य राजनीतिक दलको अभूतपूर्व तयारी भएको छ रे, के के तयारी गर्नुभएको छ ? अस्पताल, औषधी, स्वास्थ्यकर्मी, मेडिकल इक्विपमेन्ट, आइसोलेसन वार्ड,क्वारेन्टाइन, आवत जावतमा नियन्त्रण आदिको के कस्तो तयारी छ ?

लाभ पार्टी, लावण्यवासीलाई लाभ दिने बृहत् उद्देश्यका साथ खोलिएकोले यसको संक्षेपीकरण पनि लाभ पार्टी हुनु संयोग मात्रै होइन । व्यापक तयारी छ । अस्पताल, औषधी, स्वास्थ्यकर्मी, मेडिकल इक्विपमेन्ट,क्वारेन्टाइन आदिको व्यवस्था बिस्तारै हुँदै जाला, अहिलेलाई सबैतिर आदेश, निर्देशन, हुकुम, फरमान, अनुरोध जे–जे, जस–जसलाई दिनुपर्ने हो, दिइसकिएको छ । छलफल, गोष्ठी, सेमिनार, भेला गरेर निर्णय गर्नमा कुनै कसर बाँकी राखिएको छैन ।

मुख्य कुरा– गढी, गौंडा, गोश्वारा, पाटी, पौवा, चोक, चौतारोमा हाम्रा भातृ र भगिनी संगठनका युवाहरू लाठी, भाला, खुँडा, खुकुरी, चेन, रड, ढुङ्गामुढा, इँटा इत्यादि सहित परिचालन गरिसकिएको छ । राजनीतिको ‘र’ नजान्नेले यी बिचरालाई लठैत र हनुमान भन्दारहेछ्न्, त्यस्ता अबुझ प्राणीहरूप्रति खेद छ । यो योजना अनुसार प्रत्येकलाई एक–एक वटा कालो झण्डा वितरण गरिएको छ । व्यापक माग गरिएकाले बजारमा कालो कपडाको अभाव देखियो वा कालोबजारी भयो भने बुझ्नुस्, हाम्रो कार्यक्रम सफलोन्मुख छ । यो कालो कपडालाई तिनले शुरूमा गुप्त रूपमा आफ्नो गोजीमा राख्नेछन् । जसै कोरोनाको इन्ट्री याने आगमन हुनेछ, तिनले कत्ति पनि ढिलो नगरी फटाफट कोरोनालाई कालो झण्डा देखाउनेछन् । कालो झण्डा देखेपछि कोरोना कुलेलम ठोक्ने छ भन्ने विश्वास तिनलाई दिलाइएको छ ।’

पत्रकार– यति सजिलै विश्वस्त भए त ति ?

लाभ पार्टी– अरे, ती हाम्रा कार्यकर्ता हुन्, तपाईंका होइनन् नि ।

कोरोनाले कथम् कालो झण्डालाई अटेर गरेमा तिनले आफ्ना लाठी, भाला, खुकुरी, चक्कु, चेन, रड इत्यादि प्रयोग गरी कोरोनाको काया छियाछिया परिदिनेछन् । यतिले पनि नपुगे तत्कालै तिनले गगनभेदी नारा लाउनेछन् ।’

पत्रकार– नारा चाहिँ के लाउनेछन् ? कोरोनाकै विरुद्धमा त होला नि, होइन ?

प्याला पार्टी– विलकुल हो । कोरोनाकै विरुद्धमा हो । यसका लागि हामीले नारा पनि साझा नै तय गरेका छौं, जस्तै– ज्यानमारा कोरोना मूर्दावाद ! विदेशी भाइरस चाहिँदैन, जनता मार्न पाइँदैन । यसपालिको हैजा, कोरोनालाई लैजा ! आर्यघाटले के भन्छ– कोरोनालाई ले भन्छ ! ले ले जनता खुकुरी ले, कोरोनालाई छप्काइ दे ! हाम्रो पार्टी हाई हाई, कोरोना भाइरस बाईबाई ! आदि आदि । यतिले पनि नटेरे टायर पोल्नेछन् । टायरको धुवाँबाट निस्किने शक्तिले कोरोना दिग्भ्रमित भई टाप ठोक्नेछ ।

पत्रकार– टाप ठोकेन भने ?

प्याला पार्टी– हाम्रा भातृ र भगिनी संगठनका कर्मठ, अकबरी, आज्ञाकारी युवाहरूलाई जसरी आफ्ना मालिकका विरोधीको पुत्ला बनाउन र जलाउन सिकाइएको छ, ठीक त्यसैगरी कोरोनाको पुत्ला बनाउनेछन् र त्यसलाई पनि पोल्नेछन् । कोरोनाको विरुद्धमा बन्द, हड्ताल, चक्काजाम गर्नेछन् । भोक हड्ताल, जोक हड्ताल, नाङ्गो जुलुस, बाङ्गो जुलुस, रोगी जुलुस, ढोंगी जूलुस आदि–आदि निकाल्नेछन् । यति गरेपछि त विगतमा कस्ता कस्ता दाइरस, खाइरस र कमाइरसहरूको भाग त खोसिएको थियो भने त्यो जाबो भाइरस के हो र ? त्यसमाथि यो भाइरस विरुद्ध लड्न तिनलाई दुईचार प्याला ब्राण्डेड सोमरसको पनि व्यवस्था पहिले नै गरिसकिएको छ ।

पत्रकार – आम्मामामा ! भाइरस बिरुद्ध सोमरसकै पो व्यवस्था ! अनि कति व्यवस्था गर्नुभएको छ नि ?

प्याला पार्टी – धेरै त कहाँ पाएर गर्नु नि ! आफैंलाई पुग्दैन ।

पत्रकार– यति गर्दा पनि रोकिएन भने ?

लाभ पार्टी –तपाईंको देशका आराध्यदेव भगवान् श्री पशुपतिनाथको मन्दिरमा चौबीसै घण्टा कोरोना विरुद्धमा अखण्ड आरतीको व्यवस्था गरिएको छ । त्यस्तै, नित्य कोटीहोमको पनि व्यवस्था गरिएको छ । हे नाथ ! हामीबाट जे जे भूल भयो भयो, त्यो सबै माफ गरिदिनुस् । बरू हाम्रो जीउभरि किरा पार्दिनुस् । तर, कोरोना टार्दिनुस् भन्दै क्षमा पूजाको व्यवस्था गरिएको छ । शक्तिशाली शक्तिपीठहरूमा पञ्चबलीको भाकल गरिएको छ । अरू शक्तिपीठहरूमा निक्खुर कालो बोकाको भाकल गरिसकिएको छ । देशभरिका काला बोकाहरू सबै बुक भैसकेका छन् । सम्भभतः अब कालो बोकाको पनि अभाव हुन सक्ने सम्भावना छ । लावण्यभरिका अरू देवालयहरूमा नित्य पूजा अर्चना, लाखबत्ती प्रज्वलन, आरती, होम आदिको व्यवस्था गरिएको छ । एकाह, सप्ताह, नवाह पुराण त कति हो कति, हिसाब–किताब गरिसाध्य नै छैन । हरेक पुराणको उदघाटन विगतमा पुराण जलाएर र यसको उछित्तो काढेर प्रसिद्धि कमाएका तर अहिले पुराणमै समर्पित ठूल्ठूला सिद्ध पुरुषबाट गर्ने व्यवस्था गरिएको छ । पुराणवाचक पण्डित र यस्ता सिद्ध पुरुषलाई ओसार–पसार गर्न चौबीसै घण्टा पुष्पक विमान स्ट्याण्डबाई राखिएको छ ।

पत्रकार– यत्रो प्रयास गर्दा पनि कोरोनाको संक्रमण भई छाड्यो भने ?

लाभ पार्टी– यत्रो प्रयास गर्दा पनि भयो भने भयो त ! कोरोना भाइरस भन्दा खतरनाक करप्सन भाइरस पचाइसकेका लावण्यबासीलाई कोरोनाको के चिन्ता हँ ? यहाँ कोरोना आउला र कुस्त कमाउँला भन्ने मान्छेहरू त छन् । अनि कुस्त कमाएपछि ती हाम्रै शरणमा आउँछन् । शरणमा आउनेलाई मरण नगर्ने लावण्य देशका पार्टीहरूको साझा नीति नै हो ।

पत्रकार– अनि करप्सन भाइरस विरुद्ध पनि यस्तै तरिकाले लड्ने हो ?’

प्याला पार्टी– पचाइसकेको भाइरससँग किन लडने हँ ? जतिसुकै र जस्तोसुकै करप्सन भाइरस आए पनि लावण्यजनलाई बालै छैन अब । कतिपय लावन्यवासी त त्यस्ता भाइरस आए फूलमालासहित स्वागत पो गर्छन् । तिनको खातिरदारीमा गदगद पो हुन्छन् । गर्व पो गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment