
२५ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि घुम्ति प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
कर्णालीमा भारतलगायत विदेशबाट आएका नागरिकको संख्या धेरै रहेकोले उनीहरुमा संक्रमण हुन सक्ने र अरुमा सर्ने भएकोले घुम्ति प्रयोगशाला व्यवस्थापन गरी द्रुत गतिमा परीक्षण गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घुम्ति प्रयोगशाला परीक्षण सेवाको लागि तत्काल व्यवस्थापन गर्न केन्द्र सरकारलाई अनुरोध गरेको प्रवक्ता सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।
प्रदेश सरकारले स्थानीय तहहरुलाई कोरोना रोकथामका लागि रकमसमेत उपलब्ध गराएको छ ।
प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य नगरपालिकालाई २० लाख र गाउँपालिकालाई १५ लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो । यो रकम स्थानीय तहले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मा हुनेछ ।
कोरोनाका साथै गर्मी मौसम सुरु भएसँगै अन्य मौसमी महामारी हुनसक्ने अवस्थालाई ध्यानमा राखी औषधि र विशेषज्ञसहितको टोली पठाइदिन केन्द्र सरकारसँग आग्रह गरेको छ ।
प्रतिक्रिया 4