Comments Add Comment

‘त्रसित होइन, सजग छ बागलुङ’

९ सय जनाको र्‍यापिड टेस्ट हुँदै

२३ चैत, कास्की । दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि बागलुङबासी त्रसित बने । चैत १५ गते १९ वर्षीया किशोरीमा नेपालमै तेस्रो कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको ५ दिनपछि बागलुङकै ६५ वर्षीया वृद्धामा पनि कोरोना संक्रमण देखियो । उनी नेपालकी छैटौं संक्रमित थिइन् । उनीहरु दुवै जना बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल आएका थिए ।

दुवै जनाको परिवारका सदस्यको नमूना परीक्षण गर्दा कोरोनाको संक्रमण नदेखिएपछि जिल्लाबासीले राहतको सास फेरे । डराएर होइन, सुरक्षा र सावधानी अपनाएर कोरोनाविरुद्धको लडाइँ जितिन्छ भन्ने कुरा पनि बुझ्दै गए । त्यसैले अहिले स्थिति सामान्य बनेको र जिल्लाबासी सजग रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ बताउँछन् ।

‘बेल्जियमबाट आएका दुवै जना परिवारसँगै बसेको, हिँडडुलसमेत गरेका कारण धेरै सन्त्रास फैलिएको थियो,’ जिल्ला जनस्वास्थ्य प्रमुख गुरौले भने, ‘अहिले त्यस्तो सन्त्रास छैन । बरु यतिबेला बागलुङबासी सजग बनेका छन् ।’

संक्रमण देखिएका २ जनाका परिवार, आफन्त र कतार एयरवेजबाटै आएका अन्य २ जनाको नमूना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसैले गुरौ भन्छन्, ‘पहिलेजस्तो सन्त्रास अब रहेन, बरु अहिले बागलुङका नागरिक होम क्वारेन्टाइनमै बसेर सघाइरहेका छन् ।’

गुरौकाअनुसार बागलुङबाट १४ जनाको नमूना परीक्षण गर्न पठाइएको थियो । त्यसमध्ये २ जनाको पोजेटिभ र बाँकीको नेगेटिभ नतिजा आएको हो । संक्रमितको अवस्था अहिले सामान्य छ भने उनका परिवार र सम्पर्कमा आएका व्यक्तिहरु घरमै क्वारेन्टाइनमा बसिरहेका छन् ।

 

शनिबारमात्र कैलालीमा स्थानीयसहित ३ जनामा कोरोनाको संक्रमण भेटिएपछि सरकारले ३ जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्ने निर्णय गरेको छ । त्यसमध्ये एउटा बागलुङ पनि हो ।

बागलुङमा कोरोना संक्रमितको बासस्थान, उनीहरुको सम्पर्कमा आएका र विदेशबाट फर्किनेहरुको र्‍यापिड टेस्ट हुने जानकारी पाएको जनस्वास्थ्य प्रमुख गुरौले बताए ।

बागलुङमा ८ सय १५ जना विदेशबाट फर्किएका व्यक्तिहरु छन् । संक्रमित व्यक्तिका बासस्थान र उनीहरुको सम्पर्कमा आएका व्यक्ति गरी ९ सय जना जतिको टेस्ट हुन सक्ने गुरौको भनाइ छ ।

‘विदेशबाट फर्किएका, बासस्थान र सम्पर्कमा आएका गरी ९ सय जनाको हाराहारीमा र्‍यापिड टेस्ट हुन सक्छ,’ गुरौले भने, ‘काठमाडौंबाट निर्देशनसहितको टोली आएपछि मात्रै सम्पूर्ण कुराको तयारी हुन्छ । चिकित्सकलाई तालिम दिएर टेस्टको काम अगाडि बढाउनुपर्ने हुनसक्छ ।’

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु पनि लकडाउन र क्वारेन्टाइन बसाइँलाई कडाइका साथ पालना गराइएको र जिल्लाबासी पनि सचेत रहेको बताउँछन् ।

यसै सन्दर्भमा प्रजिअ सैंजुसँग गरिएको कुराकानी–

बागलुङमा लकडाउनको अवस्था कस्तो छ ?

बिगतको अवस्थाभन्दा बागलुङमा आजभोलि निकै प्रभावकारी देखिएको छ । विशेषगरी शनिबार सरकारले लकडाउनमा अझ कडाइ गर्ने बताएपछि आइतबार बागलुङबासी सजग देखिएको पायौं । हामीले पनि नागरिकलाई बुझाउने र साथ दिन आग्रह गर्‍याैं । अहिले जनता कोरोनाबारे सचेत देखिएका छन् ।

लकडाउनलाई प्रभावकारी बनाउन के उपाय अपनाइरहनु भएको छ ?

माइकिङ गर्ने, पसलमा धेरै भिडभाड हुन नदिने लगायतका काम नै हो हामीले गरेको । तर, हाम्रो उपायभन्दा पनि नागरिक नै पहिलेको तुलनामा धेरै सजग र सचेत भएका पाएका छौं । उहाँहरु नै मुख्य बजारहरुमा बाहिर ननिस्कने, भिडमा नजाने, सामाजिक दूरी कायम गर्ने कुरामा धेरै सजग हुनुभएको छ ।

बागलुङ बजारकै २ जनामा संक्रमण देखियो । त्यहाँपछि नागरिकमा सन्त्रास थपियो ?

सुरुमा गण्डकी प्रदेशमै पहिलोपटक बागलुङमा देखिएपछि धेरैमा सन्त्रास थियो । ल अब बागलुङ पनि छिर्‍याे, हामी पनि यसबाट अछुतो रहेनौं, हामीलाई पनि कोरोना सरिसक्यो कि भन्ने त्रास धेरैमा थियो । तर, संक्रमितका परिवारको नमूना परीक्षणको नतिजा नेगेटिभ आएपछि भने नागरिक त्रासमा रहनेभन्दा पनि सजग भएको पाएका छौं ।

जिल्लामा आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ ?

आपूर्ति व्यवस्थापनका निम्ति विभिन्न समिति बनाएका छौं । समितिहरुले विभिन्न क्षेत्रका व्यक्ति तथा संघसंस्थाहरुसँग बसेर क्षेत्रगत हिसाबले आपूर्तिको खाका कोरेका छन् । अहिलेसम्म जिल्लामा खाद्यान्न, तरकारी लगायतका कुरा पर्याप्त नै छन् । बजार अनुगमन गर्ने, अत्यावश्यक सामग्रीका पसल व्यवस्थित गर्ने गरी खोल्ने काम गरिरहेका छौं । अभाव भएका नागरिकको पहिचान गरी आवश्यक परेका खण्डमा आपूर्तिका निम्ति तम्तयार छौं ।

एक स्थानीय तहबाट अर्को तह, एक जिल्लाबाट अर्को जिल्ला जानसमेत सरकारले रोक लगाएको अवस्थामा अनुमतिपत्र कसरी दिइरहनुभएको छ ?

जिल्लामा अस्तिसम्म आवतजावतका निम्ति अनुमति लिन प्रशासन धाउनेको लर्को नै थियो । आवश्यकता र कारण हेरेर अनुमतिपत्र दिएका थियौं । अहिले अति आवश्यकबाहेक सवारी अनुमति नै दिइएको छैन । अत्यावश्यकका लागि सम्बन्धित स्थानीय तहले जानकारी दिएर औचित्यताको आधारमा अनुमति दिन्छौं । नभइ नहुने अत्यावश्यक सवारी साधन त चलिराखेकै हुन्छन्, त्यो कुरा बेग्लै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment