Comments Add Comment

निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई मृत्युदण्ड

७ चैत, काठमाडौं । बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ ।

सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो ।

यसअघि अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो ।

के हो निर्भया प्रकरण ?

निर्भया, पीडितको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले जुराएको नाम हो । निर्भयामाथि राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्बर २०१२ राति सामूहिक बलात्कार भएको अदालतले ठहर गरेको छ ।

राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् । अदालतले दोषी ठहर गरेका मध्ये एक जनालाई अपराध भएका बेला बालिग नभएको भन्दै सुधार गृहमा पठाइएको छ ।

६ जनाको आक्रमणमा परेकी निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारको क्रममा सिंगापुरमा ज्यान गएको थियो । मेडिकल साइन्स पढीरहेकी निर्भयामाथिको अमानवीय घट्नापछि भारतमा यसको चर्को विरोध भयो ।

यो घट्नापछि महिला हिंसाविरुद्धको कानूनको समिक्षा गर्न व्यापक दबाव बढ्यो । त्यसपछि भारतले जस्टिस वर्मा समिति गठन गरेर त्यसैको सिफारिसको आधारमा २०१३ मा बलात्कार जस्तो अपराधमा मृत्यदण्डको सजायको व्यवस्था गरेको थियो ।

२०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गरेका थिए । फाँसी नदिन अभियुक्तले गरेको अन्तिम अपिललाई अदालतले खारेज गरेसँगै मृत्युदण्ड दिइएको हो ।

न्याय पाइयो : परिवार

सात वर्ष, तीन महिना चार दिनपछि आफूहरुले न्याय पाएको भन्दै निर्भयाका अभिभावकले खुसी व्यक्त गरेका छन् ।

बलात्कारीलाई फाँसी दिइएकोमा भारतमा खुसीयाली छाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । निर्भयाकी आमा आशा देवीले भनेकी छन्, ‘आज हामीले न्याय पाएका छौं । मैले मेरी छोरीको फोटो छातीमा टाँसेर तिमीले न्याय पायौ भनेँ । छोरीलाई बचाउन नसकेकोमा मलाई दुःख छ तर आमाको धर्म पूरा गर्न पाएकोमा गर्व छ ।’

न्यायको यो लडाइँमा साथ दिएको भन्दै उनले सरकार, न्यायपालिका, पत्रकारलगायत सबैलाई धन्यवाद दिइन् । आजको दिन देशका छोरीहरुको दिन हो भन्दै उनले भनिन्, ‘मेरी छोरी ज्युँदै हुन्थी भने म डाक्टरकी आमा भनेर चिनिन्थें । आज निर्भयाकी आमा भनेर चिनिएकी छु । अब भारतका महिलाहरु अधिक सुरक्षित होउन् भनेर हामी हाम्रो संघर्ष जारी राख्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमा आँचल

Advertisment