Comments Add Comment

संसद भवनमा बजेट अधिवेशनको चटारो

१७ वैशाख, काठमाडौं । बजेट अधिवेशन सुरु गर्ने तयारी भएसँगै बैठक कक्षको व्यवस्थापनको चटारो सुरु भएको छ । बैठक कक्षका कुर्सी टेबुल मिलाउने, रंग रोगन गर्ने लगायतका काम अहिले चलिरहेको छ ।

जेठ १५ गते वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ । बजेट भाषण सुरु हुनु अगाडि राष्ट्रपतिले संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ । संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकेरपछि मात्र बजेट प्रस्तुत हुन्छ । सबै प्रक्रिया पूरा गर्दा लाग्ने समय अवधिलाई ख्याल गरेर जतिसक्दो छिटो संसद अधिवेशन आह्वान गर्नुपर्ने दबाब सरकारलाई छ ।

यता संसद सचिवालयलाई भने कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सामाजिक दुरी कायम गर्दै सांसदहरुको आसन मिलाउनु पर्ने चुनौती छ । त्यही काम अहिले संघीय संसद भवनभित्र जारी छ ।

संसद सचिवालयको तयारीबारे बुझ्न बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेर बैठक कक्ष अवलोकन गरेका छन् । उनलाई बैठकको तयारीबारे संसद सचिवालयका कर्मचारीहरुले जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँगै सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलगायतले पनि संसदको बैठक कक्ष अवलोकन गरेका छन् । संसद भवन अवलोकन गर्नुअघि बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच बजेट अधिवेशनबारे छलफल भएको थियो ।

संसद सचिवालयका अनुसार सामाजिक दूरी कायम हुनेगरी संसदको बैठक कक्ष तयार भइसकेको छ । भर्चुअल बैठकका लागि समेत तयारी गरिएको छ । संसद सचिवालयले भर्चुअल बैठकको प्राविधिक तयारीबारे सुझाव दिन ७ सदस्यीय समिति गठन गरेको थियो ।

सचिवालयका अनुसन्धान सचिव ध्रुव घिमिरे नेतृत्वको समितिले माइक्रोसफ्ट टिम्स नामक सफ्टवेयरको माध्यमबाट भर्चुअल बैठक गर्न सकिने सुझाव दिएको छ । यो प्रविधिलाई आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्न सक्ने समितिको निष्कर्ष छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment