
२१ वैशाख, काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टा लामो पत्रकार सम्मेलन गरेर युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको रेकर्ड तोडेका छन् ।
मुइज्जुले कार्यालयले जनाएअनुसार स्थानीय समयअनुसार शनिबार बिहान १०ः०० बजे सुरू भएको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेको थियो ।
‘राष्ट्रपति मुइज्जुले पत्रकारका प्रश्नको निरन्तर जवाफ दिँदा पत्रकार सम्मेलन मध्यरातसम्म लम्बिएको थियो,’ कार्यालयले विज्ञप्तिमा भनेको छ, ‘यो उहाँले राष्ट्रपतिका रूपमा बनाएको नयाँ विश्व कीर्तिमान भएको छ ।’
सन् २०१९ को अक्टोबरमा १४ घण्टा लामो पत्रकार सम्मेलन गरेर जेलेन्स्कीले रेकर्ड नाममा गराएका थिए । उनले बेलारुसका प्रभावशाली नेता अलेक्जेन्डर लुकासेन्कोको सात घण्टाभन्दा लामो रेकर्ड तोडेका थिए ।
माल्दिभ्स सरकारले मुइज्जुको विस्तारित सत्रलाई शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मनाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा उनले समाजमा प्रेसको महत्वपूर्ण भूमिकालाई स्वीकार गर्दै तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङको महत्वमा जोड दिएका थिए । लामो सत्रको दौडान मुइज्जुले पत्रकारमार्फत जनस्तरमा उठेका प्रश्नहरूको जवाफ पनि दिएका थिए ।
सन् २०२३ मा सत्तामा आएका मुइज्जुको नेतृत्वमा माल्दिभ्स रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले प्रकाशित गरेको सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा १८० देशमध्ये दुई स्थान माथि चढ्दै १०४औं स्थानमा पुग्न सफल भएको छ ।
करिब दुई दर्जन पत्रकारको उपस्थिति रहेको सम्मेलनभन्दा पहिले मुइज्जुले ‘पानीमुनि मन्त्रिपरिषद्को बैठक’ आयोजना गरेर अर्को विश्व रेकर्ड कायम गरेका थिए ।
माल्दिभ्स समुद्रको सतह बढाउन सक्ने ग्लोबल वार्मिङविरुद्धको लडाइँको अग्रपङ्क्तिमा छ ।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया 4