Comments Add Comment

होम क्वारेन्टाइनमा प्रियंकाः नयाँ घर सजाउँदै, स्क्रिप्ट लेख्दै

२६ चैत, काठमाडौ‌ं । हालै विवाह गरेकी नायिका प्रियंका कार्कीले हनिमुन मनाउन नभ्याउँदै देशमा लकडाउन सुरु भयो । त्यसयता उनी घरभित्रै श्रीमानसँग दिन बिताइरहेकी छिन् ।

प्रियंकाले अभिनेता आयुष्मान देशराज जोशीसँग फागुन १५ गते विवाहबन्धनमा बाँधिएकी थिइन्। अहिले यो जोडी भैँसेपाटीमा रहेको नयाँ घरमा बस्दै आएको छ । अहिले उनीहरु त्यहीँ ‘लकडाउन’ मनाइरहेका छन् ।

लकडाउनले गर्दा नयाँ घरको सजावटको लागि प्रशस्तै समय पाएको प्रियंकाले बताइन् । उनले भनिन्, ‘नयाँ घरको सेटअप गर्न पाइएको थिएन । यो लकडाउनले त्यसका लागि समय दियो ।’

क्वारेन्टाइनमा बस्दा चलचित्रको स्कृप्टसमेत लेखिरहेको प्रियंका बताउँछिन्। उनी ‘जस्ट अनादर लभ स्टोरी’ को दोस्रो सिजनको लागि स्क्रिप्ट लेखिरहेकी छिन् । प्रियंका भन्छिन्, ‘धेरैले यसको दोस्रो सिरिजको अपेक्षा गर्नुभएको छ । यसलाई तयार गर्दैछु ।’

यस बाहेक प्रियंकाले विदेशी समूहसँग मिलेर गर्ने दुई वटा प्रोजेक्टको पनि स्क्रिप्ट तयार गरिरहेकी छिन् । उनले ती दुई प्रोजेक्टमा काम गर्न साइन गरिसकेको बताए पनि नाम खोल्न चाहिनन् ।

स्क्रिप्ट लेख्दा अल्छी लाग्यो भने प्रियंका सिरिजहरु हेर्ने गर्छिन् । ‘चलचित्र खासै हेर्दिनँ । सिरिजहरु हेर्दा रमाइलो लाग्छ,’ प्रियंकाले सुनाइन् ।

पुस्तकमा रुचि भए पनि पढ्न चाहिँ नभ्याएको उनले बताइन् । उनको नयाँ घरमा पुस्तक पनि छैन ।

प्रियंकालाई खानामा उत्ति सोख छैन । आयुष्मान पनि उस्तै । त्यसैले उनले खाना बनाउनमा कुनै अभ्यासहरु गरेका छैनन् ।

प्रियंका भन्छिन्, ‘हामी दिनमा एकपटक मात्र खाना खान्छौँ । अरु केही मिलाएर खाने गरेका छौँ ।’

क्वारेन्टाइनमा बस्दा प्रियंकालाई मोटाउने डर छँदैछ । ‘मलाई लाग्छ यो समय जो कोही पनि मोटाउँछ होला’, प्रियंका भन्छिन्, ‘तर, घरमा पनि हामीले विभिन्न व्यायामहरु गरिरहेका छौँ । जिम जान नपाएकोले पनि सामान्य अभ्यास गरिरहेका छौँ ।’

प्रियंका र आयुष्मानले हनिमुनको योजना बनाउन भ्याएकै थिएनन् । विदेशी प्रोजेक्ट गर्नुपर्ने भएकाले प्रियंकासँग समय थिएन । अब लकडाउन सकिएपछि मात्रै उनीहरुले हनिमुनको विषयमा सोच्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment