Comments Add Comment
अन्तर्वार्ता :

बैंकर्स संघका अध्यक्षको प्रश्न- तिर्न सक्नेलाई छुट दिनुपर्छ र ?

मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ, तैपनि बैंक घाटामा जाँदैनन्

२३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि देश पूरै लकडाउन भए पनि बैंकहरुले दिने सुविधा यथावत छ । राष्ट्र बैंकले अर्थतन्त्रमा समस्या नपरोस् भनेर सहुलियत समेत घोषणा गरिसकेको अवस्था छ । चैतमा तिर्नुपर्ने साँवा ब्याज असारमा तिरे हुने बताएको राष्ट्र बैंंकले चैतमै तिरेको अवस्थामा भने ब्याजमा १० प्रतिशत छुट दिने बताएको छ ।

ऋण तिर्न सक्ने अवस्था भएकालाई भने यस्तो सहुलियत आवश्यक नपर्ने बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् ।

बैंकहरुले सेवासँगै सुरक्षालाई समेत ध्यान दिएको बताएका उनले कोरानाले बैंकिङ क्षेत्रलाई धेरै घाटा लागेको सुनाए । दाहाललेे बैंकहरु यतिबेला ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ’ भन्ने अवस्थामा रहेको बताए ।

प्रस्तुत छ, संघका अध्यक्ष दाहालसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना भाइरसका कारण अहिले बैंकिङमा कस्तो असर परेको छ ?

अहिले असर नै असर छ । हामीलाई प्रत्यक्ष असर भनेको काम राम्रोसँग गर्न पाएका छैनौं । एउटा बैंकलाई १० वटा पास दिएको छ यतिधेरै बैंकका शाखा कार्यालयहरु छन् । कसरी काम गर्ने ? अवस्था अस्तव्यस्त छ ।

घरबाट काम गर्ने भनेका छौं । तर, हाम्रो घरबाट गर्ने बानी छैन । फेरि, हामीसँग कार्यालयमा हुने सुविधाहरु घरमा सबै उपलब्ध हुँदैनन् । फाइल चाहिन्छ, त्यो अफिसमै छ । अहिले अत्यावश्यक बाहेक अन्य केही काम गर्न सकिएको छैन ।

अर्को कुरा, ग्राहकहरु आउन सक्नुहुन्न । ग्राहकहरु नै नआएपछि हामीले कसलाई सुविधा दिने ? देश नै लकडाउनमा छ । लकडाउनका बेला त बाहिर निस्कने कुरा पनि भएन । निस्किहाल्नुपरे पनि उच्च सतर्कता अपनाउनुपर्छ नै ।

अर्को कुरा के हो भने हाम्रो आफ्नौ काम गर्न पनि गाह्रो अवस्था छ । हाम्रा ग्राहकहरुको आम्दानी बढ्यो भने हाम्रो डिपोजिट बढ्ने हो । तपाईको तलब घट्यो भने बैंकको निक्षेप घट्छ ।

समाजका हरेक मान्छे र बैंकवीच सम्बन्ध छ । ती मान्छेहरुको आम्दानी बढ्यो भने बैंकको आम्दानी बढ्छ । उनीहरुको आम्दानी घट्यो भने बैंकको पनि आम्दानी घट्छ ।

व्यापारी साथीहहरुलाई साँवा र ब्याज तिर्न अप्ठेराे पर्याे । जसका कारण असारसम्म तिर्ने समय थप्नु पर्याे । अब चैतमा आउने बैंकको पैसा असारमा आउने भयो । यसले पनि बैंकलाई असर गर्याे । देशको कुनै पनि क्षेत्रलाई असर गर्‍यो भने बैंकलाई सोझै असर गर्छ । यसकारण अहिले जुन लकडाउन भइरहेको छ, यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रलाई परेको छ ।

राष्ट्र बैंकले ल्याएको सहुलियतलाई कसरी लिनुभएको छ ?

चैतमा तिर्नुपर्ने साँवा–ब्याज सबैलाई असारमा तिरे हुने भएको छ । अर्को, १० प्रतिशतको ब्याजकाे रिभेटकाे कुरा छ । प्रभावित मान्छेहरुका लागि सहुलियत चाहिन्छ नै । असारसम्ममात्रै हाेइन असोजसम्म छाडिदिनु पर्ने हुनसक्छ ।

अर्को कुरा, जसले तिर्न सक्नुहुन्छ तिर्न सक्नेलाई १० प्रतिशत छुट भन्नुभयो । जसले तिर्न सक्छ, उसलाई किन छुट दिनु पर्छ र ? भन्ने लाग्छ मलाई । मेरो पनि तलब घटेको छैन, तपाईको पनि तलब घटेको छैन भने हामीलाई किन छुट दिनुपर्‍यो ?

प्रभावित नपरेका व्यक्तिहरुलाई छुट दिँदा कता-कता अलिकति न्यायसंगत भएन कि भन्ने लाग्छ । मैले यो कुरा राष्ट्र बैंकसँग पनि राखिसकें । जो प्रभावित छन्-उनीहरुलाई छुट दिनैपर्छ, यसमा हाम्रो पनि समर्थन छ । जसले तिर्नै सक्दैन, उसले पछि गएर तिर्छ । तर, जसले सहजै तिर्न सक्छ भने उसलाई सहुलियत किन चाहियो ?

अनिवार्य नगद मौज्दात (सीआरआर) पनि घटाएको छ, यसले केही राहत भएन र ?

राष्ट्र बैंकले सीआरआर घटाएको छ । सीआरआर घटाएका कारण लोन दिन सक्ने बैंकको क्षमता भने बढ्दैन । यसले त खाली सरकारले उधारो गर्न सक्ने क्षमतामात्रै बढ्ने हो । यसमा हामी क्लियर के हुनुपर्छ भने, यसले हाम्रो लगानीयोग्य रकम बढ्दैन ।

५४ अर्ब रुपैयाँ रहेको तरलता अहिले ९४ अर्ब पुगेको नि होइन र ?

तरलता त बढेको छ । तर, त्यो लोन दिन मिल्ने हो कि होइन भन्ने कुरा बुझ्नुपर्‍यो । सीआरआर घटेर लोन दिन मिल्दैन ।

लोन घट्नका लागि सीसीडी रेसियो ८० बाट ८१ गए पनि हुन सक्ने भन्नुपर्‍यो । यसो भन्ने हो भने लोन दिन पाइयो । नभए पाइएन । सीआरआर एलडी रेसियोकै पार्ट हो, यसकारण अहिले लोन दिन सक्ने क्षमता बढेको छैन । एलडी रेसियो २० बाट १९ गर्न पाइने भयो भने बढ्ने हो ।

राष्ट्र बैंकले थप केही प्याकेज ल्याओस् भन्ने चाहनुभएको छ कि ?

यो लकडाउन सकिएपछि तरलतामा समस्या हुन्छ । चैतमा व्यवसाय चलेको छैन । चैतमा डामाडोल भएको छ, भोलि वैशाखमा खुल्दा स्टकमा भएका सामग्री काम नलाग्ने हुन सक्छ । धेरै खेर जाने हुन्छ । चैतमा जुन आम्दानी हुन्थ्यो त्यो भएन ।

यसकारण लकडाउन खुलेपछि यहाँ कर्जा धेरै चाहिन्छ । अब तरलता चाहिन्छ । अहिले साना व्यवसायीदेखि ठूलो व्यवसायीहरु होटल एयरलाइन्स सबै क्षेत्रमा असर गरेको छ । पहिले २ करोड रुपैयाँ लोन लिन्छु भनेका थिए भने अब उनीहरुलाई त्यसले पुग्दैन ।

३ करोड ४ करोड रुपैयाँ माग हुन्छ । यसकारण लकडाउन खुलेपछि तरलता धेरै चाहिन्छ । यसका लागि हामीले राष्ट्र बैंकलाई भनिसकेका छौं । अहिले हामीले अनौपचारिकरुपमा राष्ट्र बैंकलाई भनेका छौं । अब चाँडै नै हामी औपचारिकरुपमै भनी यो अनुरोध गर्नेछौं ।

बैंकहरुले सुविधा त दिइरहेका छन्, यतिबेला सुरक्षा सतर्कता पनि निकै महत्वपूर्ण हुन्छ । यसमा कत्तिको ध्यान दिनुभएको छ ?

बैंकले सुविधा त दिएका छन् नै । सुविधाका साथसाथै सुरक्षा पनि दिएका छन् । हामीले बैंकका शाखा कार्यालयहरुमा हाम्रा स्टाफहरुलाई मास्क, स्यानिटाइजर र ग्लोब्स प्रयोग गर्न सिकाएका छौं । यो पूर्णरुपमा पालना पनि भएको छ ।

फेरि सामाजिक दूरी कायम गर्न सकियो भने त कोरोना भाइरसको संक्रमण त नसर्ने रहेछ । यो हिसाबले हामीले सकेसम्म उच्च सुरक्षा सतर्कता अपनाएका छौं । हामीले घरमै बसेर काम गर्न मिलेन । ग्राहक शाखामै आउनु हुन्छ ।

हामी सेवा दिन जानैपर्छ । सकेसम्म त हामीले ग्राहकरुलाई बैंकमा नआउनुस, घरबाटै डिजिटल च्यानलबाट कारोबार गर्नुस् भन्ने गरेका छौं । हामीले चैत ७ गते नै डिजिटल च्यानल फ्री गरिसकेका छौं । त्यो फ्री गर्दा हामीले आम्दानी गर्ने लाखौं रकम गुमाएका छौं, यो सेवाकै लागि हो ।

जुनसुकै एटीएम प्रयोग गरे पनि शुल्क नलाग्ने बनाएका छौं । ब्याजदरमा १० प्रतिशत छुट दिने भनिएको छ, यसले पनि बैंकको ठूलो घाटा लाग्छ । तर, के गर्नु हामीले यो बेलामा सुविधा दिनैपर्छ । अहिले हामी सबैको मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ भनेजस्तै भएको छ ।

अहिले त केही समयका लागि लकडाउन गरिएको हो । हामीले ५ महिना नाकाबन्दी पनि खेपिसकेका छौं । हामी नेपाली जब्बर छौं । नेपालमा अन्य देशको भन्दा विजनेश मार्जिन अलि बढी होला

नगद कारोबार लगायतका सुविधा त दिइरहनुभएको तर रेमिट्यान्सको सुविधा बैंकहरुले दिएनन् भनेर राष्ट्र बैंकसम्म नै उजुरी पुगिसकेको रहेछ नि होइन ?

हामी कसरी हुन्छ, सुविधा दिनुपर्छ भन्ने पक्षमै छौं । केही गुनासाहरु आए । ज-जसको बाहिरबाट रकम आएको छ, वहाँहरुको वैकल्पिक दिनमा गएर भए पनि खातामा रकम जम्मा गरिदिनु भनेका छौं ।

किनभने, बहाँबाट पैसा आउने यहाँ मान्छेले खान नपाउने भन्ने हुनु भएन । अत्यावश्यकीय कुरामा बैंकले रोक्दैन । कुनै पनि ठाउँमा समस्या पर्‍यो भने हामीले शाखा प्रवन्धकहरुको सम्पर्क नम्बर राखिदिएका छौं । सिधै सम्पर्क गर्न सकिनेछ । समस्या केही परेको अवस्थामा बैंकर्स संघमा वा राष्ट बैंकमै रिपोर्ट गरिदिए पनि हुन्छ । हामीले सुविधा दिइहाल्छौं ।

सबै क्षेत्रलाई अहिले धेरै ठूलो असर गरेको छ, भोलि नेपालको बैंकिङ क्षेत्र पनि कोरोनाकै कारण धराशासी हुने अवस्था त आउँदैन नि ?

अहिले त केही समयका लागि लकडाउन गरिएको हो । हामीले ५ महिना नाकाबन्दी पनि खेपिसकेका छौं । हामी नेपाली जब्बर छौं । नेपालमा अन्य देशको भन्दा विजनेश मार्जिन अलि बढी होला ।

फेरि हामी यो वर्ष पनि ८ महिना त नाफामा चलेका छौं नि त । यसकारण, यो एक/दुई महिनामा नै केही भइहाल्छ भनेर डराउनुपर्दैन । अपवाद बाहेक बैंकहरुले चैत मसान्तसम्म नाफा बढाएकै सूचना छाप्छन्, तपाई ढुक्क हुनुभए हुन्छ । घाटामा नै गइहाल्ने अवस्था छैन ।

भोलि सबै विजनेश नै गोलमाल भयो भने त के भन्न सक्छौं र । यो एक महिनाका कारण आत्तिनुपर्ने अवस्था छैन । सर्वसाधारणले बुझ्नु पर्ने मुख्य कुरा बैंकमा राखेको निक्षेप सुरक्षित छ । यहाँ कुनै समस्या छैन । भोलि बैंकको नाफा घट्ला तर निक्षेपकर्ताको निक्षेपमा कुनै असर पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment