Comments Add Comment
प्रधानमन्त्री ओलीको ३ घोषणा :

हवाई मार्गबाट नेपाल प्रवेशसँगै लामो दुरीको यात्रा र अत्यावश्यक बाहेकका सेवा बन्द

७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गरेका छन् र, हवाई मार्गबाट नेपाल प्रवेशसँगै देशभित्र लामो दुरीको यात्रा र अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९)को जोखिम बढेसँगै सरकारले आवत जावतमा कडाई गर्दै आएको छ । त्यसक्रममा प्रधानमन्त्री ओलीले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरेको बताए ।

यसैगरी सीमा नाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने उनले बताए ।

चैत १० गतेदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको प्रधानमन्त्रीले बताए । ‘कोरोना भाइरसको महामारीको अवस्थालाई हेरी यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

Share :

भारती प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा घोषित कोभिड १९ सार्क आपतकालीन कोषमा नेपालले १० करोड रुपैयाा दिने प्रधानमन्त्रीको घोषणा । उनले भनेका छन्, 'यस महामारीसंग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तर्राष्ट्रिय समुदायसंग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिवद्ध छौं ।'

Share :

प्रधानमन्त्रीले असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने बताएका छन् ।

उनले भनेका छन्, यो समस्याको समाधानमा सिंगो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको छ, जुन खुशीको कुरा हो । यस अभियानमा सरकारका सबै अङ्गहरु, नागरिक समाजका सबै संघ/संस्थाहरु र आमसञ्चार जगत समेत सबैलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न म हार्दिक आव्हान गर्दछु ।'

Share :

स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखि केही क्षेत्रहरुमा राेक 

  • नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
  • सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।
  • आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।
  • मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
  • विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।
  • महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।
Share :

कोरोनाले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ । अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने नै छ । उद्यमी तथा श्रमजीवी- श्रमको संसारका सबै सहयात्रीहरुमा यस महामारीले सिर्जना गर्नसक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ र त्यसलाई संबोधन गर्ने नै छ ।

Share :

निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्नेे, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता अपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि हुनेछ ।

Share :

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ । तर, सबै सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ ।

Share :

संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

Share :

संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

Share :

प्रधानमन्त्रीका आग्रह
· सरसफाईमा उचित ध्यान दिनुहोस्- साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।
· भीडभाडबाट टाढै रहनु होस्,
· सकेसम्म घरमै बस्नुहोस्,
· अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,
· हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्,
· चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्,
· धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र
· सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।

Share :

महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आˆना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरूरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यस बाहेक अर्को विकल्प पनि छैन ।

Share :

भिडियो लाइभ

देशवासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीकाे सम्बाेधन

देशवासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीकाे सम्बाेधन | onlinekhabar.cmom

Posted by OnlineKhabar on Friday, 20 March 2020

Share :

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा देशबासीका नाममा सम्बोधन गरेका छन् । उनले बालुवाटारबाटै सम्बोधन गरेका हुन् ।

विश्वका अधिकांश मुलुकहरू कोरोना संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं ।

Share :
  • चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक
  • चैत १० गतेदेखि लामो दूरीका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक
  • चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द