Comments Add Comment

बसिबियालो : श्रीमानसँग मनका कुरा

अहिलेको क्षणलाई तपाईं मान्नसक्नुहुन्छ, यो एक व्यवसायिक विश्राम हो । यो विश्रामले तपाईंलाई घरभित्रै बन्दी बनाएको ठान्नुहुन्छ वा परिवारसँग नजिक ल्याएको ? यो तपाईंको सोच्ने शैलीमा भर पर्छ ।

खासमा यतिबेला तपाईं÷हामी परिवारसँग एकाकार हुन पाएका छौं । एकअर्काको स्पन्दनलाई अरु नजिकबाट महसुष गर्न पाएका छौं । एकअर्काको श्वासप्रश्वासलाई नजिकबाट अनुभूत गर्न पाएका छौं । यो मौकामा मनको कुरा किन नगर्ने ?

मनमा कहिलेदेखि गाँठो परेर बसेका कुरा गर्ने सही समय पनि हो यो । खासगरी ति श्रीमती, जसले खुलेर श्रीमानसँग कुरा गर्न पाएका छैनन् । यतिेला पारिवरिक योजना, आर्थिक व्यवस्थापन, बालबच्चाको भविष्य, लेनदेनको कुरा मात्र होइन, नितान्त तपाईंहरुले आफ्ना अन्तरंग कुराकानी गर्न सक्नुहुनेछ ।

आफ्ना रुचीका कुरा, आफ्ना भावनाका कुरा एकअर्कामा साझेदार गर्न सक्नुहुनेछ । घर, परिवार, बालबच्चा सबैलाई केहीक्षण भुलेर तपाईंहरु नितान्त आफ्ना कुरा गर्न सक्नुहुनेछ । आफ्नो शारीरिक समस्या, मानसिक तनाव, भावनाको कुरा गर्न सक्नुहुनेछ । प्रजनन स्वास्थ्यदेखि यौन रुची÷अरुचीबारे पनि छलफल गर्न सक्नुहुनेछ ।

त्यसबाहेक एक यस्तो प्रश्नोत्तर गर्न सक्नुहुनेछ, जसले एकअर्काको पारिवारिक लगाव पनि छलंङ्ग हुनेछ । यो एक परीक्षा हो । र, यसका प्रश्नकर्ता हुन् श्रीमती । यो परीक्षामा तपाईंका श्रीमान उत्रिर्ण हुनेछन् ? वा कति अंक हासिल गर्नेछन् ?

यो तपाईंहरुबीच समय कटाउने बाहना मात्र मिल्ने छैन, पारिवरिक विषय चासो र लगाव पनि बुझ्न सकिनेछ ।

केही साझा प्रश्न

– अहिले भान्सामा के–के मरमसला, सागसब्जी, दाल जगेडा छ ?

–अहिले कुन सागसब्जीको सिजन हो ?

–अहिले बजारमा सागसब्जीको मूल्य के छ ? फलफूल प्रतिकेजी कसरी पाइन्छ ?

–कुन सागसब्जीमा कस्ता मरमसला मिसाउँदा बढी स्वादिलो हुन्छ ?

यी प्रश्नहरुको जवाफबाट के थाहा हुन्छ भने तपाईंका श्रीमानलाई भान्साको अवस्थाबारे कति जानकारी वा चासो छ ? के भान्सामा रहेका खानेकुरा, त्यसलाई पकाउने विधी, बजारमा उपलब्ध सागसब्जीको मूल्यबारे जानकार छन् ?

यसैगरी तपाईंले अरु घरायसी प्रश्नहरु सोध्न सक्नुुहुनेछ । जस्तो कि,

–आफ्ना बालबच्चाले कस्ता खानेकुरा रुचाउँछन् ?

–उनीहरु के गर्दा खुसी हुन्छन् ?

–कस्ता कुराले बालबच्चालाई दुःखी बनाउँछ ?

–उनीहरु घरको ताजा खानेकुरा कति स्वाद मानेर खान्छन् ?

–उनीहरुको पढाई–लेखाई कस्तो छ ? शिक्षक÷शिक्षिकाले कस्तो प्रतिक्रिया दिएका छन् ?

–पछिल्लो परीक्षाको नतिजा कस्तो थियो ?

–उनीहरुको विद्यालयको शूल्क कति छ ?

इत्यादि प्रश्नबाट थाहा हुन्छ कि आफ्ना श्रीमानले बालबच्चाको अवस्थापं्रति कति गंभिरतापूर्वक चासोराखेका छन् । बालबच्चाको रुची, प्रवृत्ति, क्षमताबारे श्रीमान कति जानकार छन् ?

यसैगरी आफ्ना सासु–ससुराले सेवन गर्दै आएका औषधिबारे पनि प्रश्न गर्न सक्नुहुन्छ । सासु–ससुराको स्वास्थ्यस्थितीबारे पनि केही प्रश्न राख्न सक्नुहुनेछ । त्यसबाहेक घर व्यवहारसँग जोडिएका प्रश्नहरु सोध्न सकिनेछ ।

जस्तो कि,

अहिले मासिक बिजुलीको शूल्क औसतमा कति उठ्ने गरेको छ ?

फोहोर मैला व्यवस्थापन, पानीको आपूर्ति लगायत विभिन्न कामका लागि मासिक औसतमा कति खर्च हुने गरेको छ ?

श्रीमानले यी प्रश्नहरुको हल कसरी गर्नेछन् ? ख्याल राख्नुहोस् । यद्यपि यी प्रश्नोउत्तर नै सम्पूर्ण मूल्यांकनको मानक भने होइन । व्यक्तिको प्रवृत्ति, घर परिवारको अवस्था अनुसार हरेकले आ–आफ्नो क्षेत्रमा योगदान दिइरहेकै हुन्छन् । हरेकको आ–आफ्नो भूमिका हुन्छ । सबै श्रीमानले भान्साको कुरामा अपडेट हुनैपर्छ भन्ने होइन । यद्ययि यस किसिमको प्रश्नोत्तरपछि तपाईंहरुमा एकअर्कालाई कसरी बुझ्ने भन्ने कुराको निक्र्यौल गर्न सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment