Comments Add Comment

सरकार लक डाउनतर्फ जाँदै छ ? प्रधानमन्त्रीलाई भेटेपछि ईश्वर पोखरेलले बोलाए बैठक

७ चैत,काठमाडौं । कोरोना संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय लगाइरहेको सरकारले थप जोखिम नमोल्ने नीति लिएको छ । मुुलुकलाई थप सुरक्षित गर्ने निर्णय लिने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले आजै साँझ उच्चस्तरीय बैठक बोलाएका छन् ।

नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले  शुक्रबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले संक्रमणबाट मुलुकलाई जोगाउने सन्दर्भमा कुनै कमजोरी हुन नदिन पोखरेललाई निर्देशन दिएका छन् । कोरोनाविरुद्धको लडाइमा मुलुकको नेतृत्वको गरिरहेका उपप्रधानमन्त्री पोखरेलले शुक्रबार साँझ उच्चस्तरीय समन्वय समितिको बैठक राखेर थप निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

बुधबारको बैठकबाट एसईई स्थगनलगायतका महत्वपूर्ण निर्णय लिएका पोखरेलले विभिन्न मन्त्रालय तथा निकायहरुबाट निर्णय कार्यन्वयनको अनुगमन रिपोर्ट समेत लिइरहेका छन् । भारतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही समयका लागि सबै सीमानाका बन्द गर्नेबारे छलफल गरिरहेका छन् ।

विमानस्थल र सबै सीमानाका बन्द गरेर बाहृय आवागमन रोक्न सबैतिरबाट सुझाव आएपछि सरकार पूर्ण रुपमा मुलुकलाई लक डाउन गर्ने दिशामा जान लागेको उच्च स्रोतले जनाएको छ । त्यस्तै सर्वसाधारणको भिडभाड र मास मोबिलाइजेशन रोक्न अत्यावश्यक सेवा बाहेकका कार्यालय र सार्वजनिक यातायातहरु बन्द गर्नेबारे पनि छलफल भइरहेको छ ।

जनतालाई घरबाट बाहिर निस्कन नपर्ने अवस्था सिर्जना गरेर मुलुकलाई लक डाउन गर्नेबारेमा छलफल भइरहेको स्रोतले जनाएको छ । उच्चस्तरीय बैठकपछि सरकारले थप कदम उठाउने र मुलुकलाई लक डाउनतर्फ लगेर सुरक्षत राख्नेबारे प्रधानमन्त्रीसँग परामर्श भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment