Comments Add Comment

गृहको निर्देशनपछि बल्खु र कोटेश्वरबाट मजदुर फर्काइए

१९ चैत, काठमाडौं । लकडाउनको उल्लंघन गरेर रातको समयमा उपत्यका छाड्ने क्रम बढेपछि सरकारले चेकजाँचमा कडाइ गरेको छ । गृह मन्त्रालयले मंगलबारदेखि चेकजाँचमा थप कडाइ गर्न निर्देशन दिएको छ ।

सरकारले लकडाउन घोषणा गरेपनि रातको समयमा ठूलो संख्यामा मजदुरले उपत्यका छाडिरहेको बारे सोमबार राति अनलाइनखबरमा भिडियोसहित रिपोर्ट प्रकाशित भएको थियो ।

मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका अनुसार सर्वसाधारणको आवतजावतले संक्रमणको जोखिम बढ्ने भएकाले पूर्ण नियन्त्रण गर्न निर्देशन दिइएको छ । ‘जो जहाँ हुनुहुन्छ, त्यहीँ बस्न भनेका छौं’, अधिकारीले अनलाइनखबरसँग भने ।

गृहको निर्देशनपछि गएराति बल्खुबाट ६० जनाभन्दा बढीलाई फर्काइएको ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख टेकप्रसाद राईले अनलाइनखबरलाई बताए । ‘हामीले सम्झाएर फर्काएका छौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राईले भने, ‘गाउँमा पनि पस्न दिँदैनन् । केहीगरी घर पुगिहाले पनि परिवार नै जोखिममा हुनसक्छन् भन्ने बुझाएका छौंं ।’

उनका अनुसार काठमाडौंमा खान नपाएर भोकै बस्नुपर्ने अवस्था भए प्रहरी कन्ट्रोल १०० मा फोन गर्न भनिएको छ । साथै, स्थानीय तहले पनि वडा कार्यालयमार्फत् राहत सहयोग वितरण गरिरहेको प्रहरीले मजदुरलाई बताएका छन् ।

महानगरीय प्रहरी प्रभाग, कोटेश्वरकी प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइबाले पनि कोटेश्वरबाट रातिको समयमा जान खोज्ने मजदुरलाई रोक लगाइएको अनलाइनखबरलाई बताइन् । उनले भनिन्, ‘हामीले संख्यात्मक विवरण त राखेका छैनौं । तर, थुप्रैलाई फर्काइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment