Comments Add Comment

कोरोनाबाट ज्यान जानेको संख्या ५० हजार नाघ्यो, स्पेनमा मात्रै १० हजारको मृत्यु

२० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ ।

चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम सातादेखि फैलिएको कोरोनोबाट हालसम्म ५० हजार २ सय ३० मानिसको ज्यान गएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा ठूलो मानवीय क्षति इटलीमा पुगको छ । प्राप्त पछिल्लो विवरणअनुसार, त्यहाँका १३ हजार ९ सय १५ मानिसको ज्यान गइसकेको छ ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाबाट इटलीपछि स्पेनमा धेरै मृत्यु भएको छ । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ५० को मृत्यु भएपछि स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार ३ पुगेको हो ।

बीबीसीले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै १० हजार ३ मानिसको ज्यान गएको जनाएको छ । यो संख्या इटलीपछिको सबैभन्दा धेरै हो ।

मृत्युदरसँगै स्पेनमा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । बीबीसीका अनुसार संक्रमितको संख्या पछिल्लो २४ घण्टामा १ लाख २ हजार १ सय ३६ बाट बढेर १ लाख १० हजार २ सय ३८ पुगेको छ । यो संक्रमण दर अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले बढी हो ।

केही दिनदेखि उकालो लागेको संक्रमण दर आउँदा दिनमा कम हुने अपेक्षा अधिकारीहरूले गरेका छन् ।

जोनहप्किन्स विश्वविद्यलयकाअनुसार, अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार तीन सय १६ पुगेको छ । अमेरिकाका दुई लाख २६ हजार मानिसका संक्रमण पुष्टि भइसकेको छ ।

फ्रान्समा कोरोनाको उद्गमस्थल चीनमा भन्दा धेरै मानिसको ज्यान गएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार, हालसम्म फ्रान्सका ४ हजार ३२ कोरोना संक्रमितको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार १ सय ९९ मानिसको कोरोनाबाट ज्यान गएको छ ।

कोरोनाले विश्वका ९ लाख ८१ हजार मानिस संक्रमित भएकामा २ लाख ४ हजार मानिस स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment