
६ वैशाख, ललितपुर । ६ महिनाको बच्चा समेत बोकेर ४७ जनाको समूह शनिबार बिहानै ललितपुरको डाँडाटोल पुग्यो । कलंकी, हरिसिद्धी लगायतका क्षेत्रमा ज्याला मजदुरी गर्ने उनीहरू बस्दै आएको छाप्रोसमेत भत्काएर घर हिँडेका थिए ।
गन्तव्य थियो, सिन्धुलीको गोलन्जर गाउँपालिका-४ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ कट्न लाग्दा स्थानीयले जनप्रतिनिधिलाई खबर गरे । वडाध्यक्ष विश्वराज श्रेष्ठ भन्छन्, ‘उहाँहरूलाई रोकेर चाउचाउ र पानीको व्यवस्था गर्यौँ । तर, हामी त टहरा पनि भत्काएर हिँडेका हौँ । फर्किँदा पनि फकिन्नौँ, यहाँ पनि बस्दैनौँ भन्नुभयो ।’
अघि भने, ‘एकातिर सुरक्षित रुपमा गाउँ पुर्याउनु भन्ने अदालतको आदेश छ । अर्कातिर जहाँ छन्, त्यहीँ राख्नु भन्ने प्रधानमन्त्रीको निर्देशन छ । हामी पो अप्ठ्यारोमा पर्यौँ ।’
उनका अनुसार वडाले क्वारेन्टाइन स्थल पनि बनाएको छैन । त्यसमाथि स-साना बालबालिका धेरै थिए । केहीबेर रोक्दा पनि हिँडेर थकित भएर ५/६ वर्षका बालबालिका चिसो भुइँमा पत्रिका तथा कार्टुन ओछ्याएर सुत्न थाले । ‘हेर्न नसक्ने अवस्था आएपछि हामीले रोक्न सकेनौँ’ वडाध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने ।
गोलञ्जर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीसँग कुराकानी गरेर जान दिएको उनले सुनाए ।
श्रेष्ठका अनुसार वीपी राजमार्गबाट हिँड्नेहरूलाई प्रहरीले रोक्न थालेपछि मानिसहरू पुरानो गोरेटो बाटो हिँडेर गाउँ जान थालेका छन् । यो बाटोबाट लाकुरी भञ्ज्याङ हुँदै जाने गरेका छन् ।
प्रतिक्रिया 4