Comments Add Comment

धनगढीका कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ

सांकेतिक फोटो

२३ चैत, कैलाली । धनगढीका कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय युवक र उनका परिवारका सदस्यहरुको पुनः थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । ती युवकको नमुना परीक्षण रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख तथा प्रवक्ता डाक्टर जगदिश जोशीले बताए ।

संक्रमित युवाकी भाउजुमा पनि शनिबार संक्रमण पुष्टि भएको थियो । तर उनकी भाउजूको भने दोस्रोपटक परीक्षण गरिएको छैन । यद्यपि परिवारका अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको डा. जोशीले जानकारी दिए ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनमा १४ गते कोरोना पुष्टि भएको थियो । संक्रमित युवकको फेरि केही दिनमा नमुना संकलन गरेर स्वास्थ्य परीक्षण गरिने डा. जोशीले बताए ।

अहिले सेती प्रादेशिक अस्पतालमा संक्रमित युवक उनकी भाउजूसँगै कैलाली र कञ्चनपुरमा अन्य २ संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment