Comments Add Comment

सुदूरपश्चिमका दुई नाकाबाट १७ दिनमा ९५ हजार जना भित्रिए

शनिबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल फर्किनेको ताँती ।

९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशका दुई नाकाबाट १७ दिनमा ९५ हजार जना नेपाल भित्रिएका छन् ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६३ हजार १ सय ७६ र कैलालीको गौरीफन्टा नाकाबाट ३१ हजार ६ सय ५४ नेपाल भित्रिएको क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

कञ्चनपुरमा फागुन २३ गते देखि हेल्थ डेस्कको स्थापना गरिएको थियो भने कैलालीमा फागुन २२ गते देखि हेल्थ डेस्क स्थापना गरिएको हो ।

दुवै नाकामा स्वास्थ्य कर्मीले नेपाल आउने र जानेहरूको परीक्षण गरिरहेका छन् । शनिबार कञ्चनपुरको गड्डाचौकीमा नेपाल आउनेहरूको भीडका कारण स्वास्थ्य परीक्षणमा समस्या परेको थियो ।

शनिबार दिनभरिमा १५ हजार भन्दा बढी नेपाल भित्रिएको कञ्चनपुर क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

कैलालीको गौरीफन्टा नाकाबाट शनिबार मात्रै ५ हजार ४ सय ९५ नेपाल भित्रिएका छन् । गौरीफन्टा नाकाबाट मध्य रातमा समेत नेपाल आएको पाइएको छ ।

शनिबार राति १२ बजेपछि पनि नेपाल प्रवेश गर्ने देखिएका क्वारेन्टाइन कार्यालयले जनाएको छ । राति १२ बजे देखि आइतबार दिउँसो १२ बजे सम्म २ हजार २ सय ३२ जना नेपाल प्रवेश गरेको हेल्थ डेस्ककी भाग्यश्वरी खत्रीले बताइन् ।

‘केही दिनयता नेपाल आउनेहरुको संख्या ह्वात्तै बढेको छ’ उनले भनिन् ‘आजबाट भने संख्यामा कमी आएको छ ।’

शनिबार भीडभाड रहेको कैलाली कञ्चनपुरका दुवै सीमा नाका आइतबार भने सुनसान थियो । भारतमा कर्फ्यु लागेपछि नेपाल आउनेहरूको संख्यामा कमी आएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नेपाल भारत सीमा क्षेत्रमा बढी चहलपहल भएको भन्दै ११ गते देखि सीमा बन्द गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment