Comments Add Comment

भेडेटारको ‘जिपलाइन’ सञ्चालनमा

मुख्यमन्त्री र मेयर डराए, उपमेयर सरर

२५ फागुन, विराटनगर । भेडेटारमा साहासिक खेल जिपलाइन सुरु भएको छ । करिब दुई वर्षको अध्ययनपछि ३ करोड लागतमा निर्माण भएको जिपलाइन सुरु भएको हो ।
प्रदेश १ को पहिलो जिपलाइनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

धरान उपमहानगरपालिका–४, भेडेटारबाट देवीथानसम्म ६५० मिटर लम्बाइको जिपलाइन निर्माण गरिएको हो । सो दूरी पार गर्न जिपलाइनलाई ४५ सेकेण्ड लाग्ने वल्र्डवाइड ग्रुप नेपालका केदारबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार, भेडेटारमा क्लासिक, सुपरम्यान र कपल (जोडी) गरी तीन तरिकाबाट खेलाइने छ । क्लासिक एक्लै झुण्डिएर र सुपरम्यानमा सुतेर यात्रा गर्नुपर्ने हुन्छ ।

जिपलाइनमा चढ्न मानेनन् मुख्यमन्त्री

आयोजकले जिपलाइन उद्घाटनपछि मुख्यमन्त्री शेरधन राईलाई जिपलाइनमा चढ्न आग्रह गरे । कार्यक्रम देवीथानमा राखिएको थियो । भेडेटारचोकमा रिबन काटेर स्टेशनको उद्घाटन गरेपछि आयोजकले मुख्यमन्त्रीलाई चढ्न आग्रह गरेका थिए । तर उनले जिपलाइनमा चढ्न नसक्ने बताए । उनीसँगै रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पनि नचढ्ने निर्णय गरे ।

मेयर राईले आफ्नो र मुख्यमन्त्रीको प्रतिनिधित्व धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले जिपलाइन खेल्ने बताए । उपमेयर जिपलाइनबाट भेडेटारदेखि देवीथान कार्यक्रम स्थलसम्म पुगिन् । मुख्यमन्त्री र मेयर राई गाडीमा चढेर कार्यक्रम स्थलसम्म पुगे । जिपलाइनमा यात्रा गर्दा रमाइलो लागेको सुवेदीले बताइन् ।

जिपलाइनको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्ने बताएका छन् । भेडेटारमा निर्माण भएसँगै नेपालमा जिपलाइनको संख्या ४ पुगेको छ । यस अघि धुलिखेल, मकवानपुरगढी र पोखरामा जिपलाइन सञ्चालित थिए ।

भेडेटारमा स्काई वाक, केवलकारसहितका प्रोजेक्ट पनि सञ्चालनमा आउने बताउँदै उनले जिपलाइनले वाह्य पर्यटकलाई पनि आर्कषण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment