+
+
Shares

कोरोनाको प्रभाव डलरमा– नेपाली रुपैयाँ इतिहासकै कमजोर

रोयल आचार्य रोयल आचार्य
२०७६ चैत ७ गते १५:३६

७ चैत, काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्चविन्दुमा पुगेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय २० रुपैयाँ २८ पैसा बिक्रीदर तोकेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो ।

अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैयाँ भने इतिहासकै कमजोर बनेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।

एक वर्षको अवधिमा नेपाली अमेरिकी डलरबाट १० रुपैयाँभन्दा धेरैले बढेको छ । आजभन्दा ठ्याक्कै एक वर्ष अघि २० मार्च २०१९ मा एक अमेरिकी डलर खरिदका लागि ११० रुपैयाँ ६६ पैसामात्रै तिर्नु पर्थो । अहिले भाउँ बढेर १२० रुपैयाँ माथि पुगेको हो ।

कोरोना भाइरसको असर यतिबेला विश्व अर्थतन्त्रमा नै असर परेको छ । हालै एशियाली विकास बैंकले सार्वजनिक गरेको रिपोर्टले कोरोनाका कारण विश्व अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा ०.४ प्रतिशतसम्म असर पार्ने देखाएको छ । कोरोनाले ३ खर्ब ४७ अर्ब डलरसम्म विश्व अर्थतन्त्रमा असर पार्ने प्रतिवेदनमा उल्लेख छ ।

जीडीपमा असर पर्ने त पक्का छदैछ, के अहिले डलर महंगिदै जानुका कारण पनि कोरोना नै हो त ? नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट कच्चा पेट्रोलियम पदार्थको माग कम हुँदाको असर अमेरिकी डलरमा परेको बताउछन् ।

पेट्रलियम पदार्थको पदार्थको माग कम भएसँगै अहिले मूल्य पनि घटेको छ । यसको कारण कोरोना नै भएको डा. भट्टले जानकारी दिए । कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएसँगै यस क्षेत्रका लगानीकर्ताहरुले डलरमा लगानी गर्न शुरु गरेको उनले बताए ।

लगानीकर्ताले डलरलाई विस्वास गरेका कारण वलियो भएको उनले बताए । ‘कोरोना भाइरसका कारण प्रोजेक्टहरु बन्द हुँदा पेट्रोलको माग घट्यो, माग घटेपछि मूल्य घट्ने भइहाल्यो’ उनले भने, ‘जसका कारण लगानीकर्ताहरुले जाेखिम कम हुने भन्दै डलरमा लगानी गरे, यसले डलर बलियो बन्दैछ ।’

लगानीकर्ताहरुले पेट्रोलियममा भन्दा धेरै डलरमै लगानी सुरक्षित हुने देखेको उनले बताए । पेट्रोलियमको तुलनामा अमेरिकी अर्थतन्त्रप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको कन्फिडेन्स बढेको उनको बुझाई छ ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?