Comments Add Comment

र, यो पनि क्वारेन्टाइन !

१८ चैत, डोटी । शिखर नगरपालिका–११ का दीपकबहादुर बलायर स्नातकोत्तर तहका विद्यार्थी हुन् । काठमाडौंमा अध्ययन गर्ने उनी कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण क्याम्पस बन्द भएपछि घर फर्किएका छन् ।

कैलालीको अत्तरियाबाट घर आउने बस चढ्दा उनी संयोगले भारतबाट फर्केकाहरु सँगै परे ।

त्यसैले उनी चैत ११ गतेदेखि शिखर नगरपालिकाले वडा नं. १० को सिद्धेश्वर माविको क्वारेण्टाइनमा बसिरहेका छन् । क्वारेण्टाइनमा खाने, बस्ने, ओढ्ने ओछ्याउने सबै व्यवस्था नगरपालिकाले गर्ने भनेपछि उनले घरबाट केहीपनि मगाएनन् । जब उनी क्वारेण्टाइनमा पुगे, अचम्ममा परे ।

सामुदायिक विद्यालयको कोठाभित्र डेस्क र बेञ्च जोडेर पि-फर्म ओछ्याइएको छ । एउटै ओछ्यानमा चार/पाँच जना सँगै सुत्छन् । टाउको छोप्न खोज्दा खुट्टा छोपिन्न, खुट्टा छोप्न खोज्दा टाउको खुलै रहने खालको सानो कम्मल दिइएको छ ।

‘मैले त क्वारेण्टाइनमा आएर सुरक्षित हुन्छु भन्ने सोचेको थिएँ, बाटोमा आउँदा कतै संक्रमण भइहालेको भएपनि मेरो उपचार हुन्छ सोचेको थिएँ’ दीपकले भने ‘यहाँ आएर त झन् संक्रमण हुने खतरा पो भयो ।’

उनी नगरपालिकाले आफूहरुलाई जोखिममा पारेको बताउँछन् ।

दीपकजस्तै यो क्वारेण्टाइनमा १४ जना छन् ।

‘म त घर गइसकेको थिएँ, गाउँका मान्छेले क्वारेण्टाइनमा बस्नुपर्छ भनेपछि फर्केर आएको हुँ’ भारतको चेन्नइबाट घर आएका शिखर–११ का वीरभान बोहरा भन्छन् ‘हामी तीन जना एउटै ओछ्यानमा सुतिरहेका छौं ।’

उनले क्वारेण्टाइनमा आएको दिनदेखि राम्रोसँग सुत्न नसकेको गुनासो गरे ।

क्वारेण्टाइनमै रहेका शिखर–१० का एक युवक भन्छन् ‘वडाध्यक्षले भन्यो भने मेयरसाबलाई भन भन्छन्, मेयर साबलाई भन्यो भने मुख्यमन्त्रीलाई गाली गर्छन् । तर, हाम्रो समस्या पनि सुन्दैनन् ।’

ती युवकले थपे, ‘कसैले सीडीओलाई भन भन्छन्, कसैले प्रहरीलाई भन भन्छन्, हामीसंग अपराधीको जस्तो व्यवहार हुँदैछ ।’ उनले आफूहरुलाई विगतमा कुष्ठरोगीलाई गर्नेजस्तो व्यवहार गरेको बताए ।

सोही क्वारेण्टाइनमा छिन् शिखर नगरपालिकाकी एक युवती । भारतको चेन्नइबाट आएकी उनलाई आफ्ना दुई भाइहरुसँग एउटै ओछ्यानमा सुत्नुपर्ने बाध्यता छ । ‘न ओढ्ने दिन्छन्, न ओछ्याउने दिन्छन्’ ती युवती भन्छिन् ।

महिनावारी हुने समय नजिकिँदै गर्दा ती युवतीलाई थप चिन्ता बढ्दैछ । उनले भनिन् ‘महिनावारी भएका बेला पुरुषलाई छुनु पनि हुन्न भन्छन्, म कसरी भाइहरुसँग बस्ने ?’

विद्यालयमा रहेको छात्रा शौचालयमा पनि ताला लगाइएको छ । उनी भन्छिन् ‘ताला खोलिदिनु पर्‍यो भन्दा कसैले सुनेनन् ।’

उता शिखर नगरपालिका–४, धुर्कोटमा रहेको क्वोरेण्टाइनको अवस्था पनि यस्तै रहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले क्वारेण्टाइनस्थलको जानकारी लिई सुधार गर्ने बताए । ‘हामीले त कम्तीका एक मिटरको दुरीमा राख्नु होला भनेका हौं । तर, कसरी एउटै ओछ्यानमा सुत्ने व्यवस्था गरेछन् ?’ उनले भने ‘म यस विषयमा तत्काल बुझ्छु ।’

न साबुन छ, न खाना पकाउन दाउरा

क्वारेण्टाइनमा सबै सामान नगरपालिकाले दिने तर खाना क्वारेण्टाइनमा बसेकाहरुले पकाएर खानुपर्ने भनिएको थियो । शिखर–१० का एक युवकले भने ‘विद्यालय प्राङ्गणमा ढलेको काँचो सिमलको रुख काटेर दाउरा बनाउन भन्दै छन् ।’

शिखर नगरपालिका–१० का नारायण बोहरा हात धुनका लागि साबुनसमेत पर्याप्त नभएको बताउँछन् । उनी भन्छन् ‘साबुन पानीले हात धुनु त भन्छन् । तर, कहाँबाट ल्याउने साबुन ?’

लुगा र भाँडा धुनका लागिसमेत साबुन नभएको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा !

Advertisment