Comments Add Comment

कठैबरा करिष्मा !

करिष्मा मानन्धर । भलै यो नाम अहिलेको पुस्तामाझ उति परिचित नभएपनि पचासको दशकमा उनको चमक–दमक कम थिएन । हिरोइन भनेकै करिष्मा भनेजस्तै । चाहे रुपरंगको हिसाबले होस् वा अभिनयको । सिनेमा र स्क्याण्डलसँगै उनी चर्चाको चुलिमा चढ्ने र ओर्लने गरिरहिन् । त्यही उतार–चढावका बीच आफ्ना सिनेमाहरु दर्शकले धमाधम अस्वीकृत गरिदिएपछि उनले विरक्तिएर देश छाडिन् ।

लामो समय अमेरिकामा बसेर पुनः स्वदेश फर्किइन् । नेपाल फर्किएपछि पुरानै ढर्रामा सिनेमा निर्माण पनि गरिन् । ती पनि चलेनन् । त्यसपछि राजनीतिमा लागिन् । राजनीतिमा पनि पार लाग्ने देखिनन् । अनि सुरु गरिन्, लेखपढ ।

सिनेमा, राजनीति र पढाईको फन्को लगाइरहँदा पनि उनको विवेक छिप्पिएको रहेनछ । ‘पढ्यो पढ्यो पाठ, सोह्र दुना आठ’ । नपत्याए उनले हालै आफ्नो फेसबुक पेजमा लेखेको स्टाटस हेरौं । करिष्मा लेख्छिन्, ‘के भनेको के ? के सेलिब्रेटी ले सबै समस्या समाधान गर्नुपर्ने ? अनि के काम सरकार को ? किन भोट गरेको हामीले ? के हामी धुर्मुस, सुन्तली हौं कि रवि लामिछाने ?? हँ ?? जानुस् तपाईंहरुको भगवानलाई खोज्नुस ! तर, घर बस्नुस ।’

यति दम्भ, अहंकार र कटुताले भरिएको स्टाटस उनले कुन मनोदशामा लेखिन् होला ? त्यो उनैलाई थाहा होला । तर, उनको स्टाटस हेर्दा लाग्छ, भएभरका सर्वसाधारण नेपाली उनको ढोका अघिल्तिर पुगेर सहयोगको याचना गरिरहेका छन् । हारगुहार गरिरहेका छन् ।

उनले सर्वसाधारणलाई लक्षित तिरस्कारपूर्ण लेखेकी छिन्, ‘के हामी धुर्मुस, सुन्तली हौं कि रवि लामिछाने ? हँ ? जानुहोस् तपाईंहरुको भगवानलाई खोज्नुहोस् ।’

यो संवेदनशील घडीमा एउटा सेलिब्रेटीले प्रेरणा, उत्साहको कुरा गर्नुपर्छ कि आफ्नो दम्भ र कुष्ठा पोख्नुपर्छ ? सामाजिक सहयोग, सद्भाव र सहकार्यको माहौल बनाउनुपर्छ कि तिरस्कार र घृणाको भाव पोख्नुपर्छ ? सम्भवत: ‘पढेलेखेकी’ करिष्माको संयम र विवेकले काम गरेन ।

कोरोनाले सर्वत्र सन्त्रास पैदा गरेको अति संवेदनशील र अफ्ट्यारो घडीमा छन्, सर्वसाधारण । एकातिर कोरोनाको भय, अर्कोतिर जीविका धान्नुपर्ने दोहोरो चेपुवामा परेका सर्वसाधारणले आफ्नो संयम गुमाएका छैनन् । रुखोसुखो खाएर भएपनि सर्तकता अपनाइरहेका छन् । आफ्नो कारणले समाजमा रोगको संक्रमण नफैलियोस् भनेर सावधानी अपनाइरहेका छन् ।

यो पनि पढ्नुहोस कोरोना रोकथाम कोषमा प्रकाश सपुतको २ लाख

यता स्वास्थ्यकर्मीहरु ज्यानको बाजी राखेर उपचारमा खटिएका छन् । सुरक्षाकर्मीहरु आफू असुरक्षित रहेरै सुरक्षाका विधि खोजिरहेका छन् ।

अर्कोतिर बजारमा आवश्यक खाद्यान्न सकिदैछ । खाना पकाउने ग्याँसको अभाव सुरु भइसकेको छ । बजारभाउ आकाशिएको छ । चुल्हो बल्न छाडेपछि धेरैजसो जोखिम मोलेर रातारात शहर छाड्दैछन् । भारत लगायतमा मजदुरी गर्नेहरु सीमा क्षेत्रमा अलपत्र परेका छन् ।

यति संवेदनशील र कारुणिक घडीमा एउटा सचेत नागरिक अझ सेलिब्रेटीले कस्तो भूमिका खेल्नुपर्ने हो ? के बोल्नुपर्ने हो ? आफूले आर्थिक, भौतिक सहयोग गर्न नसकेपनि सामाजिक सचेतना फैलाउने काम गर्नुपर्ने होइन ? स्वास्थ्यकर्मीको मनोबल उकास्ने रचनात्मक विधि अपनाउनुपर्ने होइन ?

अफ्ट्यारोमा परेका सर्वसाधारणको आवाज बोलिदिनुपर्ने होइन ?

अर्कोतिर यही मौकामा कालोबजारी गर्ने र भ्रष्टचार गर्नेहरु ‘धमिलो पानीमा माछा मार्ने’ दाउपेच गरिरहेका छन् । के उनीहरुविरुद्ध खबरदारी गर्नुपर्ने होइन ?

यो पनि पढ्नुहोस टिप्पणी : कुना पसे कलाकार ?

आफैं सिनेमामा समाजको कथा भन्दै हिँड्ने, सर्वसाधारणका लागि हितका लागि भन्दै राजनीति गर्दै हिँड्ने व्यक्तिले ‘जानुहोस् तपाईंहरुको भगवान खोज्नुहोस्’ भनिरहँदा उनको चेत र नियत कस्तो देखिन्छ ?

एउटा भनाइ छ, ‘सक्छौ गर, सक्दैनौं अरुलाई बाधा नगर ।’

सेलिब्रेटीले कोरोनाविरुद्ध लड्नुपर्छ । सर्वसाधारणका लागि सहयोग जुटाउनुपर्छ भनेर सायदैले अपेक्षा गरेका होलान् । यद्यपि  कतिपय सेलिब्रेटीहरु हार्दिकतापूर्वक समाजसँग जोडिएका छन् । भावनात्मक रुपमा सर्वसाधारणसँग एकाकार भइरहेका छन् । सचेतना र सर्तकताको सन्देश प्रवाह गरिरहेका छन् । आफूले गर्न नसके चुपचाप बस्नु नै कल्याण हुन्न र ?

सर्वसाधारणले आफ्नो गाँस कटाएर सडकका कुकुर, गाईवस्तुलाई खानेकुरा ख्वाइरहेका छन् । सुरक्षाकर्मीका लागि पानी र खाजाको व्यवस्था गरिरहेका छन् । स्वास्थ्यकर्मीको हौसला बढाउनेगरी सन्देश प्रभाव गरिहेका छन् । भ्रष्टाचार र कालोबजारीमाथि औंला ठड्याइरहेका छन् । यस्तो अवस्थामा सचेत नागरिक वा आफूलाई सेलिब्रेटीको रुपमा चिनाएकाहरुले यतिबेला आफ्नो स्वतस्फूर्त भूमिका एवं दायित्व खोज्न सक्दैनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा

Advertisment