Comments Add Comment

पुतलीसडकमा अब नयाँ ढल, निर्माण सामग्री अभावले पिचको काम प्रभावित

९ वैशाख, काठमाडौं । काठमाडौंको पुतलीसडक हरेक वर्षायाममा सँधै ढलमग्न हुन्छ । काठमाडौंका अन्य सडक चुस्त अवस्था भएका बेला पनि पुतलीसडकमा सधैँ खाल्डाखुल्डी भइरहन्छ । ढल फुट्ने समस्याले अत्यधिक सताएपछि सडक विभागले लकडाउनकै समय पारेर पुतलीसडकको स्तरीकरण थालेको छ ।

सरकारले तोकेको सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर कामदारकाबीच भौतिक दुरी कायम गरेर काम भइरहेको सडक विभागले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर विभागले पुतलीसडकमा नयाँ ढल बिछ्याउने गरी काम थालेको हो । लकडाउनकै समयमा ढल बिछ्याइसक्ने गरी काम सुरु भएको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले जानकारी दिए ।

‘पुतलीसडकमा वर्षायाममा पानी पर्नासाथ भेल उर्लिन्छ, त्यो समस्या हटाउने गरी ढल बिछ्याउन थालेका छौँ, त्यसपछि वर्षमा यो सडकमा वर्षौँदेखि रहेको समस्या हल हुन्छ,’ उनले भने,’आवागमन प्रभावित हुनेगरी गर्नुपर्ने काम यही लकडाउनभरि गरिसक्ने लक्ष्य छ ।’

उनका अनुसार कमलपोखरीको कुमारी मन्दिरदेखि शंकरदेव(टुकुचा)सम्म नयाँ ढल प्रणाली जोड्न लागिएको हो । केयूकेएलले नै गरेको डिजाइनका आधारमा सडकले ढल बिछ्याउन लागेको हो ।

यो कामका लागि पीआर इन्फ्रास्ट्रक्चरले ८ करोडको ठेक्का पाएको छ । ‘यो काम अलिक अघि नै सुरु हुनुपर्थ्यो, तर सुरुमा स्थानीयले अवरोध गरे,’ नेपालीले भने,’अहिले काठमाडौं महानगरपालिकाको समन्वयमा विवाद समाधान गरेर काम थालेका छौँ ।’

यो काम सकिएपछि वर्षमा पुतलीसडक डुवानमा पर्ने समस्या हल हुने दाबी विभागको छ । अहिले जतिपटक मर्मत गर्दा पनि चुस्त बन्न नसकेको सडकको अवस्थामा पनि सुधार आउने र स्थानीय, व्यवसायी र आवातजावत गर्ने सर्वसाधारणले पनि यसबाट लाभ पाउने प्रमुख नेपाली बताउँछन् ।


‘लकडाउनकै मौकामा संवेदनशील काम गरिसकौँ भनेर निकै दुःखका साथ जनशक्ति खोजेर ल्याएका छौँ,’ उनले भने,’तर निर्माण सामग्रीको अभावको समस्या परिरहेको छ । समस्या समाधानका लागि पहल भइरहेको छ ।’

निर्माण सामग्रीको अभाव

सडक विभागले अहिले काठमाडौंका विभिन्न सडकखण्डमा आवधिक मर्मतको योजना अनुसार ओभर-लेको काम पनि गरिरहेको छ । थापाथली, त्रिपुरेश्वर लगायतका क्षेत्रमा सडक विभागले ओभर-लेको काम गरिररहेको छ ।

पिचको काम लडाउनको अवधिमा गर्दा विभागलाई आवागमन रोक्नुपर्ने अवस्था छैन । त्यसैले विभागले सम्भव भएसम्म अधिकतम काम लकडाउनको समयमा पनि गरिरहेको छ ।

‘अब मौज्दातमा रहेको गिटीहरू सकियो, थप आपूर्तिको प्रयास भइरहेको छ,’ नेपालीले भने,’काभ्रेमा आपूर्तिका लागि गएका ट्रिपर स्थानीय तहले रोकेका छन्। हामी समन्वय गरेर काम अघि बढाउन खोजिरहेका छौँ ।’

विभागले चावहिल-गौशाला सडकखण्ड पनि लकडाउनकै अवधिमा पिच गरिसक्ने लक्ष्य लिएको थियो । तर, निर्माण सामग्रीको आपूर्तिमा समस्या परेपछि अन्योल भएको छ ।
तस्वीरहरू : आर्यन धिमाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment