Comments Add Comment

विदेशमा कार्यरत नेपालीको प्रश्न : भिसा सकियो, अवैध भएर कसरी बस्ने ?

सरकार भन्छ- तोकेको दिनभन्दा अघि नेपाल नआउनुहोला

६ चैत, काठमाडौं । नुवाकोटका लोकेश मुडभरीले दुबईबाट काठमाडौं फर्किन चैत १५ को टिकट काटेका थिए । नेपाल सरकारले बुधबार खाडीसहित ५५ मुलुकबाट चैत ७ देखि ३० गतेसम्म कसैलाई आउन नदिने निर्णय गरेसँगै उनी दुबईमा फसेका छन् ।

उनको भिसा सकिनै लागेको छ । कम्पनीलाई समस्या बताउँदा यो तिम्रो समस्या हो भनेको’ मुडभरी बताउँछन् । ‘ओभर-स्टे भयो भने ठूलो जरिवाना तिर्नुपर्छ,’ उनले फोनमा अनलाईखबरसंग भने, ‘अब मेरो सुरक्षासहितको जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ कि पर्दैन ?’

अहिले बिभिन्न देशबाट घर फर्किन तयार नेपाली कामदारहरु यस्तै समस्यामा फसेका छन् । कम्पनीले सहयोग नगरेको अवस्थामा उनीहरु गम्भिर समस्यामा पर्नेछन् । अवैध भएर बस्दा उनीहरुले भोली ठुलो आकारको जरिवानासंगै कैद पनि भोग्नुपर्ने हुन सक्छ ।

दुबईमै कार्यरत गोरखाका शालिकराम कार्की नेपाल सरकारले आफुहरु जस्ता कामदारको सुरक्षाको लागि भिसाबारे विशेष निर्णय गराउन सम्बन्धित मुलुकसंग तत्काल कुटनीतिक प्रयास थाल्नुपर्ने बताउछन् । उनले भन्छन्, ‘ओभर-स्टे गरेर बस्न नसकिने अवस्थालाई सम्बोधन गर्न नसक्ने हो भने सरकारले तुरुन्तै क्वारेन्टाइनको व्यवस्था गरेर हामीलाई नेपाल लैजानुपर्छ ।’

त्यस्तै, दुबईबाट २७ मार्चमा घर फर्किन टिकट लिएका काठमाडौंका देव मोक्तानले शंकटको बेला आफ्नै सरकारको निर्णयका कारण थप शंकटमा परेको बताए । उनले भने, ‘सरकारले यो निर्णय खारेज गरेर सहज हुने निर्णय गरोस् ।’

यो पनि पढ्नुहोस कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध

जापानबाट नेपाल फर्किन लागेका चितवनका नारायण रिजाललाई सरकारले सतर्कताका लागि गरेको उडान रोक्ने निर्णय ठिकै लागेको छ । ‘योसंगै भिसा सकिनेहरुका लागि चीनबाट नेपाली विद्यार्थी ल्याए जसरी क्वारेन्टाइन र उद्दारको व्यवस्था पनि हुन पर्यो’, उनले भने ।

दुबईमा कार्यरत सल्यानका विकास थापाले चित्त दुखाउँदै समाजिक सञ्जालमा लेखेका छन्- देश रेटि््यान्सबाट चल्ने, नेता रेमिट्यान्सले पालिने, विदेशमा अप्ठेरोमा परेका नागरिकलाई उद्दार गर्नुको सट्टा उल्टै नेपाल आउनै नपाइने निर्णयले म जस्ता हजारौं नेपालीको मन रोएको छ । सरकार हामीप्रति जिम्मेवार हुन्थ्यो भने उद्दार गरेर उचित नियम कानून बनाएर क्वारेन्टाइनमा राख्दै घरसम्म पुर्याउँथ्यो, हामी त रेमिट्यान्सका गोटी मात्र रहेछौ ।’

त्यस्तै, दुबईमा कार्यरत झापाका विक्रम दाहाल क्षेत्रीले समाजिक सञ्जालमा लेखेका छन्- यताबाट कम्पनीले लखेट्ने, उता देश छिर्न नदिने । कस्तो सास्ती खेप्नु परेको हामी वैदेशिक रोजगरीबाट छुट्टीमा जान तायर भएर बसेकाले ? यता छुट्टी क्यान्सिल गर्छु भन्दा मिल्दैन भन्छ, कम्पनीले कस्तो बिजोग बनायो हामीलाई Û

बराइनमा कार्यरत चितवनका सुजन घिमिरेले लेखेका छन्- घन्टा, दिन, महिना, वर्ष गर्दै घर फर्किने समय आयो, जहाजको टिकट पनि तयार भयो । जब उडान हुने दिन नजिकियो सरकारले आफ्नै देश आउन निषेध गरिदियो । चीनसहितका मुलुकका नागरिकहरुलाई १४ दिनको होम र सेल्फ क्वारेन्टाइनमा भन्दै देश भित्र्याउँदैछ । आफ्ना नागरिकहरु प्रतिको उत्तरदायित्व भुलेकै हो त नेपाल सरकारले ?

सही निर्णय तर पहल पुगेन

नेपाल सरकारको यो निर्णयमा समर्थन गर्नेहरु पनि प्रशस्तै छन् । तर, अप्ठेरोमा परेका र आकस्मिक रुपमा आउन चाहानेहरुलाइ कुनै न कुनै किसिमबाट सम्बोधन गर्न उनीहरुको सुझाव छ ।

कुवेतमा रहेका भैरहवाका विशाल पुनले विदेशस्थित नेपालीहरुलाई अहिले घर फर्किन पाईन भनेर चित्त नदुखाउन आग्रह गरेको छन् । उनले लेखेका छन्- यत्तिका समय त बाहिर बसियो, अब कोरोना नियन्त्रण भएपछि मात्रै नेपाल र्फकन्छु । आफू एक व्यक्तिको कारणले अरु लाखौंलाई समस्या नपरोस् भन्ने सोच बनाउँदा राम्रो होला ।

मलेसियाबाट विष्णु अधिकारीको मत पनि त्यस्तै छ । राज्यले कुनै पनि समय अबस्थाको गम्भीरता र जनताको जीवन सुरक्षालाई मध्यनजर गर्दै मुलुकमा आपतकाल घोषणा गर्न सक्ने भएकाले सरकारी निर्णयको बिरोध गर्नुभन्दा पनि सहयोग गर्नु उत्तम हुने उनको भनाइ छ ।

‘इटालीले गरेको गल्ती र भोगिरहेको परिणामबाट पाठ सिकौं, जो जहाँ छौं, त्यहाँ सुरक्षित रहनु राम्रो हो,’ सामाजिक सञ्जालमा लेखेका छन्, ‘कागजी रुपमा समस्या भएकाहरुलाई कम्पनी, दूतावास र दुबै देशका सरकारले छलफल गरेर सहज गरिदिनुपर्छ ।’

के भन्छ सरकार ?

वैदेशिक रोजगार विभागमा महानिर्देशक कुमार दाहाल सरकारले तोकेको दिनभन्दा अघि नेपाल नआउन कामदारलाई आग्रह गर्छन् । कतिपय देशले त प्रस्थान अनुमति नै नदिएको भन्दै उनले नेपाल आउन नपाएर कामदारहरु ‘अवैधानिक’ हुने अवस्था आए सरकारले त्यहाँको सरकारसँग समस्या समाधानका लागि पहल गर्ने बताए ।

‘यस्तो समस्या विश्वब्यापी भइसक्यो, यहाँ पनि कतिपय देशका पर्यटक अवैध भएर बसेका छन्, तीनका हकमा सरकारले निर्णय गर्नैपर्छ,’ उनले भने, ‘हाम्रा कामदार पनि नेपाल आउन नपाएर अवैध भए भने त्यसलाई सहज गराउने गरी त्यहाँको सरकारसँग पहल गर्न परराष्ट्र मन्त्रालयलाई भन्छौं ।’

दाहालले समस्या भए दूतावासमा सम्पर्क गर्न कामदारहरुलाई आग्रह गरे । परिवारसँग नियमित सम्पर्कमा रहन र सम्बन्धित मुलुकले लागू गरेको नियम पालना गर्न उनको आग्रह छ ।

‘नआत्तिकईकन यो समस्यासँग सबै मिलेर जुध्नुपर्छ, यसमा विदेशमा रहनुभएका नेपालीको पनि भूमिका हुनुपर्छ’ उनले भने, ‘नेपालमा महामारी नआओस् भन्ने पवित्र उद्देश्यका साथ गरिएका निर्णयलाई सबैले पालना गरेर सहयोग गर्नुपर्छ, देशलाई ठूलो समस्यामा गर्ने अवस्थामा लैजान हुँदैन ।’

यो पनि पढ्नुस्–

सरकारले भन्यो – अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment