Comments Add Comment

सीमा नाका नखोल्ने सहमति, दुबै मुलुकले क्वारेन्टाइन बनाउने

१८ चैत, काठमाडौं । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सीमा नाकामा तत्काल यात्रु आवागमन नखोल्ने सहमति भएको छ । साथै स्वदेश फर्किन दशगजा क्षेत्रमा पुगेका नागरिकहरुलाई दुबै देशले क्वारेन्टाइन स्थलमा राख्ने सहमति जुटेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपालले १० चैतबाट अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन रोक्ने निर्णय गरेको छ । दुबै मुलुकमा लकडाउन पनि छ ।

तर, भारतीय बाटो भएर नेपालीहरु सीमा नाकासम्म आउने क्रम रोकिएको छैन । सुरुमा सूचना नपाएर बाटोमा अलपत्र परेका भन्दै भारतीय सुरक्षाकर्मीहरुले नेपालीलाई दशगजा क्षेत्रमा ल्याएर छाडे । सरकारले पनि अलपत्र परेका आफ्नै नागरिक हुन् भनेर आउन दियो ।

नेपाल आउन चाहनेको संख्या नरोकिएपछि कोभिड-१९ रोकथामसम्बन्धी उच्चस्तरीय समितिले ११ चैतमा अन्तिम पटकका लागि नेपाल आउन दिने निर्णय गर्‍यो । साथै नेपाली नागरिकहरु जहाँ छन्, त्यही सुरक्षित बस्न आग्रह गर्‍यो ।

यो पनि पढ्नुहोस भारतको व्यवहारप्रति नेपाल असन्तुष्ट, सीमामा क्वारेन्टाइन बनाउने प्रस्ताव तर, अहिले पनि भारतीय बाटो भएर नेपाली नागरिकहरु दशगजा क्षेत्रमा आउने क्रम नरोकिएपछि नेपालले कूटनीतिक माध्यमबाट भारतसमक्ष असन्तुष्टि जनाएको थियो । भारतले नेपाली नागरिकलाई नेपालतिर जाऊन् भन्ने झैं व्यवहार गरेको भन्दै नेपाली पक्षले कूटनीतिक माध्यममार्फत् असन्तुष्टि जनाएको हो ।

तर, दुई देशबीच भएको छलफलमा सीमा नाकाबाट यात्रु आवागमन नखोल्ने सहमति भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईकाअनुसार दुबै देशबीच माथिल्लो तह र स्थानीय स्तरमा भएको छलफलमा जो जहाँ छन्, उनीहरुलाई त्यहीँ सम्बन्धित देशले व्यवस्थापन गर्ने सहमति भएको छ । उनले भने, ‘भारतीय सीमाभित्र रहेका नेपालीहरुको व्यवस्थापन उहाँहरुले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन हामीले गर्ने सहमति भएको छ । दुबै पक्षबीच कुराकानी भएर त्यही अनुसार कतिपय ठाउँमा क्वारेन्टाइनकै रुपमा सुरु भइसकेको छ ।’

दार्चुलाको सीमाक्षेत्र धार्चुला र कैलालीको सीमाक्षेत्रमा हरेका नेपालीहरुलाई भारतीय पक्षले खानेबस्ने व्यवस्था मिलाउने छ भने अन्यत्र पनि यसरी नै व्यवस्थापन गरिनेछ ।

यस्तै, नेपालमा रोकिएका भारतीय नागरिकको व्यवस्थापनको जिम्मा नेपालले लिएको छ । जुन देशका नागरिक जहाँ छन्, त्यहीँ रहने विश्व स्वास्थ्य संगठनको प्रोटोकल पनि भएकाले भारतले त्यहीअनुसार व्यवहार देखाउने सरकारको विश्वास छ । ‘यदि सिमानाबाट आउन जान खुला छाड्ने हो भने लकडाउन गर्नुको अर्थ हुँदैन’ स्रोतले भन्यो ‘अहिलेको लागि जो जहाँ छन् त्यहिँ सुरक्षित हुने हो ।’

मलेसिया, मध्यपूर्व लगायतका देशमा रोजगारीका लागि गएका लाखौं नेपालीहरु त्यहीँ बसिरहेका छन् भने युरोप अमेरिका, अष्ट्रेलिया, जापान लगायतका मुलुकमा पनि ठूलो संख्यामा नेपाली विद्यार्थी छन् । अहिले उनीहरुलाई स्वदेश ल्याउन सम्भव नभएको र व्यवहारिक पनि नहुने सरकारको भनाइ छ ।

सम्बन्धित देशका दूतावास र नियोगहरुलाई नेपाली समुदायलाई सघाउन र समन्वय गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेको पनि प्रधानमन्त्री परराष्ट्रमामिला सल्लाहकार भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा !

Advertisment