Comments Add Comment

लकडाउन बढाउने कि हटाउने ? भारतले थाल्यो छलफल

२३ चैत, काठमाडौं । भारतमा लकडाउन हटाउने विषयमा सरकारमा छलफल सुरु भएको भारतीय मिडियाहरुले लेखेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले १४ अप्रिल (वैशाख २ गते) सम्म लकडाउन घोषणा गरेको छ ।

तर रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षता बसेको केन्द्रीय मन्त्रीहरुको एक बैठकमा लकडाउन हटाउने विकल्पमा छलफल भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

समाचारमा लेखिएअनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय गर्ने अधिकारप्राप्त केन्द्रीय मन्त्रीहरुको यो समूहमा लामो समयसम्म लकडाउन गर्न नहुनेबारे छलफल भएको थियो । यद्यपि बैठकले लकडाउन हटाउने वा लम्ब्याउनेबारे केही निर्णय गरेन ।

भारतीय अखबार दैनिक भास्करको एक समाचारअनुसार १४ अप्रिलबाट लकडाउन सकिने भन्दै एयर एशियालगायतका धेरै एयरलाइन्सहरुले टिकट बुकिङ जारी राखेका छन् । एयर एशियाका अधिकारीहरुले बुकिङ लिए पनि उच्चस्तरीय समितिले गर्ने निर्णय पालना गर्ने बताएका छन् । रेलवे कम्पनीहरु पनि सेवा सुरु गर्न तम्तयार भएर बसेको समाचारमा उल्लेख छ ।

भारतमा कोरोना भाइरस संक्रमण दर बढ्दो क्रममा छ । भारतमा ९९ जनाको मृत्यु र ३ हजार ५ सय ८८ संक्रमण पुष्टि भइसकेको छ । भारतका २ सय जिल्लामा संक्रमण फैलिइसकेको छ । भारतमा धेरैजसो युवामा कोरोना संक्रमण देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ । समाचारमा लेखिएअनुसार ४१ प्रतिशत बिरामी २१ देखि ४० वर्ष उमेर समूहका छन् । यस्तै भारतका कूल बिरामीमध्ये ८३ प्रतिशत ६० वर्षभन्दा कम उमेरका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्नका अप्रिल ५ तारिख आइतबारको राति ९ बजे नौ मिनेटसम्म बिजुलीबत्ती निभाएर मैनबत्ती, दियो, टर्च वा मोबाइलको फ्ल्यास बाल्न देशबासीलाई आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment