Comments Add Comment

दिल्लीको धार्मिक सभामा सहभागी अधिकांश रौतहटका, सबै क्वारेन्टाइनमा

दिल्लीबाट थपिएका थिए १३ विद्यार्थी

१९ चैत, काठमाडौं । भारतमा कोरोना (कोभिड–१९) भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको धार्मिकसभामा सहभागी नेपालीहरु भारतमै रहेको खुलेको छ ।

दिल्लीको स्थानीय प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको छ ।

मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको र करिब ८ हजार जना सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु सहभागी थिए । नेपालबाट पनि १९ जना सहभागी भएका थिए ।

कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिक सभा भएको थियो । तर, स्थानीय प्रशासनले कुनै रोक लगाएन । तर, जब सभा भएको स्थाननजिकै पर्ने दक्षिणी दिल्लीका केही मानिसको कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो, तब भारतभर त्रास फैलियो ।

दिल्लीमा भेटिएका ९७ संक्रमितमध्ये २२ जना त्यही सभामा सहभागी पाइएको छ । यस्तै तेलङ्गना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।

त्यसपछि त्यो धार्मिक सभामा सहभागीहरुको खोजीका क्रममा नेपालबाट पनि २० जना सहभागी भएको खुलेको छ । सुरुमा यो संख्या १९ बताइएको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासका कन्सुलर हरि ओडारीले धार्मिक सभामा सहभागी नेपालीहरुबारे बुझ्ने काम भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘स्थानीय प्रशासनले उहाँहरुलाई क्वारेन्टाइनमा राख्ने लगायतका प्रक्रिया गरिरहेको छ ।’

सहभागीमध्ये अधिकांश रौतहटका

धार्मिक सभामा सहभागी नेपालीमध्ये अधिकांश रौतहटका छन् । दूतावास स्रोतबाट अनलाइनखबरलाई प्राप्त सूचीअनुसार १६ जना रौतहट र ४ जना निजगढ र जीतपुर बाराका नेपाली उक्त धार्मिक सभामा सहभागी भएको देखिन्छ ।

क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये एक जनाका आफन्तले बताएअनुसार दिल्लीकै निजामुद्दीन विद्यालयमा पढ्ने १३ जना नेपाली विद्यार्थी पनि त्यो धार्मिक सभामा सहभागी थिए । उनीहरुलाई पनि एउटै गाडीमा राखेर अस्पतालसम्म पुर्‍याइएको उनले अनलाइनखबरलाई बताए ।

फर्किँदै गर्दा अड्किएका थिए दुई युवक

कोरोना भाइरस फैलिएको जानकारी पाएलगत्तै बाराका २३ र १७ वर्षीय चेन्नईमा रहेका दुई जना नेपाली युवालाई परिवारले फर्किन सुझाएको थियो । घर फर्किनलाई उनीहरुले रक्सौलको टिकट पनि काटेका थिए । तर, लकडाउन घोषणा भएपछि दुबै बीचमै अड्किए । त्यसपछि धार्मिक सभामा पुगेको बताइएको छ ।

भेलामा सहभागीलाई कोरोना भाइरसको संक्रमणमा देखिएपछि उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । पारिवारिक स्रोतका अनुसार उनीहरुको पहिलो परीक्षणमा कोरोनाको लक्षण देखिएको छैन । यद्यपि थप केही परीक्षणको नतिजा आउन बाँकी रहेको चिकित्सकहरुले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा !

Advertisment