Comments Add Comment
अर्थतन्त्रमा कोरोनाको असर :

‘आत्तिनु पर्दैन, अप्ठ्यारो परे प्याकेज ल्याउछौं’

कोरोना भाइरसबाट जोगिन सरकारले स्कूल, कलेज, फिल्म हलहरु बन्द गर्नुका साथै अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कनसमेत आग्रह गरेको छ । यसको असर मुलुकको समग्र अर्थतन्त्रमा पर्न थालेको छ ।

समस्यामा परेको भन्दै सहुलियत माग्न थालेका निजी क्षेत्र समस्या परे भोलि बैंकिङ क्षेत्र पनि डुब्नसक्छ । बुधबारबाट कायममुकायम गभर्नरको जिम्मेवारी पाएका चिन्तामणि शिवाकोटी अर्थतन्त्रमा गम्भीर समस्या परे राष्ट्र बैंकले केही सहुलियतका प्याकेज ल्याउने बताउँछन् ।

अहिले भने त्यो अवस्था नरहेको उनको दाबी छ । महाभूकम्पले थला पारेका बेला २ प्रतिशत ब्याजमा ऋण दिने निर्णय गरेको राष्ट्र बैंकले कोरोनाबाट अर्थतन्त्रलाई जोगाउन के गर्न सक्छ त ? प्रस्तुत छ, कोरोना संक्रमणको सन्दर्भमा अनलाइनखबरले कामु गभर्नर शिवाकोटीसँग गरेको कुराकानीको सम्पादित अंशः

कोरोना भाइरसको बढ्दो संक्रमणसंगै विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने पक्का भइसक्यो । केन्द्रीय बैंकको नजरमा अहिले नेपालको अर्थतन्त्रको अवस्था कस्तो छ ?

विश्व अर्थतन्त्रमा कोरोना भाइरसको धक्का परिसकेको छ । नेपालमा अर्थतन्त्रका कतिपय पक्षमा चुनौति आएको छ । हामीले केहि वर्षयता मूल्य वृद्धि नियन्त्रण गरिरहेका थियौं । यो वर्ष ६ प्रतिशतमा कायम गर्ने लक्ष्य राखेका थियौं, जुन अहिले बढेर ६ दशमलव ८७ प्रतिशत पुगेको छ ।

अन्तर्राष्ट्रिय स्तरमै कोरोना प्रकोपका कारण हाम्रोमा असर गरेको छ । कोरोनाकै कारण आगामी दिनमा मूल्य वृद्धि अझै बढ्ने देखिएको छ । भारतमा मूल्य वृद्धि भएको असर नेपालमा असर परेको छ ।

अर्को महत्वपूर्ण कुरा, चालु आर्थिक वर्षको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने हो कि भन्ने पनि देखिएको छ । यसको कारण पनि कोरोना भाइरस नै हो । आर्थिक वृद्धिमा कोरोनाको असर कति पर्छ भनेर हामी अध्ययन पनि गरिरहेको छ ।

समग्रमा, विश्व स्तरमै आएको कोरोना संकटको असर नेपालको अर्थतन्त्रमा पनि पर्दैछ । अब रेमिट्यान्स घट्ने पक्का भयो । कोरोना कै कारण वैदेशिक रोजगारी रोकिएपछि रेमिट्यान्स आप्रवाहमा असर पर्छ नै ।

अहिले हामीले वित्तीय पहुँचमा ठुला फड्को मारेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या नौ हजार ४०० नाघेका छन् । बैंक खाता दुई करोड ९८ लाख पुगिसकेको छ । १५ लाख त कर्जा खाता छन् । मोवाइल बैंकिङमा ९८ लाख जोडिएका छन् । इन्टरनेट बैंकिङका ग्राहक साढे नौ लाख पुगेका छन् । ठूला कारोबार तुरुन्त हुने व्यवस्था कार्यान्वयनमा छ ।

७५३ स्थानीय तहमध्ये ७४५ वटामा वाणिज्य बैंकहरुको शाखा पुगिसकेका छन् । तीन हजार १०० जनालाई एउटा बैंकले सेवा दिन थालेको अवस्था छ । वैदेशिक व्यापारमा आयात कम हुँदै गएको छ ।

प्रविधि प्रयोग धेरै सुरक्षित भइसकेको छ । नक्कली चेकबाट रकम झिक्ने घटनाहरुबाट पाठ सिकेका छौं । कसैले बदमासी गरिहाले तुरुन्त समातिने अवस्था बनेको छ । प्रविधिमा हामी बलियो बन्दै गएका छौं । उद्यमशिल कर्जाको व्यवस्थाले स्वदेशमै केही गर्छु भन्नेहरुको संख्या बढाएको छ ।

गत वर्षदेखि ब्याजदरमा संकुचन ल्याएका छौं । निक्षेपको ब्याजदर बढ्दै र कर्जा ब्याजदर घट्दै गएको छ । हामी व्याजदर स्थायित्वतर्फ अघि बढेका छौं । अहिले हाम्रो विदेशी विनिमय सञ्चिति इतिहासमै सबभन्दा धेरै १० अर्ब ८६ करोड अमेरिकी डलर पुगेको छ । साढे आठ महिनाको लागि वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था छ ।

बैंकिङ क्षेत्रमा कोरोनाको असर परेको छैन भन्न खोज्नुभएको हो ?

हाम्रो अर्थतन्त्र गतिशील भइरहेको बेला कोरोना भाइरस चुनौतीको रुपमा देखा परेको छ । बैंकिङ क्षेत्रमा यसको असर पर्ने भइहाल्यो । बैंकबाट कर्जा लिएर उद्योग, होटल चलाएको छ । अहिले खास गरेर होटलको व्यवसाय संकटमा छ । त्यसको असर बैंकिङ क्षेत्रमा पर्ने भइहाल्यो ।

होटलहरुले आफ्ना कर्मचारीहरुलाई तलबसमेत भुक्तान गर्न नसक्ने अवस्था आएपछि बैंकको ऋण कसरी तिर्छ ? त्यही कारण मेरो ब्याजलाई पुँजी बनाइदेउ, ऋण तिर्ने समयावधी थपिदेउँ भन्ने जस्ता कुराहरु आएका छन् । समस्या परेपछि यो समस्यामा यस्तो सहजता देऊ भन्ने नै भए ।

यस्तो अवस्थामा समयमा साँवा–ब्याज लिन नसकेपछि बैंकहरुको आम्दानी घट्छ । मुलुकको अर्थतन्त्रमा यस्तो असर गरिसक्यो ।

रेमिट्यान्स त ठप्पै हुने खतरा देखियो नि होइन ?

वैदेशिक रोजगारी ठप्प नै भइसक्यो । अब यसले कहिलेसम्म असर गर्छ भन्ने कुरा प्रमुख हो । तत्कालै समाधान भइहाले ठिकै छ नत्र रेमिट्यान्समा ठूलै असर पर्छ ।

ठूलो संख्यामा हाम्रा युवा जाने कोरिया ‘लक डाउन’ नै भयो । अन्य देशहरु पनि ‘लक डाउन’मा गए । जाने त रोकिए, रोकिए त्यहाँ भएकाहरुलाई पनि फर्काउनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

फेरि, त्यहीँ रहेकाहरुले पनि अब पहिलेको अनुपातमा पैसा पठाउन सक्दैनन् । कोरोना संक्रमण व्यापक हुँदै जादा ती देशमा पनि मूल्य वृद्धि हुन्छ । त्यहाँ रहेका नेपालीहरुको आम्दानी घट्छ, खर्च बढ्छ । त्यसले रेमिट्यान्स आप्रवाहमा सिधा असर गर्छ ।

रेमिट्यान्स कम आएपछि शिक्षामा लगानी घट्छ । परिवारहरुको खर्च गर्ने प्रवृत्तिमा कमी आउँछ । वैदेशिक रोजगारीमा निर्भर परिवारहरुले छोराछोरीको स्कूल फी तिर्न नसक्ने अवस्था आउनसक्छ ।

अहिलेकै अवस्थाले अर्थतन्त्रमा धेरै असर गरिसकेको छ । यो असर कहिलेसम्म रहन्छ, ठेगान छैन । कोरोनाको त्रास जति लामो रह्यो, अर्थतन्त्रमा त्यती असर पर्छ ।

कोरोनाको कारण पर्यटन आम्दानी घट्ने भइहाल्यो । भोलि नेपालले पाईरहेको वैदेशिक सहयोग पनि कटौति हुनसक्छ । विदेशी कामदार राखेर अगाडी बढाइएका परियोजनाहरु रोकिन सक्छ । हाम्रा युवा पनि नयाँ रोजगारीमा जान सक्दैछन् ।

संक्रमण भित्रियो भने त बैंकिङ क्षेत्र थला नै पर्ने भयो नि हैन ?

कोरोना नभित्रिए पनि असर त गरि नै सक्यो । होटल क्षेत्र डुबि नै सक्यो । एयरलाइन्सको अवस्था उस्तै छ । संक्रमण नै भित्रियो भने अवस्था अझ गम्भीर बन्छ । सरसामानको अभाव हुन्छ, अस्पतालहरु बिरामीले भरिन्छन् ।

हामीसँग अस्पताल र औसधी पर्याप्त नहोला । ठूलो संकट पर्‍यो भने अन्तर्राष्ट्रिय सहयोग लिनु पर्ने हुन्छ । अन्तर्राष्ट्रिय जगतमै समस्या भयो भने कहाँबाट सहयोग लिने ? कसरी समाधान खोज्ने ?

हामी आगामी १४ गते राष्ट्र बैंकको वार्षिकोत्सव मनाउदैछौं । सधैजस्तो भए यतिबेला फुटबल, ब्याडमिन्टनलगायतका खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेका हुने थियौं । अहिले आइलागेको समस्यालाई कसरी किनारा लगाउने भनेर छलफल गरिरहेका छौं । हामी समस्यालाई हल गर्न सजग छौं ।

निजी क्षेत्रले त सहुलियत माग्न शुरु गरिसकेका छन् नि ?

नेपालमा यस्तै हो । साँवा नै तिर्न नपरे हुन्थ्यो भन्ने कुरा पनि आउला । कोरोना आयो, व्याज मिनाहा हुन्छ कि भन्ने पनि हुन सक्छ । तर त्यो सजिलो छैन, किनभने यो मिनाहा गर्ने विषय नै होइन ।

तत्काल ब्याज तिर्न समस्या परेका क्षेत्रहरुमा केही साथ दिनेसम्म हुनसक्छ । आम्दानी हुँदै नभएको र ब्याज तिर्नै नसकिने अवस्था महशुस भयो भने ब्याजलाई पुँजीकरण गर्न सकिन्छ ।

पुँजीकरण भएपछि आज नतिरे पनि भोलि त तिर्नु पर्छ । समस्या वास्तवमै गम्भीर भएको ठाउमा समाधान गर्न हामी तयारै छौं । यही हो मौका भनेर सुविधा माग्ने हो भने त गाह्रो पर्छ ।

भनेपछि वास्तवमै समस्या पर्‍यो भने राष्ट्र बैंकले सहुलियत प्याकेज ल्याउछ ?

भोलि साच्चिकै समस्या आयो, यो गर्नुपर्छ भन्ने भयो भने आउँछ । तर अर्थतन्त्र डामाडोल भइहाल्छ भनेर निराश हुनु पर्दैन । जस्तो, २०७२ सालमा महाभूकम्पले ठूलो क्षति गर्यो, हामीले सम्हाल्यौं । अहिले त केहि भएकै छैन । एक जनामा देखिएको संक्रमण उपचार भइसक्यो । आत्तिइ हाल्नु पर्ने अवस्था छैन ।

तर, जनता आत्तिएका छन्, सरकार ‘लक डाउन’ गर्दैछ नि ?

आत्तिन थाले र त आत्तिनु हुँदैन भनेको । यसको मतलव सुरक्षा सतर्कता अपनाउनु पर्दैन भनेको होइन । ‘लक डाउन’ गर्नु भनेको पूर्व सावधानी अपनाउनु हो । ठुलो समस्याले अर्थतन्त्रमा आक्रमण गरिहाल्छ । यस्तो बेला सावधानी अपनाएर परिस्थितिसँग जुध्ने हो ।

यो बेला बैंकिङ क्षेत्रले अपनाउनु पर्ने सावधानी के–के हुन सक्छन् ?

राष्ट्र बैंकमा हामीले कार्यालय प्रवेश गर्नु अघि ह्याण्ड स्यानिटाइजर र मास्क अनिवार्य गर्‍यो । केही दिनमा गेटमै ज्वरो नाप्ने मेसिन राख्दैछौं । ज्वरो आएकालाई कार्यालयभित्र प्रवेश दिदैनौं । कार्डबाट हाजिर गर्ने व्यवस्था मिलाएका छौं । बैंकहरुले पनि यस्तै गर्न पर्छ । त्यस बाहेक भ्रमण र सभा–समारोहहरु गर्नु भएन ।

सरकारले फिल्म हल, जिमखाना बन्द गरिसक्यो । भोलि बैंक पनि बन्द गर्नु पर्ने अवस्था आउने हो कि ?

बैंक बन्द गर्ने भन्ने कुरै हुँदैन ।

तस्वीरः आर्यन धिमाल/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमा आँचल

Advertisment