Comments Add Comment

जंगलको छेउमा सेनाले बनायो क्वारेन्टाइनस्थल

६ चैत, टाँडी । मोरङको टाँडीमा पहिलो प्रदेश स्तरीय क्वारेन्टाइन स्थल तयार भएको छ । नेपाली सेनाले टाँडीमा दुई सय जना अट्न सक्ने क्वारेन्टाइन स्थल निर्माण गरेको हो ।

प्रदेश सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंका टप्पुमा १ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाउने घोषणा गरेको थियो । त्यसअनुसार पहिलो चरणमा २ सय क्षमताको क्वारेन्टाइनस्थल तयार पारिएको नेपाली सेनाको २ नंम्वर वाहिनी धनकुटाका सहायक रथी यमप्रसाद ढकालले जानकारी दिए ।

नेपाली सेनाले आफूसँग रहेको टेण्ट, वेडलगायतका सामग्री प्रयोग गरी एकै दिनमा क्वारेन्टाइनस्थल तयार पारिएको जनाएको छ। सहायक रथी ढकालका अनुसार टाँडीस्थित नेपाली सेनाको सूर्यदल गणको परिसरभित्र करिव ४ विघा क्षेत्रफलमा यो क्वारेन्टाइनस्थल निर्माण भएको छ ।

उत्तरी मोरङको टाँडीस्थित नेपाली सेनाको सूर्यदल गणको फराकिलो मैदान (चाैरी) मा क्वारेन्टाइन स्थल बनाइएको हो । सेना समायाेजन हुनुअघि माओवादीको सैन्य शिविर रहेको यो स्थान जंगलको नजिकै रहेको छ । तर, मानववस्ती पनि धेरै टाढा छैन ।

आवश्यक परेको खण्डमा टाँडीको सोही स्थानमा थप २ सय र सुनसरीको सप्तकोशीस्थित श्रीलंका टप्पुमा २ सय क्षमताका क्वारेन्टाइनस्थल बनाउने सहायक रथी ढकालले बताए ।

‘कोरोना संक्रमित आशंका गरिएका कुनै पनि व्यक्ति राख्न क्वारेन्टाइन स्थलमा तयारी अवस्थामा छ,’ सहायक रथी ढकालले भने, ‘उपचारमा खटिने टिम पनि तयार छ । क्वारेन्टाइनस्थलका लागि अन्य भौतिक सामग्री पनि छन् ।’

नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरका सेनानी नारायण सुवेदीका अनुसार क्वारेन्टाइनस्थलमा प्रत्येक  टेन्टभित्र दुई/ दुईवटा बेड छन् । क्याम्पभित्र दुई मिटरको फरकमा वेड राखिएको छ । त्यसैगरी मोवाइल चार्ज, बत्ती, पंखालगायतका आवश्यक सामाग्री पनि छुट्टा/छुट्टै प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

 

सेनानी सुवेदीका अनुसार हाल २५ वटा शौचालय र बाथरुम निर्माण गरिएका छन् । प्रत्येकमा चारजनाको दरले शौच जाने र नुहाउने सकिने छ । खानेपानी पनि सबैका लागि अलग–अलग व्यवस्था छ ।

नेपाली सेनाले तयार पारेको चिकित्सकको टोली कोरोना आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण र उपचारमा परिचालन हुने पूर्वी पृतना सैनिक अस्पतालकी सेनानी डा. सरिता केसीले बताइन् ।

क्वारेन्टाइन स्थलमा खटिने दक्ष चिकित्सकको अभाव भएकाले प्रदेश सरकारसँग समन्यव गरिने उनले बताइन् ।

डा.  केसीले भनिन्, ‘क्वारेन्टाइनस्थलमा परिचालन हुन आवश्यक पर्ने उपकरण साथै चिकित्सकहरुको लागि चाहिले आवश्यक बस्तु प्रदेश सरकाले तत्काल प्रदान गर्नुपर्छ ।’

कोरोना संक्रमण भएको आशंका गरिएका व्यक्तिहरुलाई क्वारेन्टाइनस्थलसम्म ल्याउनका लागि दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । यस्तै पूर्वका ६ वटा अस्पतालमा गरी २८ वटा आइसोलेसन बेड तयार परिएको छ । कोसी, वीपी, नोभेल, विराट, मेची र बीएण्डसी अस्पतालमा आइसोलेसन व्यवस्था गरिएको हो ।

प्रदेश १ को भारतसँग आवतजावत हुने नाका काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरको रानीमा स्वास्थ्य जाँचका लागि ‘हेल्थ डेस्क’ स्थापना गरेको छ ।

हेल्थ डेस्कमा थप स्वास्थ्यकर्मी व्यवस्था गर्न संघीय सरकारसँग माग गरिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment