Comments Add Comment

दाम्पत्य जीवन : जब हुन्छ खटपट

हिजोआज शिक्षित युवतीहरु विवाह भएको २–४ वर्षपछि नै सम्बन्ध विच्छेद गर्न बाध्य हुन्छन् । आखिर किन सम्बन्ध विच्छेद गर्ने स्थिति आउँछ ?

श्रीमान्–श्रीमतीलाई एक–अर्काको व्यवहार मन नपर्नु सम्बन्ध विच्छेद हुने पहिलो कारण हो । दुबैमध्ये कुनै एकका घरका सदस्यहरुको हस्तक्षेप धेरै हुनु तथा उनीमाथि उनीहरुको अत्याधिक प्रभाव हुनु दोस्रो कारण हो ।

दुबै अथवा कुनै एकलाई स–साना कुराहरुमा रिस उठिरहनु ।

दुबैमा अहंकारको स्थिति उत्पन्न हुनु ।

राम्रो संस्कारको कमी हुनु ।

सम्बन्धलाई दिमागले तौलिनु ।

श्रीमान्  आफुले सोचेजस्तो नपाउनु ।

प्रायः युवक–युवतीहरु एक–अर्काको अनुहार र बाहिरी देखावटीप्रति आकर्षित हुन्छन् । तर विवाह भएपछि एक–अर्काको वास्तविक व्यवहार अगाडि आउन थालेपछि झगडाको शुरुवात हुन्छ ।

आजभोलि केही महिलाहरुको विवाहपछिको सम्बन्ध विच्छेद कमाई खाने भाँडो जस्तो पनि भएको छ ।

हिजोआजका महिला–पुरुषहरु प्रेम अरु नै कसैलाई गर्छन् र घरका सदस्यहरुको डरले विवाह भने कोहि अर्कैसंग गर्न पुग्छन् ।

सम्बन्ध विच्छेदबाट हुने हानी

पहिलो विवाहमा जस्तो श्रीमान्–श्रीमती पाइन्छ, सम्बन्ध विच्छेदपछि त्यस्तै जीवनसाथी पाइन्छ भन्ने छैन । केही न केही सम्झौता त गर्नु नै पर्छ ।

प्रायः हरेक व्यक्तिको पहिलो सम्बन्ध सोचविचार गरेर गाँसिएको हुन्छ । त्यसैले समाजमा त्यसको छुट्टै मान–प्रतिष्ठा हुन्छ । मानिसहरुले पनि राम्रो सम्बन्ध गाँसिएकोमा खुशी हुँदै वधाई दिन्छन् भने दोस्रो विवाहमा यी सबै कुरा नहुन पनि सक्दछ ।

दोस्रो पटकको साथी पहिलो जस्तो शिक्षित र धनी पनि नहुन सक्छ । दोस्रो विवाहमा महिला अथवा पुरुषमा तपाईंले केही न केही कमी पाउनु नै हुन्छ ।

सम्बन्ध टुट्दा धेरै दुःख पनि हुन्छ र यो कुरा त्यही व्यक्तिलाई मात्र थाहा हुन्छ, जसले यी सबै कुरा व्यहोरेको हुन्छ ।

जबसम्म तपाईंको अर्को विवाह हुँदैन, तबसम्म महिला तथा उनको अभिभावकलाई असुरक्षाको भावना उत्पन्न भैरहन्छ ।

सम्बन्ध विच्छेद समाधान होइन

आमाबुबाले समाजमा मानिसहरुसंग आँखा उठाएर हेर्न सक्दैनन् । अर्को विवाह पनि सफल अथवा राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी पनि हुँदैन । दोस्रो विवाहमा महिला अथवा पुरुषले नचाहँदा नचाहँदै पनि धेरै कुराहरु सहनु पर्छ । किनभने उनीहरुलाई अगाडिको जस्तो यो विवाह पनि असफल हुने हो कि भन्ने डर हुन्छ ।

पहिलो श्रीमान् अथवा श्रीमतीको सम्झनाले सधैं दुःख दिइरहन्छ ।

कुनै पनि सम्बन्ध विच्छेद भएको महिलालाई धेरै समयसम्म घरमा राख्दैनन् । उनको छिट्टो भन्दा छिट्टो विवाह गराउन चाहन्छन् । कहिलेकाहिं त महिला स्वंयलाई पनि आमाबुबाको घरमा आफु बोझ भएको महसुस हुन थाल्छ ।

सम्बन्ध विच्छेद भएपछि समाजमा एक्लै हुँदा महिलाले आफुलाई असुरक्षित पनि महसुस गर्न थाल्छिन् ।

सावधान

यदि सम्बन्ध विच्छेदका कारण यस्ता हानि–नोक्सानीहरु हुन्छन् भने सकेसम्म सम्बन्धलाई सम्हाल्ने कोशिश गर्नु पर्छ । यदि कुनै श्रीमान्ले श्रीमतीलाई कुटपिट गर्छन् तथा शंंका गर्छन् भने यी कुराहरुको कुनै समाधान हुँदैन । त्यसका लागि तपाईंले कुनै एनजिओ अथवा प्रहरीको सहयोग लिन सक्नु हुन्छ । त्यस्तो अवस्थामा सम्बन्ध विच्छेद गर्नु स्वभाविक हो तर हिजोआज धेरै सम्बन्ध विच्छेद अहंकार र मनमुटावका कारण भैरहेको देखिन्छ ।

विवाहभन्दा अघि युवा–युवतीलाई एक–अर्कासंग एक्लै भेट्न दिनु पर्छ । उनीहरुलाई एक–अर्कालाई बुझ्नका लागि पर्याप्त समय दिनु पर्छ ।

अभिभावकलाई आफ्नो सन्तानको कमी–कमजोरीको बारेमा थाहा हुन्छ । जस्तो धेरै रिस उठ्ने, सहने क्षमता कम हुने आदि । त्यस्तो अवस्थामा अभिभावकहरुले आफ्ना छोरा–छोरीसंग उनीहरुको बानी ब्यवहारप्रति जीवनसाथीले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरा सोध्नु पर्छ ।

सम्बन्धलाई दिमागले होन मनले जोड्ने कोशिश गर्नु पर्छ । हरेक युवा–यूवतीले एक–अर्कामा कहिं न कहिं  आफ्नो प्रेमी अथवा प्रेमिका पनि खोजिरहेका हुन्छन् ।

यदि तपाईंलाई भावि श्रीमान् अथवा श्रीमातीलाई देखेर मनको  ढुकुढुकि बढ्दैन अथवा तपाईंलाई खुशी प्राप्त हुँदैन भने तपाईंले यो सम्बन्धको बारेमा एकपटक पुनः विचार गर्नु आवश्यक छ ।

राम्रो सोच

प्रायः घरहरुमा सासु–ससुराले एक–आपसमा राम्रो र सुमधुर सम्बन्ध निभाइरहेको देखिन्छ ।  तपाईंले त्यस्तो देखेर मेरा श्रीमान् किन यिनीहरुजस्तो नभएको होला भन्ने सोच्नु हुन्छ । तर उनीहरु पनि तपाईंहरु जस्तै झगडा गर्थे होला, तर अहिलेको उनीहरुको उमेर भनेको आफ्नो सम्बन्धमा मिठास भर्ने समय हो । तपाईंको सम्बन्ध पनि एक दिन यस्तै हुन्छ भन्ने सोच्नु पर्छ ।

सम्बन्धलाई समय दिनु पर्छ । केही कुरा सहनु पर्छ भने केही मनाउनु पर्छ ।

युवा–युवतीमा परिपक्वता र अनुभवको कमी हुन्छ, किनभने हिजोआज युवाहरु धेरै समय पढाईमा खर्चिने गर्छन् । जसका कारण संयुक्त परिवार कस्तो हुन्छ भन्ने कुरा उनीहरुलाई थाहा हुँदैन । जसका कारण कोहि अर्को व्यक्तिसंगको रहनसहनको तौरतरीकालाई बुझ्ने क्षमता कम हुन्छ । त्यस्तो स्थितिमा अभिभावकले आफ्नो सन्तानलाई सहयोग गर्नु पर्छ ।

युवतीले नै आफ्नो घर छोडेर पुरुषको घर जानु पर्ने समाजको एउटा दुविधा रहेको छ । यस कुरामा तपाईं दुःखी हुनु भन्दा यस कुराको फाइदा खोज्नुहोस् ।

मनमा स्थान

आफ्नो सम्बन्ध र घरको हरेक कुरा आफ्नो आमा–बुवा अथवा आफन्तलाई भनिरहनु आवश्यक छैन । उनीहरुलाई तपाईंले भनेको कुरामा तपाईंको भुमिका कस्तो थियो भने कुराको बारेमा जानकारी हुँदैन । त्यसैले उनीहरुले दिएको सल्लाह तपाईंका लागि भारी पर्न सक्छ ।

केही वर्षमै तपाईंले आफ्ना श्रीमान्को मन जित्न सक्नु हुन्छ । तपाईंलाई त्यहि घरमा रानी जस्तै सम्मान प्राप्त हुन्छ, किनभने समय सधैं परिर्वतनशील हुन्छ ।

विवाहपछि श्रीमान्–श्रीमातीले एक–अर्कालाई शंका गर्नु अथवा उनीहरुको स्वतन्त्रतामा अंकुश लगाउनाले सम्बन्धलाई जेल जस्तो बनाइदिन्छ ।

तपाईंले राती आफ्ना श्रीमानसँग कोठामा एक्लो भएको समयलाई सही उपयोग गर्नु पर्छ । श्रीमान्संग भावनात्मक कुरा गर्नु पर्छ । विस्तारै–विस्तारै श्रीमान्को मनमा आफ्नो लागि स्थान बनाउनु पर्छ ।

सबै तपाईं अनुरुप हुँदैन

हरेक मानिसले आफुले चाहेको सबै कुरा पाउँदैनन् । त्यसैले जे अपूरो छ, त्यसलाई पूरा गर्ने कोशिश गर्नु पर्छ ।

आफुहरु एक्लो भएको समयमा आफ्नो श्रीमान्–श्रीमतीको नराम्रो बानी अथवा तपाईंलाई जे मन पर्दैन त्यसको बारेमा एक–अर्कालाई अवगत गराउनु पर्छ ।

यदि श्रीमान् आधुनिक अथवा पुरानो विचारका छन् भने तपाईंले पनि आफुलाई केही परिवर्तन गर्नु पर्छ किनभने तपाईं त्यो घरमा एडजस्ट हुनु पर्छ ।

हरेक कुरामा सम्बन्ध टुक्राउने धम्कि दिनु हुँदैन । घर छोडेर जाने कुरा गर्नु हुँदैन र छिट्टै रिसाउनु पनि हुँदैन । यदि रिसाइहाल्नु भयो भने पनि छिट्टै बोलचाल गरिहाल्नु पर्छ ।

घरको कुरा घरमा नै

प्रायः महिलाहरुले नै सम्झौता गर्नु पर्छ, किनभने महिलाहरुले माइतीमा चाहे एक सय रुपैयाँ लिन अपठ्यारो महसुस भएता पनि विवाह हुनासाथ उनी श्रीमान्को आधा सम्पतीको हकदार हुन्छिन् ।

आफ्नो झैं–झगडाको बारेमा कुनै तेस्रो व्यक्तिलाई भन्नाले तपाईंको सम्बन्धको धागो कुनै अञ्जान व्यक्तिको हातमा पुग्छ, जस्तै गाउँको वडा कार्यालयसम्म । उनीहरु आफ्नो वाहवाही बटुल्नका लागि तपाईको श्रीमान् अथवा श्रीमतीको स्वाभिमानलाई ठेस पनि पु¥याउन सक्छन्, जसले तपाईंको सम्बन्धमा गाँठो पनि पर्न सक्छ ।

यदि त्यहि घरमा बस्ने इच्छा छ भने कसैलाई बीचमा ल्याउनु हुँदैन, किनभने डरका कारण तपाईंसंग श्रीमान्को परिवारका सदस्यले केही नभनेता पनि तपाईंसंग अन्य कुराहरु पनि नगर्न सक्छन् । जसका कारण तपाईं त्यहाँ एक्लो बन्न सक्नु हुन्छ ।

तपाईंको जीवन कुनै टेलिभिजनको सिरियल होइन, जहाँ एक जना व्यक्तिको धेरै पटक विवाह हुन्छ । यो तपार्ईंको वास्तविक जीवन हो, जहाँ दोस्रो विवाह एउटा सम्झौता मात्र हुन सक्छ ।

यदि तपाईं सानो कुराका लागि आफ्नो अहंकारलाई ठुलो बनाएर श्रीमान्को घर छाडेर आउनु भएको छ भने कुनै पनि वहाना बनाएर फिर्ता जानु उपयुक्त हुन्छ । प्रायः दम्पतीहरु सम्बन्ध विच्छेद गरेर पछुताएका छन् । महिला सधैं नै महानताको मुर्ति रहेकी छिन् । त्यसैले तपाईंको सम्बन्धलाई तपाईंले राम्रोसंग सम्हाल्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment