Comments Add Comment

लकडाउनका कारण देशभर फस्टायो अनलाइन अध्यापन

विश्वविद्यालयहरु बढी सक्रिय

अनलाइनमार्फत् पढाउँदै काठमाडौं विश्वविद्यालयका डा. विकास अधिकारी ।

२३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण पठनपाठन ठप्प भएपछि काठमाडौंका विभिन्न विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा अनलाइन कक्षा सञ्चालन गराउने विषयमा होडबाजी सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र विभिन्न निजी क्याम्पसहरुले समेत विभिन्न संकायमा अनलाइन कक्षा सञ्चालन गरेका छन् । यद्यपि विश्वविद्यालयहरुले निर्णय गरेरभन्दा पनि अनौपचारिक रुपमा विभिन्न संकाय एवं कार्यक्रममा यस्तो कक्षा सञ्चालन हुने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टले एक साता अघिदेखि नै एमफिल तहको अनलाइन कक्षा सुरु गरेको थियो । सोही संकायमा आइतबारदेखि एमबिए तहमा समेत अनलाइन कक्षा सुरु भएको स्कुल अफ म्यानेजमेन्टले जनाएको छ ।

कार्यक्रमका निर्देशक प्रा. डा. महानन्द चालिसेले आफूहरुले अनलाइन कक्षा सुरु गरेपछि त्रिवि र अरु विश्वविद्यालयका विभिन्न क्याम्पसहरुले यो कक्षा सञ्चालन गर्न होड सुरु भएको बताए ।

आफूहरुले सुरु गरेपछि काठमाडौंको सरस्वती क्याम्पस, नवलपरासीको क्याम्पस र लुम्बिनी वाणिज्य क्याम्पसमा समेत अनलाइन कक्षा सुरु भएको उनी बताउँछन् ।

सरस्वती क्याम्पसमा अनलाइन अध्यापनमा सहभागी विद्यार्थीहरु। तस्वीर : शिवराज घिमिरेको फेसबुक

अहिले त्रिविका अधिकांश अनलाइन कक्षा सञ्चालन हुने क्याम्पसहरुमा ‘जुम प्रविधि’को सहयोगमा कक्षा चलाउने गरिन्छ । चालिसेका अनुसार अहिले पूर्वाञ्चल विश्वविद्यालयको समेत एमफिल तहको अध्ययनमा अनलाइन कक्षा सुरु गरिएको छ । आफ्नै पहलमा त्यहाँ पनि अनलाइन कक्षा सुरु भएको उनले जानकारी दिए ।

चालिसेले अनलाइन कक्षा सुरु भएपछि कोरिया र चीनका प्राध्यापकहरुले समेत अनलाइनबाटै नेपाली विद्यार्थीहरुलाई कक्षा लिने गरेको र यो परम्परागत रुपमा गरिएको कक्षाभन्दा  प्रभावकारी बताएका छन् । लकडाउन पछि नै अनलाइन कक्षा सञ्चालन गर्न सुरु गरिएको उनले जानकारी दिए ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयको एमबिए तहमा अध्ययनरत विद्यार्थी समीर विष्ट परम्परागत रुपमा सञ्चालित कक्षाभन्दा पनि अनलाइन कक्षा बढी प्रभावकारी लागेको बताउँछन् । देशभरका विभिन्न ठाउँमा रहेका ३४ जना विद्यार्थीहरु सहभागी रहेको अनलाइन कक्षा लकडाउनको समय सकिएपछि पनि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं विश्वविद्यालय अनुदान आयोगका सदस्य डा. विकास अधिकारीले काठमाडौं विश्वविद्यालयका विभिन्न स्कुलहरुमा अनलाइन माध्यमबाट अध्यययन सुरु भएको जानकारी दिए ।

विश्वविद्यालयका विभिन्न स्कुलहरुमध्ये स्कूल अफ एजुकेसन, स्कुल अफ साइन्स र स्कूल अफ इन्जिनियरिङका कक्षाहरु अहिले अनलाइनबाट सुरु गरिएको छ । यी स्कूलमा पनि पूर्णरुपमा अनलाइन कक्षा सञ्चालन हुने नभए पनि केही शिक्षकहरुले यस्तो कक्षा सञ्चानलन गर्ने गरेको अधिकारीले जानकारी दिए ।

यी कक्षाहरु सबै स्नातकोत्तर तहका विद्यार्थीहरुको लागि मात्रै सञ्चालन गरिएको छ । यस्तो कक्षा सञ्चालनको एउटा टोली नेताले सबै विद्यार्थीहरुसँग परामर्श गरेर सबैलाई अनुकूल हुने समयमा सञ्चालन गर्ने गरेका छन् ।

अधिकारीका अनुसार काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षा सन्चालनका लागि भन्दै चार वर्षअघि इएलएफ नामक सफ्टवेयर प्रयोगमा ल्याएको थियो । तर, त्यसमा प्राविधिक कठिनाइ भएपछि हाल ‘जुम’ नामको सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।

जुम सफ्टवेयरमा ४५ मिनेट पुगेपछि आफैं सम्पर्कविच्छेद् हुन्छ । त्यसपछि फेरि जोडिनुपर्ने भएकाले यो केही झण्झटिलो छ । यद्यपि यसमा नोट राख्ने, गृहकार्य आदि सबै राख्न सकिने भएकाले प्रभावकारी रहेको उनी बताउँछन् । ‘कक्षामा विद्यार्थी बोलाएर पढाउनेभन्दा पनि अनलाइन कक्षा बढी प्रभावकारी भएको छ,’ डा. अधिकारीले भने ।

त्यस्तै, काठमाडौं मोडल कलेजले पनि आइतबारदेखि नै अनलाइन कक्षा सुरु गरेको छ । आइतबार पहिलोपटक एमबीएसका विद्यार्थीलाई अनलाइनबाट अध्यापन गराइएको कलेजले जानकारी दिएको छ । लकडाउन लम्बिँदै जाँदा विद्यार्थीहरुको पढाइ लामो समयसम्म प्रभावित नहोस् भनेर अनलाइन कक्षा सुरु गरेको केएमसी नेटवर्कका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले बताए ।

अनलाइन कक्षाप्रति शिक्षामन्त्रीको चासो

लकडाउन, भूकम्प जस्ता प्राकृतिक विपदका कारण पटक–पटक पठनपाठनमा समस्या हुने भन्दै शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समेत यसमा चासो दिएका छन् ।

उनले सरोकारवाला निकायलाई पटक–पटक अनलाइन कक्षा सञ्चालनको लागि पाठ्यक्रम तयार पार्न निर्देशन दिएको विश्वविद्यालय अनुदान आयोगका सदस्य समेत रहेका अधिकारीले जानकारी दिए ।

पछिल्लो पटक चार दिन अघि अनुदान आयोगका अधिकारीहरुलाई समेत मन्त्रीले आगामी वर्षको बजेट तयार पार्ने बेलामा यसतर्फ ध्यान दिन निर्देशन दिएका थिए ।

अहिले पाठ्यक्रम नहुँदा प्राविधिक रुपमा भने समस्या सिर्जना भएको डा. चालिसेले जानकारी दिए ।

यो पनि पढ्नुहोस एफएम, टीभी र युट्युबबाट विद्यार्थीलाई पढाउने तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment