News Summary
Generated by OK AI. Editorially reviewed.- पायल कपाडियाको सन् २०१५ को १९ मिनेटको छोटो फिल्म ‘द लास्ट म्याङ्गो बिफोर द मन्सुन’ ले ओभरहाउसेन अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभलमा फिप्रेसी र स्पेशल जुरी पुरस्कार जितेको थियो।
- फिल्ममा प्राकृतिक ध्वनि, इन्फ्रारेड दृश्य, पेन्टिङ र वाटर कलरको प्रयोग गर्दै समय र स्थानका सीमाना भत्काएर स्मृति र वर्तमानलाई जोडिएको छ।
‘हिजो राति मैले एउटा सपना देखेँ । म गाउँको घरमा थिएँ । तिमीलाई थाहा छ ? मनसुन सुरू हुन लागेको हुनुपर्छ, किनकी रूखहरू हावाको वेगमा बेजोडसँग हल्लिरहेका थिए । त्यसपछि तिम्रो बुबा आउनुभयो । रूखको एउटा किनारामा बस्नुभयो र मलाई बोलाउनुभयो ।’
कोठाबाहिर छिप्पिँदै गरेको अन्धकारको साम्राज्य हेरिरहेकी वृद्धा कान्ता आफ्नो भनाइमा विराम लाउँछिन् ।
‘के भन्नुभयो बुबाले’ आमाको सपना सुन्दै तरकारी काटिरहेकी छोरी सोध्छिन् ।
उहाँले भन्नुभयो– ‘तिमीले पुरानपोली नबनाएको कति दिन भैसक्यो !’ भोलि पुरानपोली पकाउ त ?’ छोरीतिर फर्किन्छ यो प्रश्न ।
कुनै अज्ञात शहरको एउटा कोठामा आफ्ना दिवङ्गत पतिको सम्झनाहरू साँचेर बसिरहेकी वृद्धा । शरीर मात्र शहरमा राखेकी, मन गाउँकै सेरोफेरोमा, वनजंगलमा राखेर आएकी वृद्धा । बाध्यता र रहरको दिगमिग सन्धिस्थलमा बसेकी वृद्धा ।
***
फिल्म जगतमा केही यस्ता सिर्जनाहरू हुन्छन् – जसले दर्शकलाई कथावाचनको घेराभन्दा बेग्लो किसिमको आत्मिक र संवेगात्मक यात्रामा डोर्याउँछन् । सन् २०१५ मा प्रदर्शनमा आएको पायल कपाडियाद्वारा निर्देशित, लिखित तथा सम्पादित १९ मिनेटको छोटो फिल्म ‘द लास्ट म्याङ्गो बिफोर द मनसुन’ ठ्याक्कै त्यस्तै एउटा अविस्मरणीय सिनेम्याटिक कलाकृति हो।

कपाडियाको यो सुरुवाती फिल्मले नै उनलाई अन्तर्राष्ट्रिय मञ्चमा एक प्रखर र गम्भीर फिल्ममेकरका रूपमा स्थापित गर्यो । यस फिल्मले प्रतिष्ठित ओभरहाउसेन अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभलमा फिप्रेसी पुरस्कार र स्पेशल जुरी पुरस्कारले प्राप्त गरेको छ ।
तर फिल्म केही जटिल लाग्न सक्छ, भिन्न न्यारेशनका कारण ।
यो फिल्मको मूल मर्मलाई बुझ्न यसको संरचना र प्रस्तुति शैलीमा विशेष ध्यान दिनुपर्ने हुन्छ । निर्देशकले यसमा दुईवटा समानान्तर तर प्रतीकात्मक रूपमा एकात्म कथाहरूलाई एउटै धागोमा उनेकी छिन् । एकातिर, एउटा घना र रहस्यमयी ग्रामीण जङ्गलको परिवेश छ, जहाँ दुईजना प्राविधिकहरू वन्यजन्तुहरूको गतिविधि अध्ययन गर्नका लागि रूखहरूमा हिट-सेन्सिङ क्यामेराहरू जडान गर्दै हिँडिरहेका छन्।
अर्कोतिर, आधुनिक शहरको बन्द कोठाभित्र एक वृद्धा महिला बसिरहेकी छिन्, जो धेरै वर्ष पहिले आफ्नो ग्रामीण जायजेथा छोडेर शहर पसेकी थिइन् । गृष्म यामको एक समयमा ती वृद्धा आफ्ना पतिको सम्झनामा डुब्दै सिजनको अन्तिम आँप खाइरहेकी छिन् । बाहिरी रूपमा हेर्दा यी दुई प्रसङ्गहरू नितान्त फरक र असम्बन्धित जस्ता लाग्छन् । तर कपाडियाले यी दुई भिन्न संसारलाई आधुनिक मानव जीवनको एकाकीपन र प्रकृतिको क्षयीकरणसँग जोडेर एउटा विराट दर्शन प्रस्तुत गरेकी छिन् ।

फिल्मको सुरुवाती दृश्यमा दर्शकले एउटा थोरै प्रकाश भएको कोठामा एक्लै बसिरहेकी वृद्धालाई देख्छन्, जसको हातमा एउटा पाकेको आँप छ । मौन बसेर उनी आँपको स्वाद लिइरहेकी छिन् । आँप यहाँ ती वृद्धा महिलाको अतीत, उनको हराएको गाउँ, उनको बाल्यकाल र उनको स्वर्गीय पतिसँगको आत्मीयताको एउटा बलियो संकेत हो । जब ती वृद्धा आँपको बोक्रा र गुदीलाई समातेर टोलाउँछिन्, उनी अतीतमा पुग्छिन् । उनको आँखामा एउटा रिक्तता, अतृप्तता र विरह झल्किन्छ ।
यसको ठीक विपरीत, जङ्गलमा क्यामेरा जडान गरिरहेका प्राविधिकहरूको दृश्यले आधुनिक विज्ञान र प्रविधिको त्यो दृष्टिकोणलाई प्रस्तुत गर्छ, जसले प्रकृतिलाई केवल एउटा अवलोकन गर्ने वा निगरानी राख्ने वस्तुका रूपमा मात्र हेर्ने गर्छ । ती प्राविधिकहरू जङ्गलको सुन्दर पक्षसँग जोडिएका छैनन् । उनीहरू केवल वैज्ञानिक तथ्याङ्क सङ्कलन गर्न र जङ्गलका जीवहरूलाई क्यामेराको लेन्समा कैद गर्न त्यहाँ पुगेका छन् ।
निर्देशक कपाडियाले यहाँ आधुनिक मानव समाजको विरोधाभासलाई चित्रण गरेकी छिन् । एकातिर हामी प्रकृतिको नजिक पुग्न, त्यसलाई निगरानीमा राख्न प्रविधिको सहारा लिइरहेका छौँ । अर्कोतिर आधुनिकताको नाममा हामीले आफ्नो प्रकृतिसँगको भावनात्मक सम्बन्धलाई गुमाउँदै गइरहेका छौँ । जङ्गलमा जडान गरिएका ती क्यामेराहरूले रातिको समयमा खिचेका जनावरका धमिला र इन्फ्रारेड दृश्यहरूले डकुमेन्ट्री शैलीको स्वाद दिन्छ ।
प्राविधिक रूपमा यो फिल्म अत्यन्तै समृद्ध प्रयोगहरूले भरिएको छ । सिनेमाटोग्राफर रणवीर दासको लेन्स कहिले शहरको कोठाको अन्धकार र मधुरो प्रकाशमा घोत्लिन्छ त कहिले ग्रामीण जङ्गलको विशालता र प्राकृतिक सुन्दरतामा हराउँछ । फिल्ममा पेन्टिङ र वाटर कलरको पनि प्रयोग गरिएको छ ।
फिल्ममा समय र स्थानका साँधहरू भत्काइएका छन्, जसले गर्दा खण्डित कथाहरू प्रस्तुत गरिएको हो कि भन्ने भान पर्न जान्छ । जस्तो: ग्रामीण क्षेत्रको साँझको समयमा आकाशमा बादलहरू मडारिन्छन् र ती बादलहरू बिस्तारै शहरको आकाशतिर सर्छन् । एलिप्टिकल शैलीबाट फिल्म बनेको हुनाले दृश्यहरूको खण्ड-खण्ड बीचमा नै हामीले कडी भेटाउनुपर्ने हुन्छ ।
कपाडियाले फिल्ममा कुनै ठूलो पार्श्व सङ्गीतको प्रयोग गरेकी छैनन् । प्राकृतिक ध्वनि र ग्रामीण आवाजहरूलाई एकसाथ मिसाएर काव्यात्मक ध्वनिको स्वरूप दिएकी छिन् । फिल्मको परिपृष्ठमा चराचुरुङ्गीहरूको चिरबिर, हावाको सुसेली, पातहरूको गति र टाढा कतैबाट आइरहेका गाउँलेका अस्पष्ट कुराकानीहरू सुनिन्छन् । यी आवाजहरू कहिले स्पष्ट सुनिन्छन् त कहिले निकै टाढा पुगेर बिलाउँछन्।

कपाडियाले वास्तविक र काल्पनिक दुवै प्रकारका आवाजहरूलाई संवादको रूपमा प्रयोग गरेकी छिन्, जसले स्मृति र वर्तमानको बीचको दूरीलाई मेटाइदिन्छ।
‘द लास्ट म्याङ्गो बिफोर द मन्सुन’ मा व्यक्त गरिएको विरह दर्शन पनि उत्तिकै गम्भीर छ । फिल्ममा वृद्धा महिलाले आफ्ना स्वर्गीय पतिको सम्झना गरिरहँदा, उनका पति केवल एउटा व्यक्तिका रूपमा मात्र नभई सिङ्गो जङ्गल र प्रकृतिकै रूपमा प्रतिबिम्बित हुन्छन्। पतिको मृत्यु र गाउँबाट भएको विस्थापनलाई निर्देशकले एकै ठाउँमा जोडेर हेरेकी छिन्।
फिल्मको मध्यतिर एउटा पराभौतिक या जादुइ दृश्य छ, जहाँ वृद्धाका पति जङ्गलको हिस्सा हुन नसकेकोमा खेद व्यक्त गर्छन् । उनको हातको खाना अन्तिम पटक खाएर यथाकर्मअनुसारको पुनर्जन्म लिने बताउँछन् । कीरा, सिंह या हात्तीको रूपमा पुनर्जन्म लिने बताउँछन् । त्यसको केही समय पछि प्राविधिकहरूको हिट-सेन्सिङ क्यामेरामा हात्तीको दृश्य कैद भएको हुन्छ ।
***
फिल्म हेरिरहँदा प्रकृति, भूतप्रेत, स्मृति र अध्यात्मको यस्तै अमूर्त संयोजनजस्तो देखिन्छ । फिल्मको गति निकै सुस्त छ, तर यो सुस्तता पट्यारलाग्दो छैन । यसले दर्शकलाई प्रत्येक फ्रेमको सौन्दर्यलाई नियाल्न, प्रकृतिको ध्वनिलाई सुन्न र पात्रहरूको मौनतालाई महसुस गर्न पर्याप्त समय दिन्छ ।
प्रतिक्रिया 4