Comments Add Comment

सुदूरपश्चिम सरकार भन्छ– विदेशबाट आएका सबैलाई परीक्षणको दायरामा ल्याउनुपर्छ

२३ चैत, धनगढी । स्थानीय व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सुदूरपश्चिममा महामारीको त्रास बढेको छ । भारत लगायत विभिन्न देशबाट स्वदेश फर्केका नेपालीबाट आयातीत भाइरस स्थानीयमा सरेको हो ।

जोखिम बढेपछि प्रदेश सरकारले विदेशबाट आएका सबैलाई परीक्षणको दायरामा ल्याउनुपर्ने भनेको छ । तर, यसका लागि पर्याप्त स्रोत साधनको भने अभाव देखिएको छ ।

‘हुन त देशभर पनि अहिलेसम्म १२/१३ सयको मात्र परीक्षण भएको छ, हामीले डोटी र बैतडीमा पनि प्रयोगशाला स्थापना गर्ने भनेका छौं,’ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनीमन्त्री प्रकाश शाहले अनलाइनखबरसँग भने,‘संघीय सरकारलाई हाम्रो आग्रह छ, सुदूरपश्चिममा कोरोनाको संक्रमण समुदायमा फैलिने सम्मूखमा रहेकाले सबै जिल्ला अस्पतालमा ल्याब राख्ने पो हो कि ?’

प्रदेश सरकार आफैंले लगभग एक हजार जति व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), त्यति नै संख्यामा एन–९५ मास्क, ५० हजार ग्लोब्स, त्यति नै संख्यामा डिस्पोजेबल मास्क र केही गन थर्मोमिटर मगाएको मन्त्री शाहले बताए ।

उनले भने, ‘सामग्री पर्सिसम्म आइपुग्छ । संघीय सरकारसँग पनि समन्वय गरिरहेका छौं । केही दिन पहिले पनि केही स्वास्थ्य सामग्री आएको छ ।’

मन्त्री शाहसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश–

नेपालमा पहिलो स्थानीय संक्रमण सुदूर पश्चिमबाट देखिएको छ । यसलाई रोकथाम गर्न प्रदेश सरकारले के गरिरहेको छ ?

कोभिड १९ को संक्रमण हाम्रो प्रदेशमा कम्युनिटी लेभलमा पुगेको अभास भएको छ । हिजो नै हामीले प्रदेशमा समन्वय निर्देशक समितिको बैठक बसेर निर्णयहरु गरेका छौं ।

यतिबेला प्रदेश सरकारको आग्रह पनि छ र, हाम्रो निष्कर्ष पनि के छ भने जति मानिसहरु सीमा नाका भएर आए, उनीहरु सबै प्रयोगशालाको दायरामा ल्याउन जरुरी छ

हामीले कोरोनाको उपचारका लागि आवश्यक औषधी, उपकरण उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेका छौं भने प्रादेशिकसँगै जिल्ला  अस्पतालहरुमा चिकित्सकसहित स्वास्थ्यकर्मीहरुको टोली निर्माण गरेर तयारी अवस्थामा राख्ने निर्णय गरेका छौं ।

यदि कोरोनाको संक्रमण धेरै देखिए सामान्य बिरामीलाई जिल्ला अस्पतालमा र जटिल अवस्थाका बिरामीलाई प्रादेशिक अस्पतालमा उपचार गर्ने निर्णय गरेका छौं ।

भारत वा अन्य मुलुकबाट आएकालाई अनिर्वाय क्वारेन्टाइनमा राख्ने, स्वास्थ्य समाग्रीहरु खरिद गर्ने, लकडाउनको अवधि थप्न संघीय सरकारलाई आग्रह गर्ने लगायतका निर्णयहरु पनि गरेका छौं ।

भारतबाट आएकाहरु कति संख्यामा छन् ? उनीहरुलाई क्वारेन्टाइनमा बस मात्र भन्ने हो कि परीक्षणको दायरामा  पनि ल्याउनुहुन्छ ?

यो महामारीको भयावह स्थिति आउन नदिन हामीले सुरुदेखि नै गड्डाचौकी लगायतका नाकाहरुमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पठाएर तापक्रम नाप्ने, सेल्फ क्वारेन्टाइन फर्म भर्न लगाउने, त्यसलाई स्थानीय तहमा पठाउने र निगरानीमा राख्न निर्देशन दिने काम गर्दै आएका थियौं ।

यो पनि पढ्नुहोस ‘सुदूरपश्चिम उच्च जोखिममा छ, राष्ट्रिय संकट आउन सक्छ’

हाम्रो प्रदेशमा भएका ठूला साना गरी १९ वटा नाका छन् र त्यहाँबाट एक लाख ४३ हजारभन्दा बढी मानिसहरु आएको आधिकारिक तथ्यांक छ । तर, कतिपय अवैध नाकाहरु पनि छन् । कतिपय मान्छेहरु तुइन तरेर, ट्युबबाट महाकाली नदीमा हामफालेर आका छन् ।

तर, लकडाउन पूर्वको कुरा गर्ने हो भने भारतमा जनस्तरमा कोरोनाको संक्रमण देखिएको थिएन । त्यसैले त्यसबेला आएका नेपालीहरुमा समस्या पनि देखिएन र उनीहरुलाई निकै निगरानी गरेर राख्नुपर्ने पनि हामीलाई लागेन । यद्यपि हामीले स्थानीय तहसँग समन्वय गरेकै थियौं ।

यसरी हेर्दा लकडाउनपूर्व र लकडाउन पछाडि डेढ लाख मानिसहरु हाम्रो प्रदेशमा भएको नाकाहरुबाट देशका विभिन्न स्थानमा पुगेका छन् ।

जब लकडाउन भयो, त्यसपछि बैध र अवैधरुपमा आएकालाई हामीले विशेष निगरानीमा राखेका छौं । जिल्ला र स्थानीय तहमा क्वारेन्टाइन बनाएर राख्ने प्रयास पनि गरेका छौं । र, अहिले पनि ७ जना विभिन्न स्थानमा आइसोलेसनमा हुनुहुन्छ ।

यति ठूलो संख्यामा आएका मानिसहरु पक्कै पनि सम्भावित संक्रमितमा पर्छन् । उनीहरुलाई अब क्वारेन्टाइनमा मात्र राख्ने हो कि परीक्षणको दायरामा पनि ल्याउनुहुन्छ ?

यतिबेला प्रदेश सरकारको आग्रह पनि छ र, हाम्रो निष्कर्ष पनि के छ भने जति मानिसहरु सीमा नाका भएर आए, उनीहरु सबै प्रयोगशालाको दायरामा ल्याउन जरुरी छ । यसका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको ल्याबको एउटा पीसीआर मेसिनले मात्र सम्भव छैन । हजारौंको मानिसहरु आउने तर उनीहरुको परीक्षण गर्ने ल्याबचाहिँ एउटा मात्र भएर हुँदैन ।

हामीले सुरुदेखि नै सावधानी अपनाएको पनि हो । तर, हाम्रो क्षमताभन्दा धेरै मानिसहरु आइदिए । तैपनि सीमा नाकाबाट आएका मानिसहरुबाट स्थानीयमा संक्रमण भएको छैन
यो पनि पढ्नुहोस स्थानीयमा कोरोना संक्रमण : सम्भावित महामारीको पूर्वसूचना !

हुन त देशभर पनि अहिलेसम्म १२/१३ सयको मात्र परीक्षण भएको छ । जुन मात्रामा समस्या छ, त्यसअनुसार हाम्रो परीक्षण पनि हुनुपर्छ । त्यसैले डोटी र बैतडीमा पनि प्रयोगशाला स्थापना गर्ने भनेका छौं । संघीय सरकारलाई पनि हाम्रो आग्रह छ, सुदूरपश्चिममा कोरोनाको संक्रमण समुदायमा फैलिने सम्मूखमा रहेकाले सबै जिल्ला अस्पतालमा ल्याब राख्ने पो हो कि ? साथै सुरक्षा निकाय, त्यसमा पनि सेनालाई परिचालन गरेर जहाँ संक्रमण देखिन्छ, त्यस क्षेत्रलाई लक गरेर सर्च, क्वारेन्टाइन र आइसोलन गर्नुपर्छ भन्ने हाम्रो आग्रह छ ।

स्वास्थ्यकर्मी र औषधिहरुको अवस्था चाँहि कस्तो छ ?

प्रदेश सरकार आफैंले लगभग एक हजार जति व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), त्यति नै संख्यामा एन–९५ मास्क, ५० हजार ग्लोब्स, त्यति नै संख्यामा डिस्पोजेबल मास्क र केही गन थर्मोमिटर पनि मगाएका छौं । सामग्री पर्सिसम्म आइपुग्छ । संघीय सरकारसँग पनि समन्वय गरिरहेका छौं । र, केही दिन पहिले पनि केही स्वास्थ्य सामग्री आएको छ ।

भनेपछि कोरोना समुदायस्तरमा फैलिने भयो भनेर आत्तिनुपर्ने अवस्था छैन ?

निश्चय नै, अहिले आत्तिने भन्दा पनि सतर्कता अपनाउने बेला हो । हामीले सुरुदेखि नै सावधानी अपनाएको पनि हो । तर, हाम्रो क्षमताभन्दा धेरै मानिसहरु आइदिए । तैपनि सीमा नाकाबाट आएका मानिसहरुबाट स्थानीयमा संक्रमण भएको छैन । अहिले देखिएको स्थानीय संक्रमण दुबईबाट आएका मान्छेले नातेदार भेट्दा परिवारमा देखिएको हो । खुसीको कुरा के छ भने उहाँको परिवारका अरु सदस्यहरुको पनि टेष्ट गरेका थियौं, उहाँहरुमा संक्रमण देखिएन । त्यसैले आत्तिएर होइन, सचेत भएर हिम्मतका साथ काम गर्नुपर्छ र गर्छाैं पनि ।

यो पनि पढ्नुहोस कैलाली, कञ्चनपुर र बागङमा क–कसको हुने भयो कोरोना परीक्षण ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment